आठौंको पूर्वाधार हेर्न निस्कियो संसदीय टोली

नेपालगञ्ज – आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका बारेमा संसदीय टोलीले समेत चासो देखाएको छ । भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाईले आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा हुन्छ कि हुँदैन भन्ने सर्वत्र चासो भइरहेको बेलामा शुक्रबार संसदीय टोलीले नेपालगञ्ज आएर त्यसबारेमा बुझ्ने काम गरेको हो ।

प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद संसदीय समितिका सभापति जयपुरी घर्ति र युवा तथा खेलकुद संसदीय उपसमितिका संयोजक जीवनराम श्रेष्ठको टोलीले नेपालगञ्जलगायत आठौं राष्ट्रिय प्रतियोगिताका लागि निर्माण भइरहेका पूर्वाधारहरुको स्थलगत अवलोकन गरेको छ । संसदीय टोलीमा सुरेश राई, गजेन्द्र महत, रेखाकुमारी झा रहेका छन् ।


संसदीय टोलीलाई राखेपका सदस्य सचिव केशवकुमार विष्टले आठौ लक्षित पूर्वाधार र गतिविधिका बारेमा जानकारी गराएका थिए ।
सदस्य सचिव विष्टले फाल्गुन अन्तिममा आठौं राष्ट्रिय प्रतियोगिता शुरु हुने बताए । एकथरी खेलकुद अधिकारीहरु आठौलाई अलिकति पछाडी धकेल्न लागि परेको चर्चा भइरहेको बेलामा सदस्य सचिव विष्टले रातदिन लागेर भएपनि फाल्गुनमै आठौ राष्ट्रिय प्रतियोगिता गराउने बताए ।

आठौंको उद्घाटन स्थल नेपालगञ्ज रंगशाला हो । यही रंगशालाको निर्माणमा ढिलाई भएको छ । सदस्य सचिव विष्टले नेपालगञ्ज रंगशाला र दाङको बेलझुण्डी रंगशालाबाहेक अन्यत्रको काम ८० प्रतिशत सकिएको बताए । ‘यी दुई ठाउँको काम तीब्रगतिमा भइरहेका छन्, सदस्य सचिव विष्टले भने, फाल्गुन १५ गतेभित्र सबै पूर्वाधारको काम सकिन्छ ।’


संसदीय टोलीले पनि नेपालगञ्ज रंगशालालगायत पूर्वाधार निर्माणको काम समयमा सकिन्छ त ? भन्ने जिज्ञासा राखेको थियो । सदस्य सचिव विष्टले एक अर्ब बढीको पूर्वाधारको काम भइरहेको र त्यो समयमा सम्पन्न गरेर फाल्गुन अन्तिममा आठौ सञ्चालन गर्ने आश्वासन दिएका छन् ।
प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद संसदीय समितिका सभापति जयपुरी घर्तिले आठांैमा भौतिक पूर्वाधार निर्माणमा कमी हुन नदिने र समयमा आठौ गर्नका लागि आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरिन् ।

५ नम्बर प्रदेश खेलकुद विकास समितिका अध्यक्ष भीम वलीका अनुसार, संसदीय टोलीले यस क्षेत्रमा निर्माण भइरहेका पूर्वाधारहरुको स्थलगत निरीक्षण गरेका छन् । आठौका बारेमा पछिल्लो समयमा विभिन्न प्रकारका समाचारहरु आएपछि विशेष चासो देखाएर टोली स्थलगत निरीक्षण आएको हो ।

यसैबीच, ५ नम्बर प्रदेश खेलकुद विकास समितिले एलथेटिक्सका बारेमा शुक्रबारदेखि आधारभूत तालिम सञ्चालन गरेको छ । समितिले आठौंलाई लक्षित गरेर मेडल ल्याउने संभावित खेलाडीहरुलाई एकै ठाउँमा राखेर विशेष तालिम दिने तयारी गरेको छ ।

पुस २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू