म्यानचेस्टर सिटीले ठोक्यो एक खेलमै ९ गोल, कसैले रोक्नै सकेनन्

कसैले रोक्नै नसक्ने प्रदर्शन गरेको म्यानचेस्टर सिटीले लिग कप अर्थात काराबाओ कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बुर्टनमाथि ९ गोल गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले लिग वान क्लब बुर्टनमाथि ९–० को शानदार जित दर्ता गरेको हो । पहिलो हाफमा चार गोल गरेको सिटीले दोस्रो हाफमा थप पाँच गोल गरेको हो ।

सिटीको जिटमा पहिलो हाफमा केविन डी ब्राउन, गाब्रिएल जिसस, ओलेक्सान्ड्र जिनचेन्कोले गोल गरे । डी ब्राउनले पाँचौँ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए ।

समग्रमा चार गोल गरेका जिससले पहिलो हाफको ३० र ३४ औँ मिनेटमा गरी दुई गोल गरेका हुन् । यस्तै ३७ औँ मिनेटमा जिनचेन्कोले गोल गरेपछि पहिलो हाफमा सिटीले ४–० को अग्रता लियो ।

दोस्रो हाफमा जिससले थप दुई गोल गरे । यस्तै फिल फोडिन, कायल वाकर र रियाद महरेजले गोल गरे । ५७ औँ मिनेटमा जिससले गोल गर्दै ह्याट्रिक पूरा गरे । फोडिनले ६२ औँ मिनेटमा गोल गरेपछि सिटीको अग्रता ६–० मा पुग्यो, अर्थात सिटीले ६२ औँ मिनेटमा बुर्टनमाथि आधा दर्जन गोल गरिसकेको थियो ।

पेपको टिम यत्तिमा रोकिएन । ६५ औँ मिनेटमा जिससले व्यक्तिगत चौथो गोल गरे । यस्तै वाकरले ७० औँ तथा महरेजले ८३ औँ मिनेटमा गोल गरेपछि उत्कृष्ट सिटीले ९–० को जित निकालेको हो ।

सिटीले लिग कप फुटबलमा ३३ वर्ष यताकै फराकिलो जित निकालेको छ । सन् १९८६ मा लिगकपमा लिभरपुलले फुलह्यामलाई १०–० ले हराएको थियो । त्यसयता कुनै पनि क्लबले फराकिलो जित निकालेको यो पहिलोपटक हो ।

सिटीले एउटै खेलमा ८ भन्दा धेरै गोल गरेको पछिल्लो ३१ वर्षमा पहिलोपटक हो । सिटीले सन् सन् १९८७ को नोभेम्बरमा दोस्रो डिभिजनको लिगमा हडर्ल्सफिल्ड टाउनलाई १०–१ ले हराएको थियो ।

सिटीले अब दोस्रो लेगमा जनवरी २३ मा बुर्टनको मैदानमा खेल्ने छ । सिटीले पछिल्लो चार दिनमा १६ गोल गरेको छ । उसले गएको आइतबार राति एफए कप फुटबलको तेस्रो चरणको खेलमा रोदरह्याम युनाइटेडलाई ७–० ले हराएको थियो ।

पुस २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्