घुमफिर

इलामको झल्को दिने ल्वाङ चिया बगान!

पोखरा – एक साताअघि पोखरा विश्वविद्यालयमा बिबिए पढ्दै गरेकी पोखरा २७ निवासी मिना क्षेत्री साथिहरु सहित ल्वाङ पुगिन् । शुक्रबार साँझ हरिचोकहुँदै २० किलोमिटर उत्तरतर्फको यात्रा पार गरेर ल्वाङ पुगेका उनीहरु होमस्टेमा बास बसे ।

भोलिपल्ट शनिबार बिहानै सूर्योदय नहुँदै ल्वाङकै अन्नपूर्ण चियाबारी हेर्न गाउँबाट २० मिनेट ठाडै उकालो लागे । बगानमा पुग्दा नपुग्दै उकालो चढ्दाको थकाई मार्न सुस्केरा हाल्दै थिए, माछापुच्छ्रेको कापबाट उत्तरहुँदै घामका किरणले चियाको पातमा लाली भर्यो । सुस्ताउनै नपाई ब्यागबाट क्यामेरा नझिकी धरै पाएनन् उनीहरुले । थकाई पलभरमै नासियो । केहीबेरको बसाईमा नै सय भन्दा बढि तस्बिर कैद गर्न भ्याए । अनेकथरी भावभंगीमा ।

आठजनाको संगोलमा पुगेका उनीहरुले चियाबारीमा धित मरुन्जेल फोटो खिचाए । इलामको कन्याम चियाबारी सयर गर्न भ्याइसकेकी ग्रुपमै सम्मिलित पोखरा ३१ निवासी स्मृति तिवारी, ठ्याक्कै इलामको झल्को आएको भन्दै फुर्किइन् ।

विसं २०५३ साउन ६ गतेबाट चिया रोप्न थालिएको अन्नपूर्ण चियाबारी ल्वाङ आन्तरिक पर्यटकको नजरमा पर्न थालेको छ । बगानबाट वार्षिक २ हजार केजी चिया उत्पादन हुन्छ । चियाबगानले गाउँमा पर्यटकीय गतिविधिलाई राम्रै भरथेग त गरेकै छ, त्यसको अर्को सुगम पाटो भनेको १ सय १४ जना स्थानीयलाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गरिदिएको छ ।

३५ हेक्टरमा फैलिएको चिया बगान घुमेर साउती मार्न र कामको बोझ बिर्सन पोखरा लगायतका स्थानबाट ल्वाङ उक्लिनेको संख्या उल्लेखनिय छ । मादी नदीको तिरैतिर, पहरा, खोल्सा छल्दै पिकअप जिपमा ल्वाङ पुग्न कस्सिने युवामात्रै छैनन्, विभिन्न सामाजिक संघसंस्थाका अगुवाहरु पनि छन् । शुक्रबारको साँझ यहाँको होमस्टे भरिन्छन् । साँझ सांगीतिक रमझम उपस्थित पर्यकटकालागि विशेष सत्कार हो । त्यसकारण पनि केहिदिन अगावै सामुदायिक होमस्टेसँग सम्बन्धित व्यक्तिसँग ल्वाङ आउन चाहेको जानकारी नगराए बास पाइँदैन ।

माछापुच्छ्रे गाउँपालिका वडा ८ मा अवस्थित पर्यटकीय गाउँ ल्वाङ पुग्नेलाई चियाबारी मात्रै नभई त्यहाँको मौलिक गुरुङ जातिको रहनसहनसँग साक्षात्कार गराउँछ । प्रकृति र संस्कृतिको बेजोड मिश्रण हो ल्वाङ गाउँ ।

व्यवसायिक पर्यटनको थालनी पर्यटकको आगमनसँगै बढेको छ । माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी सहितका हिमश्रृंखलाको मुस्कानले त्यहाँ पुग्ने जो कोहीलाई मग्न बनाउँछ । बास बस्न र रम्न चाहने पर्यटकलाई लक्षित गर्दै ल्वाङमा विगत ९ वर्षदेखि होमस्टे हुँदै आइरहेको छ । पारिवारिक वातावरणमा टिपिकल खाना (गाउँले भान्सामा तयार गरिएको) र बस्नको राम्रो व्यवस्था मिलाइएको छ ।

