संगीतकर्मी बर्तिका एम राई । तस्बिर : प्रभात खनाल/देश सञ्चार
एक युवतीको सांगीतिक सफर

बर्तिका एम राई : सपना, रहर र अनुभूतिको यात्रा

चिट्ठी लेखेकी छैनन्, तर उनले बाँचिरहेको जीवनको जग चिट्ठीहरुमा बसेको छ । खाम बन्द चिट्ठी खोल्दै गर्दाको कौतुहलता, उत्साह अनि लाजमा उनी हुर्किइन् र अहिले बाँचेको जीवनको परिधी बनाइन् ।

बर्तिका एम राईका लागि चिट्ठीहरु साँचो अर्थमा जीवन बनेका छन्, जो उनलाई आमाले पठाउने गर्थिन् । आमालाई आदरले आमाजी भन्छिन् । हुर्किँदै गर्दा परिवारले सिकाएको आमाजी सम्बोधन अहिले उनका लागि भिडमा अलग पहिचान बनाउने एक बलियो माध्यम बनेको छ ।

हुलहरुमा बर्तिकालाई स्पष्ट देखाउने कारण उनको संगीतकर्म, र संगीत सिर्जनाका स्रोतहरु उनले खोलेका चिट्ठीहरु, बाँच्दै आएको समय र परिवेशहरु हुन् ।

बर्तिका नेपाली संगीतका ती प्रेमीहरुमा प्रिय छन् जो भोग्दै आएका दैनिकीहरुको सरल रुपमा प्रस्तुत कथामा रुची राख्छन् । बर्तिकाले गीत आफै लेख्छिन्, संगीत सिर्जना गर्छिन् अनि गाउँछिन् । संगीतकर्मको समग्रताको नाम बर्तिका बनेको छ ।

उनको समग्रतालाई सुन्नेहरुले आफ्नै भावनाहरुको प्रस्तुतिका रुपमा स्वीकार गरेका छन् । केही समयअघि आफ्ना गीतहरु मार्फत आफूसम्म जोडिएकाहरुसँगको प्रत्यक्ष भेटको यात्रामा थिइन् बर्तिका ।

अमेरिका बस्दै आएकी बर्तिका गएको महिना आफ्नो संगीतको यात्रा ‘घर’ लिएर नेपाल आएकी थिइन् । घर यात्रामा बर्तिकाले ‘फ्यान’, शुभचिन्तका मनहरुमा आफ्नो घर अझ बलियो बनाएर गइन् ।

घर यात्राले सुरु गरेको अर्को सम्भावना र उत्साहको बाटो लिएर अमेरिका फर्कनु केही दिनअघि हामीसँग भेट हुँदा बर्तिकामा उनको बिगतको कथा उस्तै ताजा थियो ।

उनले बिताएको समय र परिवेशको स्थान उनमा उस्तै थियो, जस्तो उनको सम्बन्ध चिट्ठीहरुमा छ ।

अति सरल तथा सहज रुपमा प्रस्तुत भएकी बर्तिकाले आफ्ना सम्झना, सपना, रहर, भय अनि आँटका पोका फुकाउँदै गइन् र भनिन्, ‘मलाई सपनाको माया छ, रहर प्रिय लाग्छन् र यथार्थबारे पनि ख्याल छ । हाँसोहरुको माया छ अनि आँसुहरुप्रति पनि उस्तै आदर छ ।’

चिट्ठीहरुमा गाँसिएको स्मृति


बर्तिकालाई नेपाली भाषा–साहित्य र समग्रमा जीवन अर्थको बाटोमा बलियो गरेर हिँड्न सिकाउने उनकी आमा देविका चाम्लिङ्ग हुन् । उनले सन्तानलाई जहिले पनि ज्ञानको खुराक दिएर हुर्काइन् । बर्तिकालाई अझै पनि स्पष्ट सम्झना छ, बुढानिलकण्ढमा स्कूल पढ्दाको त्यो समय ।

