निर्मला पन्तका बुवाको मानसिक अवस्था फेरि असामान्य

निर्मला पन्तका बुवा यज्ञराज पन्त।

काठमाडौँ – बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बुवा यज्ञराजको मानसिक अवस्था फेरि विक्षिप्त बनेको परिवारका सदस्यले बताएका छन् । छोरीको हत्या भएको ६ महिना बित्दा समेत अपराधी पत्ता नलागेपछि बुवा यज्ञराजको मानसिक अवस्था फेरि बिग्रीएको उनकी कान्छी श्रीमती लक्ष्मी पन्तले बताइन् ।

यसअघि छोरीको न्याय माग्दै धर्नामा बसेका बेला मानसिक अवस्था असामान्य भएपछि उनलाई काठमाडौँ ल्याएर उपचार गरिएको थियो । काठमाडौँमा लामो उपचारपछि घर फर्केका यज्ञराजको मानसिक अवस्था आजभोलि फेरि बिग्रेको पन्तले बताइन् ।

यज्ञराजले अचेल मध्यरातमा उठेर रुने, नजिक रहेका व्यक्तिलाई हप्काउने, गाली गर्ने जस्ता असामान्य व्यवहार देखाउन थालेको उनले बताइन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ महिनासम्म दोषी पत्ता नलाग्दा परिवारमा आन्तरिक कलह पनि सुरु भएको छ ।

निर्मलाको शवबाट निकालिएको भजाइनल स्वाबको बैधानिकता जाँच्न आमा दुर्गादेवीले बुधबार डीएनए टेष्टका लागि रगतको नमूना दिनुका साथै सरकारले दिने भनेको राहत रकम पनि बुझ्ने बताएकी थिइन् ।

तर, सुरुदेखि नै न्याय नपाएसम्म राहत रकम नलिने बताएका यज्ञराज, श्रीमतीको यस्तो निर्णयपछि थप तनावमा आएका बताइएको छ । सोही विषयलाई लिएर उनले बिहिबार श्रीमती दुर्गादेवी पन्तमाथि हातपात गर्नुका साथै न्याय नपाउँदासम्म राहत बुझे घरको दैलोमा झुण्डिएर आत्महत्या गर्ने धम्की समेत दिएको भिडियो सार्वजनिक भएको छ ।

निर्मलाको परिवारलाई केन्द्र सरकारले १० लाख, प्रदेश सरकारले पाँच लाख र भीमदत्त नगरपालिकाले तीन लाख राहत रकम सहयोग गर्ने घोषणा गरेका थिए । तर पन्त परिवारले हालसम्म उक्त राहत बुझेका छैनन् ।

निर्मलाकी आमा दुर्गादेवीले आफ्ना बाँकी दुई छोरीको भविष्यको लागि राहत बुझ्ने मनसाय बनाउँदा श्रीमानबाट पीडा खेप्नुपरेको बताइन् । उनले अनुसन्धानमा सजिलो होस् भन्नका लागि आफूले रगत परीक्षण गर्न दिँदा श्रीमान्ले आपत्ति जनाएको बताइन् ।

तर यज्ञराजले भने सरोकारवालाहरुसँग छलफल गरेर रगत दिने कुरा गर्दा श्रीमतीले नमानेको बताए । रगत परीक्षणका लागि कुनै आपत्ति नभएको तर न्याय नपाउँदा सम्म राहत बुझ्ने कुरा स्वीकार नहुने यज्ञराजको भनाई छ ।

गत साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी निर्मला पन्तको दोस्रो दिन उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । घटनाबारे सरकारले उच्च स्तरीय छानबिन तथा अनुसन्धान गरिरहेको भएपनि अपराधी पत्ता लाग्न नसक्दा परिवारमा थप समस्या पैदा भएको छ ।

पुस २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्