ल्वाङमा १ सय ७० घरधुरी भएपनि कुल १२ घरमा मात्रै सामुदायिक होमस्टे सञ्चालन गर्दै आइरहेको ग्रीनहिल युवा क्लबका अध्यक्ष तथा होमस्टे सञ्चालक दीपक गुरुङले सुनाए । उनको भनाईअनुसार हरेक हप्ताको शुक्रबार होमस्टेमा थेग्न नसक्ने गरी आन्तरिक पर्यटकहरु गाउँ उक्लने गरेका छन् । ‘पर्यटकले हेर्ने भनेको चियाबारी, गुरुङ समुदायको रहनसहन, संस्कृति नै हो,’ उनले भने, ‘हामी पनि यहि मौका छोपी होमस्टे व्यवस्थापनमा जुटेका छौं ।’ गाउँमै आटो, पिठो, रोटो खाएर मेला पात गर्दै बिहान बेलुकीको समय होमस्टेबाट सन्तोषजनक आम्दानी भइरहेको उनको भनाई छ । गाउँमै बसेर जिविकोपार्जन हुने आम्दानी भइरहेकाले विदेशीनु पर्ने सुर्ता आफूमा नरहेको उनले सुनाए ।

हरेक होमस्टेमा १५ जना भन्दा बढि आन्तरिक पाहुनाहरु अट्न सक्ने क्षमतामा व्यवस्थापन गरिएको छ । ल्वाङमा बास बस्नेगरी पोखरा, दमौली, बुटवल, काठमाडौं, चितवन लगायतका स्थानबाट मानिसहरु पुग्ने गरेका छन् । पहिलोपटक ल्वाङमा पाइला टेकेका पोखराका सामाजिक अगुवा हिमालय बख्रेलले गाउँको आतिथ्यले मन छोएको बताए । ‘ल्वाङको सांस्कृतिक उत्सव सहितको पाहुनालाई स्वागत गर्ने संस्कार राम्रो लाग्यो,’ उनले थपे, ‘नेपाली समाजको अतिथि देवो भवः भावना यहाँ आएर महसुस भयो ।’

होमस्टे आउने पाहुनाहरुलाई विशेष प्याकेज बनाई खाने, बस्ने व्यवस्था मिलाएको छ । ल्वाङ सामुदायिक होमस्टे समितिले आन्तरिक पर्यटकका लागि एक रात बास, दुई छाक खाना र बिहानमा खाजा सहित प्रतिव्यक्ति ९ सय २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । त्यस्तै, विदेशी पर्यटकका लागि सोही सुविधामा १ हजार २ सय रुपैयाँ शुल्क तोकेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)भित्र पर्ने ल्वाङ गाउँ पुग्ने विदेशी पर्यटकको संख्या भने न्यून हुँदै गएको स्थानीयको गुनासो छ । पछिल्लो एक्यापले प्रत्येक विदेशी पर्यटकका लागि प्रवेश शुल्क ३ हजार रुपैयाँ तोकेसँगै आवागमन रोकिए जस्तै बनेको हो ।

पोखराबाट हिड्दै केही दिन बसाईका लागि ल्वाङ पुग्ने विदेशी पर्यटक आउनै छाडेको मसेकुकोट आमा समूहकी अध्यक्ष तथा होमस्टे सञ्चालिका डम्मर कुमारी गुरुङले सुनाइन् । एक्यापबाट विदेशी पर्यटकका लागि लिइने दस्तुर घटाउन होमस्टे समिति र स्थानीयले पहल गरेपछि कुनै सुनुवाई भएको छैन ।

शब्द तथा सबै तस्बिर: ईश्वर देवकोटा

पुस २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्