फरवार्ड माइक्रोफाइनान्सले शेयर लाभांश वितरण गर्दै

काठमाडौं– फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाले आफ्ना शेयर सदस्यलाई २० प्रतिशत नगद लाभान्स र २५ प्रतिशत शेयर लाभांश वितरण गर्ने भएको छ। संस्थाको सञ्चालक समितिको ७६ औं बैठकले स्विकृत गरे अनुसार आफ्ना शेयर सदस्यलाई बोनस शेयर वितरण गर्न लागेको हो।

संस्थाको आइतबार बस्ने छैटौं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारीत गरेपछि लाभांश वितरण गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले बताए। संस्थालाई उक्त नगद लाभांश र शेयर बोनस वितरणका लागि नेपाल राष्ट्र बैंकले स्विकृति दिइसकेको छ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७५ असार मसान्तमा कायम रहेको चुक्ता पूँजी ३० करोड एक लाख ६५ हजार ७ सय रुपैयाँको २० प्रतिशतले हुने नगद लाभांश ६ करोड ३३ हजार एक सय ४० रुपैयाँको वितरण गर्ने प्रस्ताव गरेको छ। चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने रकम सात करोड ५० लाख ४१ हजार ४ सय २५ रुपैयाँ बराबर बोनश शेयर पनि वितरण गर्ने भएको छ।

संस्थाको छैटौं वार्षिक साधारण सभाको उद्घाटन भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गर्ने कार्यक्रम रहेको छ।

२०६९ भदौं २८ गते स्थापना भएको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्था मंसिर मसान्तसम्म देशका ३६ जिल्लाका ४ सय २३ गाउँ तथा नगरपालिका २ लाख ३३ हजार ९ सय १६ परिवारमा पुग्न सफल भएको संस्थाकी अध्यक्ष भगवती चौधरीले बताइन्।

‘हामीले फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सलाई जुन गमिा लैजाने उद्देश्य लिएका थियौं, त्यसमा सफल भएका छौं । यसको श्रेय म सञ्चालक समिति, सम्पूर्ण कर्मचारी, शेयर सदस्य तथा शुभचिन्तकलाई दिन चाहन्छु’ उनले भनिन्।

पुस २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्