जाँच नभइ आउँछ भारतबाट दूध

नेपालगञ्‍ज-भारतबाट नेपालगञ्जमा दिनमा कति लिटर दूध आउँछ र त्यो दूध कत्तिको गुणस्तरीय होला? यो प्रश्नको जवाफ कोहीसँग छैन।
भारतबाट आउने दूधको गुणस्तर जाँच्न नाकामा क्वारेन्टाइन कार्यालय राखिएको छ।

कार्यालयसँग दूधको गुणस्तरीय जाँच्ने उपकरण नहुँदा भारतबाट मनोमानी तरिकाले दूध भित्रिरहेको हो। क्वारेन्टाइन नेपालगञ्जका प्रमुख डा. शितलबाबु श्रेष्ठले भारतबाट जाँच नभई दूध भित्रिरहेको बताए।

‘दूधको गुणस्तरीय जाँच्न हामीलाई मिल्क एनालाइजर चाहिन्छ। त्यो हामीसँग छैन, क्वारेन्टाइन प्रमुख श्रेष्ठले भने, हामीसँग ल्याक्टोमिटर छ। त्यो पनि भरपर्दो छैन ’

क्वारेन्टाइन प्रमुख श्रेष्ठका अनुसार, अहिले भारतबाट भित्रिने दूध बिना जाँच घरघरमा पुग्ने गरेको छ। कार्यालयसँग दूध जाँच्ने उपकरण नभएकाले व्यवसायीले पनि त्यहाँ सम्पर्क नगरेर सोझै घरघरमा दूध पुर् याइरहेका छन्।

भारतबाट भित्रिने दूधको गुणस्तर राम्रो नभएको भन्दै बेलाबेलामा आवाज उठ्ने गर्दछ। नाकामा सशस्त्र प्रहरीले पनि दूधको गुणस्तरीयता जाँचेर मात्रै भित्र्याउन केही दिनदेखि भारतीय व्यवसायीलाई सम्झाउने काम गरिरहेको छ।

क्वारेन्टाइन कार्यालयका अनुसार, नेपालगञ्ज नाकाबाट दैनिक एक हजार तीन सय लिटर दूध भारतबाट भित्रिरहेको छ। भारतबाट भित्रिने दूध बजारको घरघरमा पुग्नुका साथै रावडी, दही बनाउन प्रयोग भइरहेको छ। भारतबाट भित्रिने गुणस्तरहीन दूधबाट बनेका परिकार खाना कत्तिको उपयुक्त होला ? खाद्य अधिकार र उपभोक्ता हितका कुरा गर्नेहरुले बुझ्न सकेका छैनन्।

नेपाली दूध व्यवसायीहरुले भारतबाट भित्रिने दूध गुणस्तरहीन हुने गरेको दावी गर्छन्। मनिकापुरका आज्ञाराम महतो र होलियाका विश्राम यादवले भारतबाट भित्रिने दूधलाई राम्ररी जाँच गरेर मात्रै भित्रिन दिनु पर्ने बताए। उनीहरुले जथाभावी रुपमा भित्रिने भारतीय दूध बन्द गर्नुपर्ने बताए।

महतो मनिकापुरबाट दैनिक ४० लिटर दूध बोकेर नेपालगञ्ज आउँछन्। घरघरमा ठेक्कामा दूध बेचेर फर्किन्छन्। होलियाका यादव पनि दैनिक ६० लिटर दूध बोकेर नेपालगञ्ज आउँछन्। र, घरघरमा दिएर जान्छन्।

महतोले ७ वटा र विश्रामले चार वटा भैसी पालेका छन्। महतो र यादवले आफूहरुले ल्याउने दूध गुणस्तरीय हुने दावी गरे।
सीमावर्ती जिल्ला भएकाले बाँकेमा भारतबाट दूध भित्रिने गर्दछ। राप्तीपारीका केही गाउँबाट नेपाली दूधसमेत भारततिर जाने गर्दछ।

सीमावर्ती जिल्ला भएकाले उताको यता र यताको उता दूध जानु स्वभाविकै भएपनि जाँच गरेर भित्रिन दिनु पर्ने आवाज उठ्दै आएको छ।

मानिसको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको दूधको गुणस्तर जाँच नभई भित्रिन दिनु र क्वारेन्टाइन कार्यालय भएर पनि दूधको गुणस्तरीय जाँच गर्ने उपकरण नहुनु लाजमर्दो भएको सम्बद्धहरु बताउँछन्।

पुस २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू