मलाई बिपिनको जस्तो आवाज फेर्न आउँदैन-वर्षा राउत

काठमाडौँ– मान्छेसँग काम गर्न सजिलो तर जनावरसँग काम गर्न गारो हुने रहेछ। न हामीले सम्झाउन सक्नु, न गाली गरेर तर्साउन सक्नु, उसकै टाइममा चल्नुपर्छ। ‘गोपी’मा काम गर्दा मैले यस्तो अनुभव बटुल्न पाए।

काठमाडौँमा जन्मे, हुर्के बढेपनि मेरो लागि गाउँको परिवेश नौलो छैन। मेरो बाबा सिन्धुलीमा जन्मनुभएको हो, हाम्रो घर छ त्यहाँ। जाडो, गर्मी बिदामा म गाउँ जान्थे, त्यो बेलामा गाई देखेकै हो। हाम्रो घरतीर त अझै हान्ने भैँसी हुन्थ्यो, भैँसीको अगाडि हिँड्दा चनाखो हुनुपथ्र्योे।

गोपीको सुटिङ्गमा हान्ने गाई, नहान्ने गाई छुट्याईको थियो। तर लामो सिङले नतर्साएको होइन। हामीलाई समस्या त परेन। गाईवस्तु देखेको अनि बानि अलिअलि थाहा भएकोले काम गर्न गारो भएन।

नाई नभन्नु ल – ४ बाट चलचित्र क्षेत्रमा काम गरे, अहिले सम्म थुप्रै पात्रको भूमिकामा देखिए। तर समस्या के छ भने मलाई ‘विपिन कार्की’को जस्तो आवाज परिवर्तन गर्न आउँदैन। मैले जति पनि चलचित्रमा अभिनय गरे, हरेकमा बोल्ने तरिका एकै खालको छ। ‘मिस्टर झोले’ मा अलि फरक प्रयास गरेको छु। तर अरुमा म जे हो त्यही देखिए। त्यसैले मलाई फरक लागेको छैन। अलि फरक महसुस गराउने भनेको पहिरन र श्रृंगार हो। मैले निभाएको पात्रमा मैले केही भिन्न देखिने कोशिस गरेको छु।

‘गोपी’ सँग मेरो आशा छ। पक्का कुरा के हो भने, चलचित्रको पहिलो हाफ दर्शकलाई मन पर्यो भने दोस्रो हाफ पनि मन पर्छ। ‘जात्रा’ प्रदर्शनको दुईदिन सम्म त्यती राम्रो प्रतिक्रिया आएको थिएन तर पछि कमाई, समालोचनाको आधारमा पनि राम्रो भयो। यो चलचित्रबाट पनि त्यही अपेक्षा छ। मौलिक विषयवस्तु अनि देशमा केही गरौँ भन्ने दर्शकले चलचित्र मन परेन भन्नुहुन्न होला। उहाँहरुलाई प्रेरणा हुन सक्छ।

प्रदर्शनको मिति आउँदै गर्दा चलचित्रले राम्रो नै गर्ला भन्ने वातावरण बनिरहेको छ। ‘यो चलचित्रलाई बाहिर कसरी देखाउने’ भन्ने जस्ता कुराहरु म सँग पनि भईरहेका छन्। अर्को कुरा हामीले देखाउन खोजेको कथा सुटिङ गरेको फामका मालिकसँग मिल्न आउँछ। त्यहाँको दाईले फाम घाटामा जाँदा पनि चलाइरहेको तितो अनुभव साट्नुभयो। जसले मनमा चिसो पस्छ।

मैले त्यतिबेला नराम्रो अनुभूत गरे, जब लगानी गरेको सबै शून्य भएको थियो। काम छोड्न उहाँले मान्नुभएन। हामीले केही फाइदा होला, नाम होला, दाम होला भनेर नै काम गर्ने हो। हातमा शून्य नहुँदा पनि काम गरेको सुनाउँदा उहाँँप्रति सम्मान पनि जाग्यो। खुसी पनि लाग्यो, आफ्नो ठाउँ नै छोडेर विदेशिने युवा जमात छन्, यसरी गाई पालन गरेर, आफ्नै पौरखमा रमाउने युवा देख्दा खुसी नहुँने कुरा नै भएन।

अहिले गाई पाल्ने मान्छेको कमी भएको कुरा शुद्ध दूध नपाइनुले देखाउँछ। मलाई सकेसम्म गाईको नै दूध खाउ जस्तो लाग्छ तर पाइदैन। गाउँमा मेरै लागि दूध भनेर भाग लगाएर पिउँदा मजा आउँथ्यो। गाउँबाट बट्टामा घ्यू पनि आउँथे तर अहिले समय परिवर्तन भएको छ।
गोपीले मलाई किसानको मेहनत बुझाएको छ। जसजसले खेती गर्दै हुनुहुन्छ, तपाईलाई सम्मान छ। यत्ति भन्न चाहन्छु जस्तो भएपनि काम नछोड्नुहोस्, ढिला चाँडो फल अवश्य मिल्नेछ।

(प्रस्तुति – सुजाता खत्री

तस्बिर – बर्षा शाह)

पुस २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्