पाँच दिने भारत भ्रमणमा निस्किए प्रधानसेनापति

प्रधानसेनापति थापालाई त्रिभुवन विमानस्थलमा विदाई गर्दै बलाधिकृत रथी हेमन्त कुँवर

काठमाडौँ-प्रधानसेनापति भएपछि पूर्णचन्द थापा पहिलोपटक भारत भ्रमणमा निस्किएका छन्। थापा शुक्रबार भारततर्फ लागेका हुन्।

भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल विपिन रावतको निमन्त्रणामा थापा त्यसतर्फ लागेका हुन्।

प्रधानसेनापति भएपछि भारत जाने प्रचलन रहेको छ। शनिबार थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम छ।

यस्तै भारत र नेपालका सेना प्रमुखलाई कदरस्वरुप मानार्थ महारथि दिने प्रचलन छ। भमणका क्रममा थापाले भारतीय समकक्षी विपिन रावतसँग भेटघाट गर्ने कार्यक्रम छ।

उनले भारतीय रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत उच्च पदस्थ पदाधिकारीसँग पनि भेटघाट गर्ने छन्। थापाले जयपुरस्थित साउथ वेस्टर्न कमान्ड र लखनउस्थित सेन्ट्रल कमान्डको पनि स्थलगत निरीक्षण गर्ने छन्।

प्रधानसेनापति स्थरको सात सदस्यीय टोलीमा उनकी श्रीमती दीपा थापा, सैनिक इन्टेलिजेन्स महानिर्देशक उपरथी झंकर बहादुर कडायत लगायत छन्। थापा माघ २ गते स्वदेश फर्कने कार्यक्रम छ। थापा गत साउनमा नेपाली सेनाको प्रमुखमा नियुक्त भएका थिए।

पुस २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्