राजदूत शेर्पाको वर्खास्ती र राजिनामाबारे सरकार अझै मौन

नेतृत्वले लक्की शेर्पालाई निकास दिन आग्रह गरेको सरकारका प्रवक्ताको खुलासा

काठमाडौँ– मानव तस्करीको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको बर्खास्ती या राजिनामाबारे सरकारले अझै स्पष्ट पार्न सकेन।

तीन दिनअघि अर्थात यही पुस २३ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गरेको अनि भोलिपल्ट उच्चस्तरबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमक्ष उनलाई राजिनामा दिन दबाब दिएको भन्दै दुई थरिका सूचनाहरु बहिरिएका थिए।

तर, उक्त मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नेक्रममा बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले शेर्पामाथि छानबिन गर्न परराष्ट्रमन्त्रालयले गठन गरेको समितिले निष्कर्षसहित प्रतिवेदन सम्बन्धित निकायमा बुझाएको र उच्चस्तरबाट निकास दिन शेर्पालाईनै आग्रह गरेको बताए। त्यो कुन प्रकृतिको निकास हो भन्नेबारे उनले स्पष्ट पारेनन्।

शेर्पालाई मन्त्रीपरिषद् बैठकले बर्खास्ती गरेको वा राजिनामा दिएको भन्नेबारे पनि मौन रहदै मन्त्री बास्कोटाले शेर्पा कुटनीतिसँगै राजनीतिसँग पनि जोडिएकाले उनलाई प्रधानमन्त्री केपी शर्मा ओली एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले त्यसको निकास दिन आग्रह गरेको बताए । र केही दिनमा त्यसको परिणाम पनि आउने मन्त्री बास्कोटाले दावी गरे।

‘लक्की शेर्पाबारे धेरैखाले सूचना आए। उहाँमाथि लागेको आरोपबारे छानविन भइसकेको छ। र त्यसको निचोडमा छानविन समिति करिवकरिव पुगिसकेको छ। उहाँसँग कुटनीतिक मात्रै नभए अलिकति राजनीतिक विषय पनि जोडिएको छ। खासगरी प्रधानमन्त्री र पार्टी अध्यक्ष समेतले पनि यसलाई गम्भीररुपमा लिनु भएको छ। यस हिसावमा कुनै निकास दिन उहाँलाई नै आग्रह गरिएको छ र उहाँले त्यो काम गर्नुुहुन्छ होला भन्ने हाम्रो विश्वास छ ,’ मन्त्री बास्कोटाले भने।

शेर्पाको वर्खास्ती र राजिनामाबारे समाचारहरु आएपछि शेर्पाले त्यसबारेको तथ्य सरकारले बिहीबार सार्वजनिक गर्ने बताएकी थिइन् ।

शेर्पालाई आफ्ना सहायकले मानवतस्करीको आरोप लगाएपछि उनलाई सरकारले नेपाल झिकाएर छानविन गरेको थियो।

पुस २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्