पृथ्वीनारायण शाहका अग्रणी विचार र त्यसको सान्दर्भिकता

पृथ्वीनारायण शाहले यो देशमा पुर्‍याएको जुन योगदान छ, त्यसकारण आज हामी स्वतन्त्र र स्वाभिमानी नागरिक बन्न पाएका छौँ। पृथ्वीनारायण शाह जस्तो नायक यो देशमा नभइदिएको भए आज नेपाल भन्ने भुगोल नै हुने थिएन। त्यतिबेला २२ से २४ से राज्यहरु थिए। उपत्यकाभित्र मात्रै तीनवटा राज्यहरु थिए।

पृथ्वीनारण शाहले गोर्खाबाट नेपाल एकीकरणको महान अभियान थालनी नगरेको भए। अनि, काठमाडौँमा आक्रमण गर्न आइरहेको क्रिसियन फौजलाई उनले बिचमै नरोकेको भए। उनले त्यो फौजलाई पराजित नगरेको भए आज हामी नेपाली नभएर कोही बंगाली, कोही बिहारी, कोही उत्तर प्रदेशी र कोही उत्तरखण्डी हुने थियौँ होला !

भरत बस्नेत।

हामी स्वतन्त्र र स्वाभिमानी नेपाली हुने थिएनौं । यो जुन भूमिका निर्वाह गरे पृथ्वीनारायण शाहले यो भन्दा ठूलो भूमिका के हुन्छ तत्कालीन अवस्थामा एउटा राजाको ?तर लामो समय भयो पृथ्वीनारायण शाहले पुर्‍याएको योगदानको चर्चा परिचर्चा हुन छाड्यो। उनको जुन विचार छ, आज पनि उस्त्तिकै सान्दर्भिक छ। आर्थिक, राजनीतिक, सामाजिक विचार अथवा मुलुकहरुको सम्बन्धमा पृथ्वीनारायणको विचार अग्रणी देखिन्छ।

आज हामी माओवाद, माक्सवाद वा गान्धीवाद पढ्छौँ। यस्तै अमेरिकाका अब्राहम लिंकनहरुका विचार पढ्छौँ त्यो भन्दा धेरै राम्रो विचार छ उनको। यो विचार व्यवहारमा ल्याउनु पर्ने हो तर कुनै समयमा पनि हामीबाट त्यो भएन। उनका कालजयी विचारहरुलाई युवा पुस्तामाझ ल्याउन जरुरी छ। युवा पुस्तामा त्यो विचार ल्याएर व्यवहारमा उतार्न सकियो भने मात्रै देशले स्थायीत्व पाउँछ। त्यसो भएकोले युवा पुस्तामा त्यो बिचार पुर्‍याउन अति जरुरी छ।

भारतमा अंग्रेजहरुले शासन गरे, अंग्रेजहरु धपाइए त्यहाँबाट। तर अंग्रेजहरुले त्यहाँ जुन व्यवस्था बनाए, त्यही व्यवस्थालाई आधार मानेर भारतले विकास गर्दै गयो। त्यहाँ अग्रेजहरुलाई अहिले पनि मान्छन्।हामीले पनि राजसंस्थाले पुर्याएको सकरात्मक पहल र भुमिकालाई लिएर अगाडि बढ्नु पर्ने हो। पृथ्वीनारायण शाह भनेको त राष्ट्र निर्माता हुन् नि । उनका बिचार त झनै नेपालमा मात्रै होइन अरुले पनि सिक्नु पर्ने खालका छन्।

नेपालमा दुई जनालाई कहिल्यै भुल्न हुँदैन। एउटा गौतम बुद्ध र अर्को पृथ्वीनारायण शाह । गौतम बुद्ध जसलाई हामी शान्तीको दूत भन्छौँ । पृथ्वीनारायण शाह भनेकोचाहिँ त्यतिबेला छरिएका विभिन्न राज्यहलाई एउटै राज्य बनाएर राज्य व्यवस्था कसरी गनुपर्छ भन्ने छाप छोडेर गएका हुन्। उनको विचारलाई मान्ने हो भने देश स्थायित्वको बाटोमा जान्छ, सबैले समान हक अधिकार पाउने छन्।

