२ सय ९७ औँ पृथ्वीजयन्ती

‘एकता दिवसलाई सम्मान गर्न किन काँप्यो शासकको मुटु?’

‘एकता दिवसलाई सम्मान गर्न किन काँप्यो शासकको मुटु?’

पृथ्वीजयन्तीका अवसरमा सिहंदरबार अघि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यर्पण गर्न आएकी एक बालिका । तस्बीर/ दीपा दाहाल

काठमाडौँ – पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउन केपी ओली नेतृत्वको सरकार तयार नभए पनि राष्ट्रिय जीवनका विविध पक्ष र आम नागरिकले २ सय ९७ औँ पृथ्वीजयन्ती अघोषित राष्ट्रिय उत्सवका रुपमा मनाएका छन्।

पृथ्वीजयन्तीका अवसरमा सिहंदरबारको पश्चिम गेटमा अवस्थित पृथ्वीनारायण शाहको शालिकमा शुक्रबार बिहानदेखि पुष्पगुच्छा चढाउने तथा माल्यार्पण गर्नेहरुको ताँती लागिरहेपछि राष्ट्रपति विद्यादेवी भण्डारी पुष्प गुच्छासहित त्यहाँ उपस्थित भइन्। नेपाली सेनाको सम्मान अर्पण गरियो राष्ट्रपतिप्रति।  तर, औपचारिकरुपमा केपी ओलीको मन्त्रीमण्डलबाट त्यहाँ एक जना मात्रै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा पुगे।

पृथ्वीनारायण शाहको शालिक र फोटोमा माल्यार्पण गर्न पुग्नेहरु भावुकमात्रै बनेनन्, शाहको अभाव मुलुकमा यतिबेला खड्किएको खुलेरै भने। शाहका कारण नेपाल र नेपालीको स्वतन्त्र अस्तित्व र स्वाभिमान अनि नेपालीहरुको राष्ट्रिय पहिचान बनेको ठहर थियो उनीहरुको।

पृष्टभूमlमा राष्ट्रिय गीतको धुन, ढाकाटोपी, दौरासुरुवाल तथा सारीमा सजिएर ब्राम्हण, जनजाति, मधेसी समुदायका नृत्यहरु राष्ट्रिय झण्डा सहित हजारौँ नागरिकले पृथ्वीनाराण शाहको शालिक र फोटो ढोगेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीको आगमनपूर्व केही समयका लागि सुरक्षा निकायले सर्वसाधारणलाई शालिकसम्म रोक लगाएको थियो। सुरक्षा निकायका प्रमुख, पूर्व सरकार प्रमुखहरु, उपकुलपति र सांसदहरु पनि त्यहाँ पुगे।

नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत नाट्य प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान एवं नेपाल सांस्कृतिक संघको सहकार्यमा आयोजित कार्यक्रमपछि नेपाली सेनाबाट सलामी पाइन् राष्ट्रपति  भण्डारीले पृथ्वीनारायण शाहका अगाडि। उनले शालिकमा माल्यार्पण गरेलगत्तै त्यहाँ विशिष्टदेखि सर्वसाधारणको फेरि घुँइचो लाग्यो। उनको खुट्टामा ढोक मात्रै होइन, सलाम गरेर जाने सयौँ थिए।

गुरु गोरक्षनाथ दिक्षित शिष्य पृथ्वी नारायण शाहप्रति मृगस्थलीस्थित गोरक्षनाथ मठका प्रमुख महन्त श्रीषनाथको नेतृत्वमा नाथ योगीहरु सबैभन्दा पहिला बिहानै भेला भएका थिए सिंहदरबारको पश्चिम ढोका अगाडि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न।

मठले पृथ्वीनारायण शाहको दिव्योपदेश सहितका पुस्तक प्रदर्शनी र बिक्रीमा राख्नुका साथै गोरक्षनाथ — पृथ्वीनारायण सम्बन्ध र नेपाल एकीकरणमा आधारित सडक नाटक प्रस्तुत गरेको थियो। गोरक्षनाथ मठका पूजारी देवनाथले राष्ट्रिय एकता दिवस कुनै एक व्यक्तिको जन्मभन्दा राष्ट्र एकीकृत भएको दिनको सम्झनामा राष्ट्रिय चाडका रुपमा मनाउनुपर्ने बताए।

‘हामी सामाजिक प्राणी हौँ। हामी नेपाली हौँ। हाम्रो स्वाभिमान र अस्मिता यो दिनसँग जोडिएको छ। नेपाल र नेपालीका लागि राष्ट्रिय एकता दिवस मनाउन थालिएको हो। सामान्य दिनमा विदा दिने सरकारले राष्ट्रियता र राष्ट्रिय अस्तित्वसँग जोडिएको दिनमा विदा नदिनु दुखद हो,’ उनले भने।

राष्ट्रिय हित र एकतासँग जोडिएको दिवसमा सार्वजनिक विदा दिन शासकको मुटु किन काँप्यो? भन्ने उनको प्रश्न थियो। तर ओली सरकारले पूर्ववर्ती शेरबहादुर देउवा सरकारको पृथ्वी जयन्तीको छुट्टी स्थापित गर्ने निर्णय बदर गरे पनि नेपालगञ्ज, धनगढीलगायत आधा दर्जन जति ठाउँमा स्थानीय सरकारले पृथ्वी जयन्तीका दिन बिदा घोषणा गरेको थियो।

पृथ्वीनारायण शाहले आफ्नो शासनकालमा अपनाएको पद्धति अहिले पनि आवश्यक भएको कतिपय सहभागीहरुको ठहर थियो। पृथ्वीनारायण शाहलाई अपहेलना वा हेयको दृष्टिकोणले हेरियो भने नेपालको अस्तित्वको अवमूल्यन मानिने समेत बताए उनीहरुले।

‘मुलुक फेरि विखण्डनतर्फ भासिँदै गएको निष्कर्ष’

पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा आयोजित र्‍यालीका सहभागी कोणसभा गर्न चाहन्थे उनको सालिकअघि । तर ठाउँ खाली गर्न प्रहरीले उनीहरुलाई दबाब दिइरह्यो बारम्बार। बाध्य भएर उनीहरु पुनः भृकुटीमण्डतर्फ लागे।

‘देशको हित र एकताका लागि हामी भेला भएर आफ्ना अभिव्यक्ति सार्वजनिक गर्न पाइरहेका छैनौँ,’ इतिहासविद् चेतेन्द्रजंग हिमालीले भने, ‘हामीलाई हाम्रो माटोको माया गर्न पृथ्वीनारायण शाहले सिकाएका थिए।’

टुक्राटुक्रामा विभाजित राज्यहरुलाई एक बनाउने काम उनीबाट नभएको भए नेपालको यो स्वरुपमा नरहने उनले बताए। प्रान्तीय संरचनाप्रति लक्षित गर्दै उनले भने थपे, ‘अहिले फेरि मुलुकलाई विभाजित गर्ने धन्दा सुरु भएको छ। सिके राउतजस्ता मानिस जन्मिएका छन् यो देशमा। विखण्डनको बाटो फेरि सुरु हुँदै छ। सात टुक्रामा मुलुक विभाजित भइसक्यो।’

कार्यक्रममा सहभागी नेपाल विद्वत परिषदका केन्द्रीय सदस्य यदुमन शाहले सरकारले राष्ट्रिय एकता दिवसको महत्व नबुझेको भन्दै आक्रोश व्यक्त गरे। पृथ्वीनारायण शाहको उपदेशलाई वर्तमान पुस्ताले आत्मसात गर्न सकेमा मात्रै उनको योगदानको सम्मान हुने उनको निष्कर्ष थियो।

‘पृथ्वीनारायण शाहले नेपाल बनाए र नेपालीपन बचाए विदेशीबाट। हाम्रो विशिष्ट पहिचान उनकै कारणले भयो। आज उनलाई नै हामी हेपेका छौँ। शासकले ओझेलमा पारेको छ,’ उनले भने।

अन्तर्राष्टिय हस्तक्षेप र विदेशी चलखेल बन्द गरौँ

राष्ट्रियता का पक्षधर उनीहरुले नेपालको स्वतन्त्रतामाथि पछिल्लो समय धावा बोल्नेहरु बढेको बताए सहभागीहरुले। धर्म र विभिन्न आर्थिक प्रलोभनमा अन्तर्राष्ट्रिय शक्तिहरुले नेपालमाथि हस्तक्षेप गर्नेक्रम बढेको भन्दै विदेश चलखेल रोक्नुपर्ने माग सहित नाराबाजी भयो।

राष्ट्रपति भण्डारीले पृथ्वीनारायाणको शालिकमा माल्यार्पण गर्नेक्रममा पृष्ठभूमिमा कतिपयले ‘राजा आऊ देश बचाऊ’, ‘राष्ट्रिय एकता जिन्दावाद जस्ता नारा लागे र, वर्तमान पुस्तामा राष्ट्रियता, इतिहास र पुर्खाको मेहनतको कदरको विकल्प नभएको सन्देश दिने प्रयास समेत गरे उनीहरुले।

उता कीर्तिपुरस्थित भत्केपाटीलाई पृथ्वी जयन्तीमा सामेल स्थानीय नागरिकले ‘पृथ्वी चोक’ को नाम राख्ने निर्णय गरेका छन्।

तस्बिरहरु: दीपा दाहाल

पुस २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्