न्यायको बाटो छाडेकाले जोशीलाई इजलासबाट हटाएँ-प्रधानन्यायाधीश राणा

प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबराले न्यायको बाटो छाडेकाले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश दिपकराज जोशीलाई संवैधानिक इजलासबाट हटाउनु परेको बताएका छन्।

बहालवाला वरिष्ठ न्यायाधिश जोशीलाई कामको जिम्मेवारीबाट हटाउने काम गरिएको भन्दै नेपाल बार एशोसिएशनले प्रश्न उठाईरहेका बेला प्रधानन्यायाधिश जबराले न्यायको बाटो छोडेर कुबाटोमा लागेकाले जोशीलाई संवैधानिक इजलासबाट हटाउनु परेको स्पष्टिकरण दिएका हुन।

‘जो मान्छे न्यायको विवेकलाई, न्यायको आचरणलाई कायम राख्‍न सक्दैन, त्यस्ता व्यक्तिलाई प्रधानन्यायाधिशको रुपमा आफूले घर फर्काउन सक्ने अवस्था नरहेको’ प्रधानन्यायाधिश जबराको भनाई छ। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले वरिष्ठ न्यायाधिश जोशीले ‘न्यायको मन्दिरमा बलिरहेको द्वीपलाई निभाउने क्रियाकलाप गरेको’ आरोप पनि लगाए।

गत बिहिबार प्रधानन्यायाधिश जबराको अध्यक्षतामा बसेको न्याय परिषदको बैठकले वरिष्ठ न्यायाधिश जोशीलाई संवैधानिक इजलासबाट हटाउने निर्णय गरेको थियो । त्यसप्रति नेपाल बार एशोसिएनको आपत्ति छ ।

कार्यक्रममा बोल्दै बारका अध्यक्ष शेरबहादुर केसीले बहालवाला न्यायाधिश जोशीलाई किन जिम्मेवारी नदिएर गलत काम गरेको भन्दै तत्काल सच्याउन प्रधानन्यायाधिश जबरासँग माग गरे। उनले जोशीलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गराउने प्रयास भएकोमा आपत्ति जनाउँदै तत्काल नसच्याए त्यो गलत काम हुने र त्यसले प्रधानन्यायाधिश जबरालाई पश्चातापबाहेक अरु केही नदिने दावी पनि गरे।

यता, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले नेपाल बार एशोसिएशनले जोशीलाई संवैधानिक इजलासबाट हटाउने न्याय परिषदको अधिकारमाथि धावा बोलेको भन्दै आपत्ति जनाए। उनले सर्वोच्च अदालतका न्यायाधिशलाई इजलास तोक्ने अधिकार प्रधानन्यायाधिशलाई रहेको उल्लेख गर्दै त्यसमाथि प्रश्न उठाउन नपाउने तर्क पनि गरे।

मन्त्री ढकालले जोशीलाई संवैधानिक इजलासबाट हटाउने निर्णय सही भएको उल्लेख गर्दै त्यसमा बहस गर्न आफू पनि तयार रहेको स्पष्ट पारे।

पुस २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्