सुधारगृहबाट प्रहरी र माइती नेपालले जबर्जस्ती घर पठाएकी एक युवतीको आक्रोश

प्रहरी र माइती नेपालले हामीप्रति देखाएको त्यो सम्वेदनहीनता!

म एक पढेलेखेकी युवती। आजभन्दा १७ महिनाअघि म मेरा हितचिन्तक र आफन्तको सहयोगमा बुढानिलकण्ठमा रहेको ‘कृपा घर’मा पुगेँ। जीवनमा मानिसका आआफ्नै गल्ती र कमजोरी हुन्छन्। मेरो जीवनमा पनि ती अपवाद हुने कुरा भएनन्। म पनि कुलतमा नजानिँदो गरी फँसेछु, आफन्त र घरपरिवारबाट सम्पर्कबिहिन हुँदै। झुट बोलेँ, मोबाइल चोरेँ, पैसाको दुरुपयोग पनि गरेँ। दुर्व्यसनमा फसेँ।

सुधारगृहमा मलाई ल्याइँदा मभित्र आक्रोश थियो आफ्नो परिवारप्रति। किनभने मेरो चाहनाको परिवेशबाट हठात् मलाई एउटा यस्तो ठाउँमा ल्याइयो जहाँको परिवेशसँग घुलमिल हुन म तयार थिइनँ। तर प्रारम्भिक द्वेष, घृणा र आक्रोशकै परिधिबाट म बिस्तारै आफूलाई चिन्न विवश हुँदै गएँ। आखिर म को हुँ? किन यहाँ ल्याइयो? जीवन जीउनु के हो? मेरो बाँकी समय कसरी बित्नेछ? यस्तै यस्तै प्रश्नहरु आउँथे मनमा।

समयसँगै मैले कृपाघरमा धेरै कुराहरु सिकेँ। धेरै सकारात्मक कुराहरु सिकाइयो। ममा क्रमिक परिवर्तन आउँदै गयो, सकारात्मक सोचको विकास हुँदै गयो। पछिल्लो समय कृपा घरभित्रै मलाई नेतृत्वदायी जिम्मेवारी दिइयो। मैले बिस्तारै उज्ज्वल भविष्य देख्न थालेँ आफ्नो।

यो लेख मैले रहरले लेखेको होइन। कृपाघरको बयान गर्ने उद्देश्यले पनि हैन तर आश्रयदाताका रुपमा फलेका र स्थापित संस्थाहरुको सम्वेदनहीन राजनीति पनि मैले हेर्न पाएँ हालै। म र मजस्ता थुप्र शिकार बन्यौँ त्यसको। मेरो अहिलेको पीडा र आक्रोशको विषय त्यो हो।

डिसेम्बर २७, २०१८ मा कृपा घरमा एक्कासी छापा मार्‍यो प्रहरीले। प्रशासन, पत्रकार र माइती नेपालको जत्था उपस्थित थियो त्यहाँ प्रायोजित रुपमा। कृपा घरको सञ्चालक र संयोजकहरुलाई नियन्त्रणमा लिइयो भने मजस्ता चार दर्जन जति सेवाग्राहीहरुको बिचल्ली गराइयो।

डिसेम्बर २५ तारिखका बिहान त्यहाँ काम गर्ने एकजना बहिनी बिहान ६ बजे कलेज जाने क्रममा भुलवश गेट बन्द गर्न बिर्सेको मौका पारेर सुधारगृहका तीन जना दिदीबिहिनी आँखा छली गेटबाट हामफाली भाग्न सफल भए। ती तीनजना मध्ये एउटीको परिवारले सञ्चालकलाई धम्क्याइएको कुरा सुन्नमा आयो।

प्रहरीले त्यसरात त्यही सुधारगृहमा ड्युटी गरेर भोलिपल्ट सम्बन्धित अभिभाववकहरुसँग छलपल र ब्रिफिङ्ग लिनुको साटो माइती नेपालको प्रचारका लागि किन उसको गाडी ल्यायो हामीलाई ओसार्न? किन एकरातका लागि त्यहाँ सारियो? माइती नेपालको कानुनी र औपचारिक हैसियत के हो? प्रहरीसँग उसको साँठगाँठ केका लागि?

भागेकी मध्ये ३६ वर्षीय दिदी र १५ वर्षीया बहिनीले फेरि पक्रेर सुधारगृहमा नै ल्याइदिन्छन् आफन्तले भन्ने लागेर त्यसलाई छल्न प्रहरी प्रशासनमा गई त्यहाँ कुटपिट र दुर्व्यवहार हुन्छ, कपाल भुत्ल्याएर शारीरिक यातना दिइन्छ भनी उजुरी गरेको हामीले सुनेका थियौँ।

३६ वर्षीया दिदीको कपाल झर्ने रोग नै थियो। १५ वर्षीया बहिनी सुधारगृहमा आउने बेलामा नै हात काटिएको र चुरोटले पोलिएको अवस्थामा थिइन्। उनले त्यहाँ यौन दुर्व्यवहार हुन्छ भन्ने आरोप पनि लगाइछन् प्रहरीमा। महिनौँ त्यहाँ बसेको आधारमा म भन्न सक्छु त्यो आरोप सही हैन। तर आरोप लागेपछि अनुसन्धान गर्नु प्रहरीको दायित्व हो। तर अकस्मात प्रहरी आयो प्रशासन, पत्रकार र माइती नेपालको जत्था बोकेर। कृपा घरलाई छानबिन बिना दोषी घोषणा गरियो र हामी जस्ता सबैलाई तत्काल परिवारलाई सुम्पिने निर्णय एकतर्फी रुपमा गरियो।

म त्यो केन्द्रमा सम्भवत: धेरै समय बस्ने मध्येकी व्यक्ति हुँ। कुनै बहिनी त त्यहाँ एकदम नयाँ थिए, दुई हप्ता अगाडि मात्र ल्याइएका। त्यहाँ कुनै शारीरिक यातना दिइएको भए खानाको गुणस्तर नराम्रो भएको भए, सुत्ने बेड र सरसफाइ नराम्रो भएको भए मैले पनि त कम्प्लेन गर्ने थिएँ नि। हामीलाई जिरा मसिनो र मन्सुली चामल मिसाएर खाना दिइन्थ्यो। हप्तामा एक एक पल्ट मासु र अण्डाको व्यवस्था थियो खानामा।

खाजा चिया पनि दिइन्थ्यो छात्रावासमा जसरी। कुन चामलको भात खुवाइन्थ्यो भन्ने कुरा बुढानिलकण्ठको सप्लायर्सलाई सोधे पनि हुन्छ। तर हामीसँग बयान नै नलिई एउटा निष्कर्षमा पुग्यो प्रहरी।

छापामार शैलीमा र कृपा घरलाई बन्द गर्ने निर्णयसहित प्रहरी प्रस्तुत भएपछि केही प्रश्नहरु मेरो मनमा उब्जिएका छन्।

१) कृपा घरमा छापा हानेपछि किन वैकल्पिक व्यवस्था भएन, गरिएन त्यहाँका सेवाग्राहीहरुका लागि? घरमा समाधान नपाएर हामीलाई सुधारका लागि त्यहाँ लगिएको थियो।

२) प्रहरीले त्यसरात त्यही सुधारगृहमा ड्युटी गरेर भोलिपल्ट सम्बन्धित अभिभाववकहरुसँग छलपल र ब्रिफिङ्ग लिनुको साटो माइती नेपालको प्रचारका लागि किन उसको गाडी ल्यायो हामीलाई ओसार्न? किन एकरातका लागि त्यहाँ सारियो? माइती नेपालको कानुनी र औपचारिक हैसियत के हो? प्रहरीसँग उसको साँठगाँठ केका लागि?

३) कतै भर्खरै स्थापित सुधारगृह या एनजिओलाई समाप्त गर्ने षडयन्त्रमा प्रहरी प्रशासन सहभागी त छैन? के माइती नेपाल यस्ता संस्थाहरुलाई प्रोत्साहन गर्नुको साटो उनीहरुलाई समाप्त गर्न उद्यत त छैन?

४) मानवीय संवेदनाप्रति किन यत्ति तल्लो स्तरको नाटक मञ्चन गरियो? त्यो पनि अनुराधा कोइरालाको नेतृत्वको संस्थाको संलग्नतामा? प्रहरी प्रमुख उनको संस्था र माइती नेपालसँगको सहकार्य र कृपाघरमा छानबिन बिना नै ताला लगाउने कामलाई मानवीय र कानुनसम्मत मान्छन्?

मैले एक रात दुई दिनमा माइती नेपालबारे पनि केही अवलोकन गर्ने मौका पाएँ यद्यपि हामीलाई त्यहाँको ‘सेल्टर’मा राखिएको थियो। त्यहाँ बालश्रमिक भएको र बालबालिकाप्रति कर्मचारीको रुखो बोली सुन्दा मलाई असहज लाग्यो। कृपा घरमा त्यो भन्दा उत्कृष्ट सेवा र काउन्सेलिङ्ग पाएको थिएँ मैले, म जस्ता सबैले।

कृपाघरको अनुगमनमा माइती नेपालको संलग्नताको आधार के?

नियोजित प्रचारका लागि, मिडिया, प्रहरी, प्रशासनसहितले आ-आफ्नो काम गरे। तर हामी सुधारगृहमा रहेकाहरुको गोपनीयता र मानवीय संवेदनाविरुद्ध उनीहरु खुलेरै प्रस्तुत भए। हामी उनीहरुको सस्तो लोकप्रियताका लागि देखाउने खेलौना बन्यौँ, बनाइयौँ। तीन दर्जन भन्दा बढी महिलाको सुधारोन्मुख भविष्य र अधिकारप्रति अक्षम्य अपराध गरे उनीहरुले। के अनुराधा कोइरालालाई यसैका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान, सहयोग दिइएको हो?

माइती नेपालको प्रायोजनमा त यो भएको होइन? के हामी विरुद्ध भएको यो अपराधबारे नेपाल सरकार या प्रहरी सम्वेदनशील र गम्भीर बन्ला? र, भविष्यमा यस्तो अपराध गर्नबाट पछि हट्लान उनीहरु?

(कृपाघरमा प्रहरीले छापा मारेपछि अरु आश्रितजसरी नै सन्तोषी (नाम परिवर्तन) लाई पनि परिवारको जिम्मा लगाइएको थियो।)

पुस २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्