जुन बेला आमाजी स्कूलको गेटसम्मै आएर पनि नभेटी जान्थिन् । ‘साथीहरुका आमा–बाबा स्कूलमा भेट्न आउँथे । अरु के के चिज ल्याइदिन्थे । हाम्रो आमाजी चाहिँ गेटसम्म आएर पनि नभेटी जानुहुन्थ्यो । उहाँले जहिले चिट्ठी छोड्नु हुन्थ्यो ।’

चिट्ठीमा आमाजीले भव्य अर्थसहितका भाषाको प्रयोग गरेकी हुन्थिन्, जसको अर्थ अहिले पनि उनलाई स्पष्ट रुपमा वा साँचो अर्थमा बुझ्न र त्यसलाई अपनाउन शायद त्यति सजिलो छैन । चिट्ठीहरुको कुरा गर्दै जाँदा विगतमा फर्किएकी बर्तिकाले कुरा गर्दै जाँदा रमाइलो स्मृति सुनाइन् ।

‘शायद ९–१० वर्षको थिएँ, आमाजीले स्कूलको गेटमा छोडेको चिट्ठी पढ्न थालेका थियौँ, साथीहरु पनि आमाजीले पठाएको चिट्ठी रमाइलोका लागि पढ्न आउँथे । चिट्ठीमा उहाँले, अन्तरावलोकन भन्ने शब्द उल्लेख गर्नु भएको थियो । अवलोकन थाहा थियो तर अन्तरावलोकनको अर्थ थाहा भएन । त्यति सानैमा हामीले भव्य शब्दहरु सिक्दै आयौँ ।’

अन्तरावलोकनको अर्थ उनले त्यो बेला स्पष्ट रुपमा थाहा पाइनन् र आमाजीलाई सोधिन् । अहिले आएर लाग्छ कि, आफ्नो भित्र अवलोकन अर्थात अन्तरावलोकन राम्रोसँग गर्न त ज्यादै कठिन तर अत्यावश्यक रहेछ । यसैले उनलाई आमाजीका चिट्ठीहरुसँग सपनाहरुसँग जस्तै प्रेम छ ।

हुन त सधैँ प्रिय कहाँ लागेका हुन् र ती चिट्ठीहरु । उनलाई स्कूलमा साथीका अभिभावकले अरु चिज ल्याइदिँदा आफ्नी आमाजीले पनि त्यस्तै केही ल्याइदिए हुने भन्ने लाग्थ्यो पनि । तर उनलाई आमाजीले लेख्ने चिट्ठीहरुको क्रम टुटेन । ‘उ बेला पढ्यो, साथीहरुसँग हाँस्यो अनि चिट्ठीहरु कतै मिल्कायो । अहिले ती चिट्ठीहरु राख्न पाएको भए वा फेरि पढ्न पाए हुन्थ्यो जस्तो हुन्छ । ख्यालै भएन, अहिले स्मृतिहरु मात्रै छन् ।

भावनाहरु छन् । चिट्ठीहरु छैनन्, तर तिनीहरुले दिएका जीवन सिकाइहरु जोगाइ राख्ने प्रयासहरु छन् ।’ यसो भनेकी बर्तिकाले आफू अहिले जे छु र जे गरिरहेको छु त्यसको आधार आमाजीका चिट्ठीहरु र त्यसले देखाएका र सिकाएका सपनाहरु हुन् भन्न छुटाइनन् ।

संगीतसँगको नाता


चिट्ठी र त्यसबाट पाएको जीवन सिकाईको कुरा आएर उनको संगीतमा जोडियो । आमाजीले चिट्ठी लेख्न छोडेकी छन् । तर अहिले पनि कुराहरु भन्न चाहिँ छोडेकी छैनन् ।

बर्तिकालाई आफूले गीत गाउन सक्छु जस्तो कहिले लागेन हुर्किने क्रममा । भनिन्, ‘हामी सांगीतिक परिवारबाट होइन औपचारिक रुपमा, तर हाम्रोमा संगीत जीवित थियो । आमाजी र सानीमाहरु सबै गाउनु हुन्थ्यो । अन्ताक्षरी खुब खेल्नु हुन्थ्यो । त्यसले गर्दा नेपाली गीत संगीतमा रुची बढ्यो ।’

