चरेश भारततिर, ब्राउनसुगर नेपालतिर

नेपालगञ्‍ज-बाँकेको कोहलपुरमा ३० किलो ५ सय ५० ग्राम चरेशसहित तीन जना पक्राउ परेका छन्।सल्यानका कालीमान बुढा, सुर्खेतका बुद्धबहादुर रिजाल र पश्चिम रुकुमका बलबहादुर बुढालाई ५ नम्बर प्रदेश अनुसन्धान ब्यूरोको टोलीले कोहलपुर–९, भवानीपुरस्थित सुर्खेतरोडबाट पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जनालाई बुधबार इलाका प्रहरी कार्यालय, कोहलपुरले सार्वजनिक गरेको छ। बरामद चरेश सल्यानबाट ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएसपी रमेशबहादुर सिंहले सल्यानबाट भारतमा बिक्री गर्न लैजाने क्रममा कोहलपुरमा पक्राउ गरेको बताए।

पक्राउ परेकाहरुले चरेश आफ्नो नभएको दावी गरेका छन्। डिएसपी सिंहले पक्राउ परेका व्यक्तिहरु भरियामात्रै नभएर मालिक नै भएको दावी गरे । सल्यानबाट कोहलपुरसम्म सुरक्षित आइपुगेका उनीहरु नेपालगञ्ज आउने क्रममा बाटोमा पक्राउ परेका थिए।

५ र कर्णाली प्रदेशको पहाडी जिल्लामा उत्पादन हुने चरेशको कारोबार नेपालगञ्ज र सीमावर्ती भारतीय बजार हुने गर्दछ। भारतमा एक किलो चरेशलाई ५६ हजारसम्म पर्ने कारोबारीहरु बताउँछन्। उत्पादन हुने पहाडी जिल्लाबाट भने कारोबारीले सस्तोमा किनेर ल्याउँछन्।

यस क्षेत्रको रुकुम, रोल्पा, जाजरकोट, दैलेख, सल्यानमा चरेश उत्पादन हुन्छ। कतिपय ठाउँमा भारतीय कारोबारीले नै लगानी गरेर चरेश उत्पादन गरेको पाइएको छ। त्यहाँ उत्पादन भएको चरेशको बजार भनेको नेपालगञ्ज हुँदै भारत नै हो।

नेपालमा सस्तोमा पाइने चरेश भारतमा पुर्‍याउदा ठूलो रकम हात लाग्छ।मोटो रकमले गर्दा कारोबारीको जोड चरेशलाई भारत पुर्‍याउनु नै हुन्छ। कारोबारीले चरेशलाई नाका पार गराउन अनेकथरीका मानिस प्रयोग गर्छन्।भारतको बहराइच जेलमा रहेका दश जना महिलासहित ५१ जना नेपाली अधिकांश चरेशकै भरिया हुन्।

नेपालबाट चरेश भारततिर गइरहदा उताबाट ब्राउनसुगर भित्रिने गर्दछ।नेपालगञ्‍ज नाका चरेश र ब्राउनसुगरको लागि चर्चित रहेको छ। नेपालगञ्जलाई कारोबारीहरुले ट्रान्जिट प्वाइन्ट बनाउने गरेका छन्।

नेपालगञ्ज कारागारमा सबैभन्दा धेरै बन्दी लागु पदार्थका छन्।त्यसमा ५६ जनाबढी भारतीय छन्। भारतीयहरु अधिकांश ब्राउनसुगरका कारोबारी हुन्।
नेपालगञ्ज लागु पदार्थको ट्रान्जिट प्वाइन्ट बनेकाले प्रहरी प्रशासनले विशेष सतर्कता अपनाइ नै रहेको छ।

नाकामा ब्यूरोको टोली सधै खटिएको छ।त्यो बाहेक नियमित जाँच छदैछ।त्यसका बाबजुद नेपालगञ्जमा ब्राउनसुगर भित्रिरहेका छन्। पहाडी जिल्लाबाट पनि दर्जनौ चेकजाँच पार गरेर नेपालगञ्जसम्म चरेश आइपुगेकै छन्।

पुस २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्