पोखराबाट पनि पुनः श्रम स्वीकृति दिन थालियो

काठमाडौं– आजबाट पोखराबाट पनि पुन: श्रम स्वीकृति दिन थालिएको छ । बिहिबार श्रम मन्त्री गोकर्ण बिष्टले सेवाको उद्घाटन गरेका हुन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागको कामलाई विकेन्द्रीत गरेको हो।

प्रदेशका कार्यालयबाट पनि सेवा दिने निर्णय गरेको श्रम मन्त्रालयले यस अघि प्रदेश-२ को जनकपुर र प्रदेश ५ को बुटवलबाट सेवा सुरु गरिसकेको छ। आजदेखि गण्डकी प्रदेशको पोखरामा रहेको श्रम कार्यालयबाट पनि पहिलो चरणमा पुनः श्रम स्वीकृतिको काम सुरु भएको हो।

यस्तै अरु प्रदेशका श्रम तथा रोजगार कार्यालयबाट पनि श्रम स्वीकृति लगायतका सेवा दिने तयारी अन्तिम चरणमा पुगेको श्रम मन्त्रालयले जनाएको छ । पहिलो चरणमा पुनः श्रम स्वीकृति मात्रै वितरण हुने भएपनि छिट्टै पूर्व स्वीकृतिको काम पनि प्रदेश कार्यालयबाट हुनेछ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ६ वटा प्रदेशका श्रम तथा रोजगार कार्यालयलाई अधिकार प्रत्यायोजन गरिसकेको छ। धनगढी, सुर्खेत, बुटवल, पोखरा, जनकपुर र विराटनगरमा रहेका श्रम तथा रोजगार कार्यालयहरुले वैदेशिक रोजगार ऐन, २०६४ को दफा १५ बमोजिम वैदेशिक रोजगारमा कामदार पठाउन निश्चित संख्यामा माग निर्धारण गरी पूर्व स्वीकृतिका लागि निवेदन लिने र पूर्व स्वीकृति दिन सक्ने छन्।

म्यानपावर व्यवसायीले विज्ञापन गरे नगरेको अनुगमन गर्ने तथा तोकिएको संख्यामा श्रम स्वीकृतिको स्टिकर दिने अधिकार प्रदेश कार्यालयलाई दिइएको छ।

व्यक्तिगत श्रम स्वीकृति प्रदेश कार्यालयहरुले नै दिन सक्ने छन् भने, वैदेशिक रोजगार ऐन कार्यन्वयन भए नभएको अनुगमन गर्ने अधिकार पनि प्रदेशमा रहने श्रम तथा रोजगार कार्यालयहरुलाई दिइएको छ।

विदेशस्थित कूटनीतिक निकायबाट पनि दुई पटकसम्म श्रम स्वीकृत लिन सकिने गरी सरकारले तयारीस् गरिरहेको छ । सरकारले यसअघि, काठमाडौँको ताहचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयबाट मात्रै श्रम स्वीकृति दिइदै आएको थियो।

तस्बिर सौजन्यः राजु श्रेष्ठ, वैदेशिक रोजगार विभागका कम्पयुटर इन्जिनियर।

पुस २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्