अज्ञात वस्तु पड्किँदा ७ वर्षीय छोराको मृत्‍यु, ६ वर्षीया छोरी घाइते

मोरङ- विराटनगर महानगरपालिकाको रानीमा अज्ञात वस्तु पड्किदा एक बालकको मृत्यु भएको छ।

विराटनगर रानी वडा नम्बर १५ रामजानकी चौकस्थित सुवास मण्डलका सात वर्षीय छोरा अमित मण्डलको विष्फोटमा परी मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

आगो तापेर खेल्दै गर्दाको अवस्थामा अज्ञात बस्तु विष्फोट भएको बताइएको छ। सो विष्फोटमा परि स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिका मण्डल भने गम्भीर घाइते भएकी छिन्।

घाइते राधिकाको विराटनगरस्थित विराट आँखा अस्पतालमा भर्ना गरिएको छ। विष्फोटका कारण राधिकाको दुवै आखामा चोट लागेको बताइएको छ।

बालबालिका खेल्दै गर्दा एकाएक ठूलो आवाजसहित विष्फोट भएको स्थानीय अनिल मण्डलले जानकारी दिए। मृतक बालक अमितको शव भने विष्फोटपछि क्षतविक्षत भएको बताइएको छ। घटनाको प्रकृति हेर्दा सिलिण्डर पड्केको हुन सक्ने अनुमान स्थानीयहरुको रहेको छ। तथापि, प्रहरीले यसको निर्क्‍यौल गरिसकेको छैन।

प्रहरी निरीक्षक रानाले बिग्रिएको मोबाइलको ब्याट्री आगोमा पर्दा पड्किएको हुनसक्ने जानकारी दिए। यद्यपि प्रहरीले हालसम्म विष्फोट भएको वस्तु यही नै हो भन्ने यकिन गर्न सकेको छैन।

प्रहरी निरीक्षक रानाले भने, “ब्याट्री विष्फोट भएको हो वा अन्य कुनै पदार्थ त्यसको अनुसन्धानमा प्रहरी लागि परेको छ।”

पुस २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्