अमेरिकी सेना प्रमुखसँग रक्षामन्त्रीको भेट,के भयो कुराकानी?

काठमाडौँ – नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाको इन्डो प्यासेफिक क्षेत्र हेर्ने प्रमुख एडमिरल फिलिप एस डेभिड्सनले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखेरलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

सेना प्रमुख एडमिरल डेभिडसनले शुक्रबार बिहान रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलसँग भेट गरेका हुन् । संयुक्त राज्य अमेरिकाको इण्डो प्यासेफिक प्रमुख एडमिरल डेभिडसन नेपालको दुई दिने भ्रमणको क्रममा बिहिबार काठमाण्डौ आएका हुन् ।

उपप्रधान तथा रक्षामन्त्री सँगको भेटमा द्विपक्षीय सैन्य सहायता र एशिया प्यासेफिक क्षेत्र भित्र पर्ने इण्डो प्यासेफिक क्षेत्रको सुरक्षा चुनौति बारे छलफल भएको छ । यसमा नेपाल र अमेरिकाले खेल्न सक्ने भूमिका बारे पनि छलफल भएको छ । साथै अमेरिकी सेनाले नेपाली सेनाको क्षमता विकाश र सैन्य कुटनैतिक सम्बन्धलाई बलियो बनाउँदै लैजाने विषयमा द्विपक्षीय छलफल भएको रक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता बाबुराम गौतमले जानकारी दिए ।

भ्रमणमा रहेको सेना प्रमुखको टोलीले बिहिबार नै नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापासँग भेट गरिसकेको छ । सेना प्रमुख एडमिरल डेभिडसनको टोलीले काभे्रको पाँचखालमा रहेको नेपाली सेनाको विरेन्द्र शान्तिकार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गर्नेछ ।

पुस २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्