‘गोपी’ को कथा लेख्‍ने र अभिनय गर्नेले के के भने?

काठमाडौँ- यतिबेला माघ १८ को प्रदर्शन मिति तोकिएको चलचित्र ‘गोपी’ को चर्चा छ। अभिनयमा अब्बल भनेर नाम कमाएका बिपिन कार्की अनि नायिकाद्वय वर्षा राउत अनि सुरक्षा पन्त पर्दामा एकसाथ देखिँदै छन्। गोपीले व्यावसायिक गाईपालक युवाको कथा बोलेकोे ट्रेलरले देखाउँछ।

केही समय यता नेपाली चलचित्र मनोरञ्जन दिनेमा मात्र सिमित छैनन्। राम्रा नृत्य, लयात्मक गीत, टलक्क टल्कने अनुहार अनि बिलासी जीवन र त्यसको रमझम अनि आफन्तले दिने धोकामा मात्र चलचित्रका विषयवस्तु अडिएका छैनन्। समाजमा चलिआएको जातप्रथाको विरुद्धको कथा, दाजु-भाईको सम्बन्ध, निसन्तान दम्पतिको वेदना अनि जातीय प्रथाको बारेमा बदलिदो परिस्थितिलाई सुहाउँदो चलचित्र बनेका छन् र बनेका चलचित्र सफल अनि अब्बल समेत सावित भएका छन्।

यही दौडमा निस्किएको छ, चलचित्र ‘गोपी’। दिपेन्द्र लामाको कथा र निर्देशनमा बनेको चलचित्रले शिक्षित युवाको कृषक व्यावसायी बन्‍ने सपना र त्यसलाई पूरा गर्न भोग्‍नु परेको बाधालाई देखाइएको छ।

यसअघि पनि अन्तरजातीय विवाहको विषयवस्तु बोकेको ‘घामपानी’, निसन्तान दम्पत्तिको कथा ‘प्रसाद’ दाजुभाईको अंशबण्डाको कथा पुरानो ढुंगा लगायतका चलचित्रले प्रदर्शनपछि सकारात्मक नकारात्मक दुवै किसिमका टिप्पणी बटुलेका छन्। कमाई गर्नमा पनि चलचित्रलाई सफल मानिएको छ।

यही आशामा आएको ‘गोपी’ प्रदर्शनको नजिक आइपुग्दा निर्देशकलाई मनमा अलि अलि हलचल भइरहेको छ। बिहीबार भएको भेटघाट कार्यक्रममा उनले ‘चलचित्रको समिक्षा गर्न सजिलो तर लेखिएको शब्दलाई दृश्यमा उतार्न गारो हुने रहेछ।’ लामो समय चलचित्र पत्रकारिता गरेका दिपेन्द्रले यो भन्दा अगाडि ‘घामपानी’ बनाएका हुन्।

चलचित्रको पटकथा लेखेका सामिप्य राज तिमल्सिनाले लेखिएका कतिपय शब्दलाई दृश्यमा उतार्न सजिलो नभएको बताए। ‘व्यावसायिक गाईपालनमा कतिपय भावनात्मक दृश्यलाई जोड्न मिलेन।’ उनले भने, ‘गाउँ घरतिर गाईको बाच्छोको भाग भनेर दूध दुहुन पनि छोडिन्थ्यो। तर यो दृष्य देखाउन सहज भएन।’

चलचित्रका मुख्य पात्र विपिनले जनावरसँग काम गर्न गारो भएको बताए। गोपीको कथा इच्छाशक्ति भएर पनि काम गर्न नसकेका युवाको वास्तविक कथा भएको बताए।

नायिका वर्षाले जात्रापछि विपिनसँग काम गर्न पाएकोमा खुसी भएको बताइन्। वर्षा राउतलाई गाई गोठमा प्रेम बस्यो कि नाई भन्‍ने प्रश्नको जवाफमा उनले भनिन्, ‘मेरो घर कुलो छेउमा थियो, गाइगोठाला धेरै आउँथे, धेरैसँग आँखा जुध्यो। गोठसम्म त पुगिएन।’

चलचित्रकी अर्की पात्र सुरक्षा पन्तले आफूलाई चलचित्रको पात्र एकदमै मन परेकोले यस्ता पात्रहरु आए आफू चलचित्रमा काम गरीरहने बताइन्।

चलचित्रमा खलपात्रको रुपमा देखिएका अंकित खड्काले आफूलाई कथा मन परेको जानकारी दिए। चलचित्रको गीत ‘लक्ष्मी कहिले काली’, सार्वजनिक भईसकेको छ। यो गीतमा ध्रुव विस्को र एन्जिला रेग्मीको स्वर छ। यी बाहेक चलचित्रमा शिव परियार, सन्तोष लामा, बनिका प्रदानको पनि स्वर सुन्‍न सकिन्छ। चलचित्रमा न्‍ह्यू बज्राचार्य, अर्जून पोख्रेल अनि कल्यान सिंहको संगीत छ। चलचित्रमा आरोही केसीले लगानी गरेको चलचित्रको कार्यकारी निर्माता श्रीधर पौडेल छन्।


तस्बिर : बर्षा शाह

पुस २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्