घटनामा वृद्धिले नेपाली समुदाय चिन्तित

अस्ट्रेलियामा नेपाली विद्यार्थी पौडिने क्रममा बेपत्ता

पौडी खेल्ने क्रममा बेपत्ता भएका विगुल पण्डितको खोजी गर्ने क्रममा।

अष्ट्रेलियाको न्युसाउथवेल्स र भिक्टोरिया राज्यको सीमा क्षेत्रमा पर्ने अल्बरीको मुर्रे नदीमा बुधबार साँझ २१ वर्षीय नेपाली विद्यार्थी विगुल पण्डित बेपत्ता भएका छन्।

अल्बरीस्थित मुर्रे नदीको नरेउल पार्कमा साथीहरूसँग कम्मरसम्म आउने पानीमा खेल्दै रमाइलो गरिरहेका पण्डित केही बेरमा हराएपछि उनको खोजी कार्य शुरु गरिएको थियो।

घटनालगत्तै प्रहरी, एम्बुलेन्सका कर्मचारी र स्वयम्सेवकले खोजीकार्य तीव्र पारे पनि बिहीबार साँझसम्म उनलाई फेला पार्न सकिएको छैन । त्यसमाथि नदीको पानी धमिलो भएकाले ३० देखि ४० सेन्टिमिटरभन्दा तल देख्न नसकिने हुनाले खोजी कार्य प्रभावित भएको कुरा ‘द एज’ पत्रिकाले लेखेको छ।

चार्ल्स स्टर्ट विश्वविद्यालयमा अकाउन्टिङका विद्यार्थी पण्डितलाई उनका आफन्तले हँसिलो, मिहिनेती र इमानदार व्यक्ति रहेको बताएका थिए।

एडिलेडमा निश्चल घिमिरेको समुद्रमा डुबेर ज्यान गएको दुई साता पनि नबित्दै फेरि अर्को नेपाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । अस्ट्रेलियामा नेपालीको संख्या बढेसँगै पानीमा डुबेर ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ।

नेपाली नवआगन्तुक विद्यार्थीहरूलाई समुद्रमा पौडी खेल्दा अपनाउनुपर्ने सुरक्षाका बारेमा जानकारी दिने उद्देश्यले गतवर्षदेखि नेपाली स्वामित्वको कलेज हाम्रो इन्स्टिच्युट अफ बिजनेस टेक्नोलोजीले ‘बिच सेफ्टी’ कार्यक्रम गर्दै आएको छ जस्मा नेपाली विद्यार्थीको उल्लेख्य सहभागिता रहने गर्दछ।

देशसञ्चारसँग कुरा गर्दै सो कलेजका निर्देशक दीपक खनालले नेपाली विद्यार्थीहरू अस्ट्रेलिया मात्र होइन विदेशको जुनसुकै ठाउँमा पनि पौडी खेल्ने क्रममा नेपालीको मृत्यु हुनु दुःखको कुरा भएको बताए । उनले भने – ‘यो समस्यालाई यदि साँच्चिकै निराकरण गर्ने हो भने नेपालको उच्च शिक्षामा समुद्र तथा नदीमा पौडी खेल्दा अपनाउनुपर्ने सुरक्षाका उपायका बारेमा पाठ्यपुस्तकमा नै समावेश गर्नुपर्छ । साथै, अभिभावकहरू पनि यसतर्फ सचेत रहेर आफ्ना सन्तानलाई सचेत गराउनु पर्दछ ।’

उनले अगाडि भने – ‘अस्ट्रेलिया आउने विद्यार्थीको हकमा परामर्शदाताको मुख्य भूमिका रहने हुनाले आफ्नो फाइदालाई मात्र नहेरी विद्यार्थीका सुरक्षाका सवालमा पनि परामर्श दिनु अत्यन्त आवश्यक देखिएको छ । त्यसका साथै विद्यार्थीहरू पनि आफै सचेत भएर पौडी खेल्न सिक्नु वा सुरक्षित रहन सक्नुपर्दछ ।’

पुस २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्