फिदा हुसैन हत्याका आरोपी प्रहरीद्वारा सार्वजनिक

मोरङ- सुनसरीको दुहबी-९ छाताबेलीका फिदा हुसैनका हत्याका आरोपीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

बिहीबार इनरुवास्थित जिल्ला प्रहरी कार्यालय सुनसरीमा पत्रकार सम्मेलन गर्दै ५४ वर्षीय हुसैनको हत्यामा २८ वर्षीय मोहम्मद सकिम हुसैन, ६० वर्षीय विशम्बर यादव र ३१ वर्षीय मोहम्मद जावीर हुसैनलाई पक्राउ गरिएको जनाएको छ।

पक्राउ गरिएका दुवै हुसैन छाताबेली, दुहबी ९ र यादव भने दुहबी १२ सीतापुर निवासी भएको बताइएको छ।

हत्यामा खुलेका कुरा


फिदा हुसैन हत्याप्रकरणमा मुख्य योजनाकारमा सकिम हुसैन र जाविर हुसैन रहेको प्रहरीले जनाएको छ। त्यसैगरी सीतापुरका यादवले घटनामा प्रयोग गरिएको हतियार लुकाए थिए।

यादवले घटनाका क्रममा प्रयोग गरेको हतियार दुहबी १२ स्थित लक्ष्मीनारायण मन्दिर परिषरमा रहेको नरिवलको रुख मूनि गाडेर राखेका थिए।जसलाई प्रहरीले फेला पारेको थियो। गत मंसिरमा भएको घटनालगत्तै तीनै जना नेपाल र भारतको सीमा नजिकका स्थानमा लुकीछिपी बस्दै आएका थिए। यद्यपि प्रहरीको अनुसन्धान र निगरानी पश्चात उनीहरुलाई पक्राउ गरिएको थियो।

घटनामा संलग्न भनिएका अर्का एक ब्यक्ति भने बांकेबाट पक्राउ परेको बताइएको छ। सुनसरी प्रहरीका अनुसार, घटनामा संलग्न दुहबी ९ का जप्फर मियांलाई बांके प्रहरीले पक्राउ गरेको र सुनसरी ल्याउने क्रममा रहेको छ। हुसैनको हत्यामा संलग्न तीनै जनालाई जिल्ला अदालत सुनसरीबाट ४ दिनको म्याद थप गरि अनुसन्धानमा राखिएको सुनसरी प्रहरीले जनाएको छ।

घटना मंसिर ५


गत मंसिर ५ गते विहान मनिङ वाकका क्रममा स्थानीय एक इटा उद्योगमा म्यानेजर पदमा कार्यरत फिदामाथि नहर छेउमा गोली प्रहार गरिएको थियो। छातीमा गोली लागेका फिदालाई भाइ ज्याबुल हुसैनले विराटनगरस्थित न्यूरो अस्पतालमा पुर्‍याइएको थियो।

यद्यपि उनको मृत्यु अस्पताल पुग्नु अघि नै भइसकेको थियो। स्थानीयका अनुसार, हत्याका क्रममा अज्ञात दुई जनाले उनीमाथि गोली प्रहार गर्दै मोटरसाइकलमा भागेका थिए। मृतक हुसैन दुहबी वडा ९ का वडाध्यक्ष मेहन्दी हुसैनका भाइ हुन्।

पुस २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्