परराष्ट्रमन्त्री ज्ञवालीद्धारा रायसिना संवादमा संवोधन

नेपाललाई थप हवाई मार्ग दिन भारत सकारात्मक

काठमाडौँ– नेपाललाई थप हवाई मार्ग दिन भारत सकारात्मक देखिएको छ। नयाँ दिल्लीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीचको बैठकमा विगत लामो समयदेखि नेपालले माग्दै आएको थप हवाई मार्ग उपलब्ध गराउन भारत सकारात्मक देखिएको छ।

बैठकमा सहभागि एक नेपाली अधिकारीका अनुसार परराष्ट्रमन्त्री ज्ञवालीले भरैवाको अन्तर्राष्ट्रिय विमानस्थल आगामी केही महिनाभित्र सम्पन्न हुन लागेको हुँदा थप हवाई मार्ग उपलब्ध गराउन भारतीय विदेशमन्त्री स्वराजसँग आग्रह गरेका थिए।

नेपालको त्यस्तो आग्रहलाई स्वराजले सकरात्मकरुपमा लिएको परराष्ट्रमन्त्री ज्ञवालीलाई बताएकी थिइन्। आठ महिना अघि काठमाडौँमा सम्पन्न नेपाल र भारतका उच्चअधिकारीहरुको संयुक्त बैठकले नेपाललाई थप हवाई मार्ग दिने सहमति गरेको थियो।

त्यसको चार महिनापछि दिल्लीमा भएको अर्को उच्चस्तरीय बैठकमा भारतले आफु तत्काल नेपाललाई थप हवाई मार्ग दिन असमर्थ रहेको बताएको थियो।  तर बिहीबार परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी स्वराजबीचको बैठकबाट भारत थप हवाई मार्ग उपलब्ध गराउन सकारात्मक देखिएको हो।

गत जेठमा भएको उच्चस्तरीय बैठकमा काठमाडौ–महेन्द्रनगर–दिल्ली हवाई मार्ग र विराटनगर तथा जनकपुर हवाई मार्गलाई दुईतर्फी बनाउन भारत सहमत भएको थियो । नेपालगञ्ज प्रवेश विन्दुबाट समेत उडान मार्ग दिन पनि उ राजी भएको थियो।

त्यसैगरी नयाँ दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तीकाअनुसार ज्ञवाली र स्वराजबीचको बैठकमा नेपाल –भारत सम्बन्धका विभिन्न आयमबारे समेत छलफल भएको छ।
बैठकमा दुई पक्षीय सहयोगमा सञ्चालित परियोजनाको समिक्षा गरिएको छ भने अन्य क्षेत्रमा भएको प्रगतिलाई लिएर दुवै पक्षबाट सन्तोष व्यक्त भएको छ।

साथै पछिल्लो समय भएका उच्चस्तरीय भेटघाटले समनाता, आपसी विश्वास, सम्मान र पारस्परिक लाभमा आधारित सदियौँ पुरानो नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाएको निष्कर्ष समेत निकालिएको छ।

उक्त बैठकमा पाँचौ नेपाल भारत परराष्ट्रमन्त्रीस्तीय संयुत्त बैठक चाँडो भन्दा चाँडो नेपालमा आयोजना गर्ने सहमति भएको विज्ञप्तीमा उल्लेख छ।

विदेशमन्त्री स्वराजसँगको बैठकपछि परराष्ट्रमन्त्री ज्ञवालीले दिल्लीमा जारी रायसिना संवाद (डायलग)लाई संवोधन समेत गरेका छन्।

सो अवसरमा उनले संयुक्त राष्ट्रसंघ जस्ता संगठनहरुले स्थापित गरेको मुल्यमान्यताको पक्षमा रहेको जानकारी गराएका थिए।

नेपालले सदैव स्वतन्त्र परराष्ट्रनीति अंगालेको र सँधै शान्तिको पक्षधर रहेको जानकारी ज्ञवालीले गराएका थिए।

पुस २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू