पाहुनाका लागि खानाको तयारी गर्दै गरेकी राधा खड्का । तस्बिर : बर्षा शाह/देश सञ्चार

चितवन (घटगाईँ) – उमेर दुई बिस पुग्न लाग्यो । उर्जा भर्खर २० को आसपासका युवाको जस्तो छ । र जाँगर अटुट छ । उनले हाँस्न जानेकी छन्, भित्र जस्तो हुण्डरी चले पनि । किनकी उनको पेशा नै यस्तै छ, पाहुनालाई स्वागत गर्ने । उनीहरुको ख्याल गर्ने र रमाइलो परिवेश सिर्जना गर्ने ।

चितवनको घटगाईँकी राधा खड्का पर्यटन व्यवसायमा छिन् । त्यो भन्दा पनि उनी सत्कारको कर्ममा छिन् भन्दा उपयुक्त हुन्छ । कुरा गर्दै जाँदा उनले आफ्नो उमेर ३९ वर्ष पुगेको बताएकी थिइन् । अनि कुरैकुरामा थाहा लागेको थियो कि उनले बिहे गरेकी छैनन् वा बिहे गर्ने फुर्सदै मिलेन ।

राधाले चलाउन त ‘रिभर भ्यू लज एण्ड रेस्टुरेन्ट’ नाममा व्यवसाय गर्दै आएकी छन् । तर उनको लजमा पुग्ने पाहुनाले लज भन्दा घरको अनुभव गर्छन् । आत्मियता पाउँछन् । राधा मुस्कुराउँदै सबैलाई आफ्नो सत्कारको जीवनमा समाहित गर्छिन् । उनको लज होमस्टे त होइन, तर होमस्टेको जस्तो ‘स्वाद’ भने दिन्छ।

एसएलसीसम्मको पढाई गरेकी राधाले सानैदेखि बुवाआमालाई होडल सञ्चालनमा सहयोग गर्दै आएकी थिइन् । यहि कारण हुन सक्छ उनमा पाहुनाको स्वागत–सत्कार गर्ने बानी बस्यो । अनि १५ वर्षअघि उनले आफ्नै काँधमा जिम्मेवारी लिएर सञ्चालन गर्दै आएकी हुन् यो लज ।

राधाको लजमा विदेशी पाहुना पुग्छन् । उनको हातबाट बनेका परिकारको स्वाद लिन्छन् । कोही भान्छामै पुगेर उनले पाउँदै गरेको हेर्छन् । कोही पाककला सिक्न खोज्छन् । रमाउँछन् उनीहरु र राधालाई पनि रमाइलो लाग्छ । स्वदेशी पाहुनाहरु पनि पुग्छन्, अनि उसैगरी रोमाञ्चित हुन्छन् । सानातिना अप्ठ्याराहरु आउँछन् र ति टर्दै पनि गएका छन् ।

राधाकोमा पुग्ने पाहुनाहरु अधिकांश सौराहको बसाईपछि त्यहाँ पुगेका हुन्छन् । उनले सकेसम्म आफ्नै उत्पादनहरुका परिकार पाहुनालाई पस्किन्छिन् । उनले काममा सघाउनका लागि काम गर्ने सहयोगी पनि राखेकी थिइन् । तर उनी विदेशी पाहुनासँगै बिहे गरेर गएपछि अहिले राधा एक्लैले सबैकाम भ्याउँदै आएकी छन् ।

सबै काम आफैले गर्ने भए पनि उनलाई गाह्रो भने लागेको छैन, आफ्नै ठाउँमा आँटले गरेको सत्कारको पेशामा राधाको मन बसेको छ र कर्म त्यहि अनुसार चलेको छ ।