मानव सेवा आश्रमको भवन बनाईदिने मेयर शाक्यको घोषणा

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मानवसेवा आश्रमको लागि एउटा भवन बनाउन सहयोग गर्ने घोषणा गरेका छन्।

शनिबार आश्रमले आफ्ना गतिविधि तथा भावी योजनाहरु सार्वजनिक गर्न रिपोर्टर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर शाक्यले यस्तो प्रतिबद्धता जनाएका हुन्।

उनले भने, ‘आश्रमले जग्गा खोजोस । महानगरपालिकाले भवन बनाउन सहयोग गर्छ। अहिले नेपाल प्रहरी पनि आश्रमलाई सहयोग गर्न हामीसँगै आवद्ध भएको छ। यो खुशीको कुरा हो। अन्य सहयोगी संस्था र मानव हृदयहरुपनि यसमा आवद्ध हुनुपर्छ।’

मेयर शाक्यले आश्रमको स्थलगत् अवलोकनपश्चात् आफू निकै प्रभावित भएको बताए।

उनले भने, ‘मैले त आश्रम नै अवलोकन गरेको छु । आश्रमका स–साना भाइ बहिनीहरुले त्यहाँ भएका विरामीहरु स्याहारेको देख्दा म प्रभावित भएँ। त्यसरी त हाम्रो घर परिवारका सदस्यहरुले पनि आफ्नै मान्छे बिरामी हुँदा स्याहारसुसार गर्दैनन् होला!’

राज्यले गर्नुपर्ने दायित्व आश्रमले गरिरहेको उनले बताए ।

काठमाडौंको सामाखुशी र बुढानिलकण्ठमा सञ्चालित दुवै आश्रमको घरभाडा महानगरले तिर्दै आएको पनि शाक्यले जानकारी दिए। मानव आश्रमको कामलाई प्रोत्साहन गर्नको लागि महानगरपालिकाले भरपुर सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

कार्यक्रममा आश्रमका अभिभावक एवम् बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. कपिलदेव उपाध्यायले सडकमा भएका मनोरोगीहरुले समयमै उपचार र प्रेम पाउने हो भने, उनीहरुको अवस्थामा व्यापक सुधार आउने बताए ।

उपचार र प्रेमसँगै आश्रममा रहेकाहरुलाई सिप तथा तालिम सिकाएर आत्मनिर्भर बनाउन सकिए उनीहरुको उपचारमा समेत टेवा पुग्ने उनको भनाई छ।

आश्रमका प्रमुख संरक्षक डा. टण्डनले संस्था स्थापना भएको ६ वर्षमा देशका विभिन्न जिल्लामा १४ वटा मानव आश्रमहरु सञ्चालन गरिरहेको जानकारी दिए । उनले भने, ‘सबै आश्रमहरु हामीले भाडामा चलाएका छौं। अब हेटौंडा, चितवन र पोखरामा पनि स्थायी भवन बन्दै गरेको छ ।’

 

पुस २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्