डा. केसीको सत्याग्रहमा जन समर्थन बढ्दै

सर्वसाधारण भन्छन्, ‘केसीको बोली भन्दा मुद्दा ठूलो कुरा हो’

१६ औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसी । तस्बिर : उमाकान्त खनाल/देश सञ्चार

इलाम- बुधबारदेखि इलाम नगरपालिका वार्ड नं ७ फूलगाछीमा १६ औं सत्याग्रह थालेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको मागमा इलाममा व्यापक जन समर्थन बढेको छ।

बिहीबार बिहानमात्र धेरै मानिस अनशन स्थल पुगेर समर्थन पुस्तिकामा हस्ताक्षर गरेका छन्। बिहान डा. केसीको सत्याग्रहस्थल पुगेका इलाम नगरपालिका ९ का बासिन्दा हरि फुयाँलले डा. केसीको बोलीको शैली भन्दा पनि उनले उठाएका मुद्दा ठूलो भएको बताए।

उनले भने, ‘हामी इलामबासीबाट उहाँको मागमा पूर्ण समर्थन छ। यो मुद्दा राजनीतिक होइन, आम नागरिकको मुद्दा हो।’

डा. केसीका समर्थकहरुले मेडिकल शिक्षा सरकारको नियन्त्रण हुनुपर्ने बताएका छन्। गरिब जनताका छोरा छोरीले मेडिकल शिक्षा पढ्न पाउने अधिकारको रक्षाका लागि डा. केसीको सत्याग्रह भएको उनीहरुले अर्थ्याएका छन्। सरकारी अस्पतालहरुको स्तरोन्नति डा. केसीका मागहरुमध्येमा पर्छ।

इलाम नगरपालिका वार्ड नं ९ बसपार्कका विष्णु भट्टराईले आम नेपाली नागरिकको मुद्दा बोकेर डा. केसी इलाम आएको बताए। उनले भने, ‘म व्यक्तिगत रुपमा उहाँलाई चिन्दिन, तर उहाँले बोकेका मुद्दा सबैको मुद्दा हो। मलगायत इलामबासीको पूर्ण समर्थन रहन्छ।’

गरिब जनता बिरामी पर्दा ठूल्ठूला निजी अस्पतालहरुमा गएर महंगो उपचार गराउनु परिरहेको बाध्यता उनले सुनाए। सरकारी अस्पतालहरु जीर्ण अवस्थाबाट माथि उठाउनका लागि डा. केसी सत्याग्रहमा उत्रनु परेको धेरैको बुझाइ छ।

इलाम नगरपालिका वडा नं ७ फूलगाछीस्थित एउटा निजी घरमा डा. केसीले बुधबार ४. ३० बजेबाट १६औं सत्याग्रह शुरु गरेका हुन्।सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामको पुरानो कार्यालय रहेको व्यक्तिको निजी घरमा केसीले आफ्ना समर्थकको उपस्थितिमा अनशन सुरु गरेका हुन्।

सत्याग्रहको दोस्रो दिन बिहान अनशनस्थल पुग्दा डा. रामकृष्ण आचार्यले उनको हेरचाह गरिरहेका थिए। उनले भने, ‘राति निदाउनु भयो। अनशनका दिन बढ्दै जाँदा रोगसंग लड्ने क्षमता घट्दै जाने भएकाले हामी पूर्ण सतर्कमा छौं।’

पुस २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्