नेपाल-भारत सीमावर्ती क्षेत्रमा पाँच नयाँ भन्सार विन्दु विस्तार गरिने

विराटनगर भन्सार कार्यालय।

मोरङ- भारतसँगको सहमतिमा नेपाल र भारतका सीमावर्ती क्षेत्रमा नयाँ पाँच वटा भन्सार विन्दु विस्तार गरिने भएको छ।

विराटनगरस्थित उद्योग संगठन मोरङ्गमा बिहीबार आयोजित छलफलका क्रममा भन्सार विभागका महानिर्देशक तोयम रायाले दुइ देशबीच यस विषयमा सहमति भइसकेको जानकारी दिए।

महानिर्देशक रायाले भने, ‘भन्सार बिन्दुका लागि सहमति बनिसके पनि कुन कुन स्थानमा विस्तार गर्ने भन्ने टुँगो भने लाग्न बाँकी छ।

यसैबीच, महानिर्देशक रायाले झापाको भद्रपुर र गौरीगञ्ज, मोरङको रंगेली वा मायागञ्ज, रौतहटको बंकुल र कञ्चनपुरको बेलौरीमा नयाँ भन्सार बिन्दु खोल्न दुबै देश सहमतिको नजिक पुगेको प्रस्टाएका छन्।

भन्सार विन्दुका लागि नेपाल–भारत वाणिज्य सन्धिले सहमति दिए पूर्वाधार तयार चाँडै हुने बताइएको छ। प्रदेश नम्बर एकको झापा र मोरङको समेत गरी तीन नाका उद्योगी, व्यवसायी र स्थानीयका लागि वहुप्रतिक्षित छन्।

जसमध्ये मोरंगको रंगेली नाकालाई नेपाली पक्षले आफ्नो अडानका रुपमा लिएका छन्। यद्यपि भारतीय पक्षले भने रंगेलीभन्दा पाँच किलोमिटर पश्चिममा पर्ने मायागञ्ज नाका खुलाउन जोड दिइरहेको बताइएको छ।

छलफलका क्रममा पूर्वका उद्योगी व्यवसायीले भन्सार विभागका महानिर्देशक रायासँग भन्सार कार्यालयमा जाँचपास लगायतका नाममा हुने गरेका ढिला सुस्ती हटाउनु पर्ने माग गरेका थिए।

भन्सार विभागका महानिर्देशक रायाले भने नयाँ भन्सार ऐन ल्याउने तयारी भइरहेका कारण ऐनले सबै खाले समस्याको समाधान गर्ने स्पस्ट पारे।

पुस २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्