२०५२ सालमा नेकपा माओवादी भन्ने एउटा जथा संसदबाट बाहिरियो । सुरुमा उसको संसदमाथीको प्रहार थियो। उसले त्यतिबेला भनेको थियो, ‘यो संसद खसीको टाउको राखेर कुकुरको मासु बेच्ने पसल हो।’

बाहिरिएपछि उसले राजसंस्था खासगरी पृथ्वीनारायण शाहलाई हमला गर्न थाल्यो। पृथ्वीनारायण शाहलाई हमलाकारी हुन् भन्न थाल्यो। उसले राष्ट्रिय एकताप्रति आँच आउने काम गर्न थालेपछि हामीले २०५७ सालदेखि हामी पृथ्वीनारायण शाहको प्रचार गर्न थाल्यौँ।

उनका ठूला तस्बिर र लकेटहरु बनाएर वितरण गर्न थाल्यौँ। पृथ्वीनारायण शाहले अन्तिम समयमा दिएका कालजयी बिचारहरु छापेर बाँड्न थाल्यौं। किनकी, मानिसहरुले बुझुन् पृथ्वीनारायण शाह भनेको को रहेछ भनेर। उनका फोटो भएका लकेटहरु छपाएर बाँड्न थाल्यौँ।

पृथ्वीनारायण शाहलाई गाली गर्नु भनेको अराष्ट्रिय कुरा गर्नु हो भन्ने हिसावले हामीले कुरा अगाडि बढायौँ। तर पछिल्लो समय २०६२/०६३ पछि जुन जनआन्दोलन भयो, त्यतिबेला पृथ्वीनारायण शाहमाथि हमला गरियो। नुवाकोट र गोरखामा भएको शालिक पनि भत्काइयो। पृथ्वीनारायण शाहलाई नमान्नु भनेको उनले एकीकरण गरेको भूगोललाई नमान्नु हो।

तत्कालिन माओवादीले नेपाललाई जातीय राज्यका रुपमा टुक्र्याउने मनोसायले झण्डा फेर्नुपर्छ भनेको थियो। यो कुरा राष्ट्रद्रोही गतिविधि थियो। पछि त्यो काम भएन, तर त्यो हदसम्म गर्न कोसिस गरेकै हुन्।

२०६२/०६३ पछि पृथ्वीनारायण शाहलाई दिँदै आएको सम्मानमा कटौती गरियो। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश खारेज गरियो। त्यतिबेला काठमाडौँ आक्रमण गर्न आएको क्रिस्चियन फौजलाई पृथ्वीनारायण शाहले पराजित नगरेको भए, आज नेपाल रहन्नथ्यो। काठमाडौँ राज्य हातमा लिइसकेपछि पृथ्वीनारायण शाहले यहाँ भएका फिरन्तेहरुलाई देश निकाला गरिदिएका थिए। अहिले उनीहरुले नै बदलामा दलहरुलाई प्रयोग गरेर पृथ्वीनारायण शाहलाई अपमान गर्ने काम गरिरहेका छन्।

हाम्रो नेताहरु क्रिस्चियनको प्रभावमा परेर यो सब काम गरिरहेका छन्। विश्वमा कुनै न कुनै नेताले अग्रसर भएरै देश निर्माण गर्छन्, समाज परिवर्तन गर्छन्। उनीहरुलाई कुनै न कुनै रुपमा सम्झनु पर्दछ। त्यो भनेको राष्ट्र प्रतिको सम्मान हो। राष्ट्रलाई राष्ट्रियतालाई कमजोर बन्न नदिनु हो। हामीले हाम्रा पुर्खालाई बिर्सनु हुँदैन। हामीले पुर्खालाई बिर्सियौँ भने हाम्रा सन्तानले हामीलाई पनि बिर्सने छन्।