‘हिन्दी गीतहरु पनि निकै सुनियो । सबैले गाउने, मलाई चाहिँ लागेन कि म औपचारिक रुपमै गायिकाको परिचय बनाउन सक्छु भन्ने ।’
बर्तिकालाई आमाजीसँगै रेडियोमा बजेका गीतको शब्दहरु लेखेको याद छ । अनि त्यो स्मृतिमा छाप्यो, यसरी धेरै गीतहरुको संग्रह आफूमा गरेको अनुभव बर्तिकाले सुनाउँदा उनी त्यहि बेलातिर फर्किन खोजेजस्तो देखिइन् ।

उनलाई आफूले गाउन सक्छु जस्तो बुढानिलकण्ड स्कूलमा आएपछि मात्र लाग्यो । स्कूलमा ‘ट्यालेन्ट शो’ भइरहने हुँदा उनमा रहेको गायिकाले ढोका खोल्ने मौका पायो । गुनगुनाउने बर्तिका स्कूलका कार्यक्रममा गाउने भइन् । उनले गाइन् तर सजिलो भएन । भनौँ ‘लाज’ र संकोचको बिचमा क्षमता द्विविधामा रह्यो केही समय ।

यहाँ लाजको कुरा अरुको अगाडि गाउनमा होइन । उनले गाउने र जानेका गीतहरुमा थियो । स्कूलका साथीहरुले अंग्रेजी गीतहरु सुन्ने र गाउने । बर्तिकासँग भने नेपाली र हिन्दी पुराना गीतको स्मृति । केही साथीहरुले अंग्रेजी गीत गाए, स्कूलमा उनीहरुको ‘चाम’ छुट्टै त्यसले बर्तिकालाई अचम्म लाग्दो गरी लाज लाग्यो । अनि सुन्न थालिन् अंग्रेजी गीतहरु । र पनि मन भने नेपालीबाट टाढिएन ।

अहिले ती समय र परिवेशको सम्झना गर्दा उनले लाज लाग्नु पर्ने कारण भेट्दिनन् । भनिन्, ‘११–१२ वर्षको थिएँ होला, मलाई लाज लाग्यो अचम्मको । अनि अंग्रेजी गीत सुन्न थालेँ । हुन त मलाई भाषाहरु प्रिय लाग्छन् । तर अहिले लाग्छ मलाई लाज लाग्नु पर्ने थिएन । समय बितिसक्यो ।’

अबको पुस्ताले कम्तिमा आफूले मानेको जस्तो लाजको यात्रा गर्नु नपरोस् भन्ने चाहना बर्तिकासँग छ । यसले उनी आफ्ना गीतहरुलाई जस्तो जमातमा पनि बिना दकस प्रस्तुत गर्न सक्ने बनाउन चाहिन्छन् र त्यहि प्रयासमा छिन् ।

बर्तिका गीतहरुको जन्म


उनले स्कूलबाट सुरु गरेको गायन यात्राले हुर्किँदै गर्दा नेपाली संगीतको क्षेत्रमै केही गर्नु भन्ने अवस्था लिएको थियो । गाइरहेकी पनि थिइन् । २१ वर्षको हुँदा सन् २०१२ मा उनी स्नातकतहको अध्ययनका लागि अमेरिका गइन् । त्यसले उनको संगीत यात्रालाई नयाँ मोड दियो ।

जीवन पूर्णतः फेरियो । सानैदेखि आमाजीबाट सिकेको र आफूलाई पनि हुर्किँदै जाँदा गर्व गर्न लायक कुरा बर्तिकाका लागि उनको आत्मनिर्भरता थियो ।

अमेरिका गएपछि त्यसले बाटो छोडेजस्तो लाग्यो । झण्डै ६ वर्षअघिको सम्झना गर्दा बर्तिकालाई अहिले पनि गाह्रो भएजस्तो देखिन्थ्यो ।

उनले भनिन्, ‘अमेरिका गएपछि जीवन अकस्मात परिवर्तन भयो, जुन कुरा मेरा लागि स्वीकार्य थिएन र विकल्प पनि केही थिएन । पानीको बोटल किन्न कहाँ जाने भन्ने पनि थाहा थिएन । मैले सबै कुराको रि–म्याप गर्नु पर्‍यो । सबै कुराका लागि सहयोग माग्नु पर्‍यो । जुन म हुँदै होइन ।’

अमेरिका बसाईको सुरुका वर्षहरुले उनलाई एक्लो महसुस गराए । एक्लो बनाए । अनि त्यो जीवनको अनुभवले नयाँ कुरा दिएर गयो । अरुका भावना, अरुका शब्द गाउँदै आएकी बर्तिका आफ्नै भावनाहरु आफ्नै शब्दमा उतार्न र त्यसलाई गाउन सक्ने भइन् ।

बर्तिकाले आफ्ना गीतहरुको जन्मको कथा बताइन्, ‘मेरा गीतहरु मैले बाँचेको परिवेश, समय र मसँग जोडिएका अनुहारहरुको संग्रह हो । एक अर्थमा मैले बाँचेको समयको संग्रह हुन् मेरा गीतहरु । अमेरिका बसाई र जीवन हुर्किने क्रममा सिकेका कुराहरुले मलाई आफ्ना भोगाइहरुलाई गीतका रुपमा संग्रहित गर्न सक्ने बनायो ।’

उनका गीतहरुमा रहरका कुरा छन्, सपनाका कुरा छन् । यथार्थ र त्यसका अप्ठ्याराहरु पनि उनका गतिमा समेटिएका छन् । आफ्नाहरु छन्, पराइ भएकाहरुको सम्झना पनि उनका गीतमा समेटिएका छन् । आफ्ना भोगाइका लयबद्ध अभिव्यक्तिको उनका गीतका रुपमा जन्मिए ।
अनि गरिन् रहरको कुरा

बर्तिकाले कुराहरुको पोको फुकाउँदै जाँदा रहरहरु पूरा नहुँदा वा सपनाहरु टुट्दा लाग्ने बेमज्जाको कुरा उठाइन् । आँसुको कुरा गर्दा उत्साहित भएकी उनले भनिन्, ‘मलाई आमाजीले रुनु हुँदैन भन्नु भएन, मलाई रुन लाज लाग्दैन । आँसुहरु पनि प्रिय छन् ।’

उनलाई सपनाहरुको पनि माया छ उसैगरी र देख्छिन् सपनाहरु । आमाले पनि सपना देख्न बन्देज नगरेको भन्ने बर्तिकालाई आमाका सपनाहरु पूरा गर्ने सपना छ । उनले गीतहरुमा ती सपनाहरुलाई स्थान दिएकी छन् । र अबको यात्रा आफूसँग जोडिएका वा बिग्रह भएका सपनाहरु तथा रहरहरुको बाटोमा यथार्थको धरातलमै पाइला टेकेर गर्ने मन छ ।

आफूलाई राम्रोसँग कथा भन्ने भन्दा अनुभवको कथा गीतहरुमा लेख्न सक्ने रुपमा अर्थ्याएकी बर्तिकाले हामीसँगको भेटमा आफ्ना भोगाइहरुको क्रम बिस्तारमा बताइन् ।

सपनाहरुको कुरा गर्दा रोमाञ्चित भइन् । अनि अझै गर्नु छ र बाँच्नु छ जीवनका सजिला–अप्ठ्याराहरु भन्दै मुस्कुराउँदै बिदा भइन् ।

उनले छुट्टीले बेला भनेकी थिइन् ‘मैले अनुभुतिका परिवेशहरुको संग्रहको यात्रा जारी रहनेछ, किनकी संगीतमा मेरा अनुभुतिहरुले जीवन पाउँछन् र यसले मलाई जीवित राखेका छन् ।’

सबै तस्बिरहरु : प्रभात खनाल/देश सञ्चार

पुस २८, २०७५ मा प्रकाशित