सीमा पर्खालले विभाजित अमेरिका

ट्रम्पले वार्ता बिचमै छोडे : पेलोसीले ‘नो’ भनिन्, ट्रम्प निस्किए

सरकारी बजेटमा मेक्सिकोसँगको सीमामा बनाउने भनिएको सीमा पर्खालका लागि निश्चित रकमको व्यवस्था हुनु पर्ने अडान लिँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धी वार्ता बिचमै छोडेका छन् ।

ट्रम्पले आफ्नो चुनावी अभियानदेखिको प्रतिबद्धतामा रहेको सीमा पर्खाल निर्माणका लागि संघीय सरकारका कार्यालयहरु सञ्चालनका लागि तय गरिएको बजेटबाट रकमको व्यवस्था गर्नु पर्ने अडान लिँदै आएका छन् ।

यो कुरा डेमोक्र्याटिक पार्टीले अस्वीकार गर्दै आएको छ । यसले गर्दा संघीय सरकारको कार्यसञ्चालनका लागि आवश्यक पर्ने बजेट सम्बन्धी विधेयक पारित हुन नसक्दा १९ दिनदेखि संघीय सरकारका आंशिक कार्यालयहरुको काम ठप्प भएको छ ।

बन्द कार्यालयको काम सुचारु गराउनका लागि बजेटमा सहमति आवश्यक छ र यसका लागि भएको वार्ताबाट राष्ट्रपति ट्रम्प बिचमै उठेका हुन् ।

डेमोक्र्याटिक लिडर तथा हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसी र सिनेटमा माइनोरिटी लिडर रहेका डेमोक्र्याटिक पार्टीका नेता चक शुमर बजेटमा सीमा पर्खालका लागि रकमको व्यवस्था नगर्ने अडानमा कायम रहेपछि ट्रम्पले वार्ता बिचमै छोडेका हुन् ।

ट्रम्प संघीय सरकारको कार्यसञ्चालन सम्बन्धी बजेटमा ५.७ बिलियन अमेरिकी डलर मेक्सिकोसँगको सीमा क्षेत्रमा बनाउने भनिएको सीमा पर्खालका लागि छुट्याउने अडानमा छन् ।

ट्रम्पले डेमोक्र्याटिक नेतासँगको वार्ता समयको बर्बादी मात्रै रहेको उल्लेख गरेका छन् । संघीय कार्यालयहरुको काम ठप्प हुँदा यो हप्ता ८ लाख जति संघीय कार्यालयका कर्मचारीले तलब पाएनन्।

डेमोक्र्याटिक पार्टीका शीर्ष नेतासँगको वार्ताबाट उठेपछि राष्ट्रपति ट्रम्पले ट्वीट गरेका छन् । न्यान्सी पेलोसीले सीमा क्षेत्रमा पर्खाल वा स्टिलको बार लगाउनका लागि आवश्यक बजेटको व्यवस्था गर्न अस्वीकार गरेपछि आफू बैठकबाट उठेको ट्रम्पले उल्लेख गरेका छन् ।

रिपब्लिकन र डेमोक्र्याटिक पार्टी दुवैले लम्बिँदै गएको सरकारी कामकाज ठप्पका लागि एकअर्कालाई दोष लगाइरहेका छन् ।

संघीय सरकारका कर्मचारीलाई तलब खुवाउन नसक्नु ट्रम्पका लागि समग्र नोक्सानी रहेको शीर्ष डेमोक्र्याट पेलोसीले बताएकी छन् ।

पेलोसीले सीमा पर्खालका लागि बजेट स्वीकृत नगर्ने बताएपछि ट्रम्पले आकश्मिक रुपमा वार्ता छोडेको शुमरले बताएका छन् ।

पुस २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्