नेपाल मात्र यस्तो देश हो जहाँ आफ्ना पुर्खालाई बिर्सिनु मात्रै होइन अपमान गरिँदैछ। भारतले स्वतन्त्र भएको दिनलाई स्वतन्त्र दिवश बनाउँछ। बंगलादेश र पाकिस्तानले पनि स्वतन्त्र भएको दिनलाई स्वतन्त्र दिवश मनाउँछन्। बंगलादेश पनि त कसैले बनाइदिएको होइन। पाकिस्तान र भारत पनि कुनै नेताले बनाइदिएको होइन। स्वतन्त्रता दिवश मनाउनुको अर्थ उनीहरु अरु राष्ट्रको उपनेशबाट सञ्चालित थिए। स्वतन्त्र थिएनन् र जब स्वतन्त्र भए, स्वतन्त्र छौँ भन्ने सन्देश दिन खोजेको हुन्।

हामीचाहिँ पहिले पनि स्वतन्त्र थियौँ। आज हामीले त बढि स्वतन्त्रता दिलाउने युग पुरुष पृथ्वीनारायण शाहलाई बढि मान्नु पर्ने हो। बिदा दिनु पर्ने भनेको उनलाई सम्मान गर्दै राष्ट्रिय एकता, अखण्डतालाई जोगाई राख्न र त्यसका लागि खबरदारी गर्न त्यो दिन सम्पुर्ण नेपालीलाई पृथ्वीनारायण शाहको बारेमा बुझाउने कार्यक्रम गर्न बिदा दिनु पर्ने हो।

क्रिसमस डे भनेर बिदा दिइएको छ। अरु पनि धेरै खालका बिदा दिइएको छ। क्रिसमस डे दिन मिल्ने राष्ट्रिय एकता दिवशमाचाहिँ बिदा दिन किन नमिल्ने? नेपाल आक्रमण गर्न आएको टोलीलाई समेत धपाएर चोखो परम्परा बसाल्ने राजाको नाममाचाहिँ बिदा कटौती गर्ने। क्रिस्चियनको लगानीमा दलहरुले पृथ्वीनारायण शाहलाई पराजित गराएर क्रिस्चियनलानई जिताए योभन्दा दूर्भाग्य के हुन्छ?

अहिलेको राज्य सत्ता क्रिस्चियनबाट प्रभावित छ। उनीहरुको लगानी ठूलो छ। हामीले केहीसाता पहिले पनि एसिया प्यासिफिक समिटमा देख्यौँ, उनीहरुको भूमिका के रहेछ भन्ने। त्यसबाट के देखिन्छ भने क्रिस्चियनहरुको ठूलो लगानीमा नेपालमा राजनीतिक सांस्कृतिक, सामाजिक सबै खालको परिवर्तन भएको हुनाले उनीहरुले त्यो परिवर्तन दलहरु मार्फत गराएको हुनाले दलहरु क्रिस्चियनहरुसामु नतमस्तक छन्।

यो सरकारले पृथ्वीनारायण शाहलाई जुन किसिमले अपमान गरेको छ, यो भनेको दूर्भाग्यपुर्ण कुरा हो। यसले कालान्तरमा दलहरुलाई पनि अपमान नै गर्न सिकाउने छ। हामीले मान्यौँ भने मात्रै हामीलाई पनि मान्छन् भन्ने कुरा कहिले पनि बिर्सिनु हुन्न।

वर्तमान सरकारले भ्रष्टचारमा सून्य सहनशिलताको नीति अपनाउने भनेको छ। पृथ्वीनारायण शाहले त्यतिबेलै यो कुरा गरेको हुन्। उनले भनेका थिए, ‘घुस दिन्या र लिन्या दुवै देशका पनि सत्रु हुन, यिनी दुईको धन र जीब लिए पनि पाप छैन’ भनेर। त्यही बेला पनि घुस लिने र दिनेलाई कठोर रुपमा दण्ड सजायको व्यवस्था गरिएको थियो। पृथ्वीनारायण शाहलाई भुलेर यो राष्ट्र र नेपाली जनताको सरकार हुन सक्दैन।

(देश सञ्चारका उजिर कार्कीले भरत बस्नेतसँग गरेको कुराकानीमा आधारित ।)

पुस २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्