टाउकोमा किक हान्ने थोमस मुलरमाथि लाग्यो प्रतिबन्ध

जर्मन क्लब बार्यन म्युनिखका फरर्वाड थोमस मुलरले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ का दुवै खेल गुमाउने भएका छन् । बार्यन म्युनिखले च्याम्पियन्स लिगको अन्तिम १६ मा इंग्लिस क्लब लिभरपुलसँग खेल्दैछ ।

बार्यनका मुलरमाथि दुई खेलको युरोपियन प्रतिबन्ध लागेको छ, यसले गर्दा उनले च्याम्पियन्स लिग अन्तिम १६ का दुवै लेग गुमाउने भएका हुन् । गएको डिसेम्बरमा भएको समूह चरण अन्तर्गत अजाक्ससँगको खेलमा २९ वर्षका मुलरले रातो कार्ड पाएका थिए ।

अजाक्सका निकोलास ताग्लिएफिकोको टाउकोमा किक हानेकोमा मुलरले रातो कार्ड पाएका थिए । त्यो खेलमा बार्यन ३–३ को बराबरीमा रोकिएको थियो । जर्मनीका मुलरले च्याम्पियन्स लिगका १०७ खेलमा ४२ गोल गरेका छन् ।

उनले आफूमाथि लगाइएको प्रतिबन्धविरुद्ध अपिल गरेका छन् । बार्यनले अन्तिम १६ पहिलो लेगमा लिभरपुलसँग उसकै मैदानमा आउँदो फेब्रुअरी १९ मा खेल्ने छ । यस्तै दोस्रो लेग मार्च १३ मा बार्यनको मैदानमा हुनेछ ।

उनी अजाक्ससँगको खेलमा रातो कार्ड पाएर मैदानबाट बाहिरिए, उनको खेल जीवनमा यस्तो पहिलोपटक भएको थियो । उनले सामाजिक सञ्जालमा घटना मनसाययुक्त नरहेको बताएका थिए ।

पुस २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्