अस्ट्रेलियामा भोलिदेखि एकदिवसीय शृंखला खेल्दै भारत, दबदबा बनाउने योजना

एकदिवशीय शृंखलाको उपाधिसहित शुक्रबार दुवै टोलीका कप्तान

मेलबर्न- पहिलोपटक अस्ट्रेलियामा टेस्ट क्रिकेट शृंखला जितेर उच्च मनोबलमा देखिएको भारतले शनिबारदेखि घरेलु टोलीसँग एकदिवशीय शृंखला पनि सुरु गर्दै छ। भारतले चार खेलको टेस्ट शृंखला २-१ ले जितेको थियो।

अस्ट्रेलियामा टेस्ट क्रिकेट खेल्न थालेको ७१ वर्षपछि भारतले त्यहाँ टेस्ट शृंखला जितेको हो। यसै वर्ष एकदिवशीय विश्वकप पनि हुन लागेकाले विश्वका दुई महारथी टोलीबीच वर्षको सुरुवातमा हुन लागेको यस भिडन्तलाई चासोपूर्वक हेरिएको छ। विश्वकपका पछिल्ला दुई संस्करणमध्ये भारतले सन् २०११ र अस्ट्रेलियाले सन् २०१५ मा उपाधि जितेको थियो। आगामी एकदिवशीय विश्वकप मे ३१ तारिखदेखि इङ्ल्यान्डमा सुरु हुँदै छ।

करिब दुई वर्षयता अस्ट्रेलियाले खेलेका २४ एकदिवशीय खेलमध्ये केवल तीनवटामा मात्र जित हात पारेको छ। गत वर्ष बल बिगारेको आरोपमा दुई महत्वपूर्ण खेलाडी डेभिड वार्नर र तत्कालीन कप्तान स्टिभन स्मिथलाई प्रतिबन्धका कारण गुमाएको अस्ट्रेलियाले त्यसयता कुनै पनि शृंखला जित्न सकेको छैन।

पछिल्ला पाँच एकदिवशीय खेलमा अस्ट्रेलियाले चार हार र एक जितको नतिजा निकालेको छ भने भारतले तीन जित, एक हार र एक बराबरीको नतिजा निकालेको छ।

शृंखलाअन्तर्गत पहिलो खेल शनिबार सिड्नी क्रिकेट मैदानमा हुने छ। सिड्नीमा खेलिएको अन्तिम एकदिवशीय खेलमा भारतले अस्ट्रेलियालाई हराएको थियो। सन् २०१६ मा भएको उक्त भिडन्तमा भारतले तीन सय ३१ रनको लक्ष्य पुरा गरेको थियो। सिड्नीमा यी दुई टोलीबीच भएका पछिल्ला १६ एकदिवशीय खेलमा अस्ट्रेलियाले १३ जित र भारतले तीन जितको नतिजा निकालेको छ।

भारत र अस्ट्रेलियाबीच तीन खेलको शृंखला हुने छ।

पुस २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्