आजका मुख्य खबरः डा. केसीविरुद्ध अनशन सुरु, प्रधानसेनापति थापालाई भारतीय सेनाको मानार्थ उपाधि

चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत चार दिनदेखि इलामको फूलगाछीमा अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसी शनिबार बिहानैदेखि बस्न सक्न छोडेका छन्।

उनको हेरचाह गरिरहेका चिकित्सक डा. रामकृष्ण आचार्यका अनुसार बस्न नसक्ने भएपछि उनलाई इलाम अस्पताल लैजान खोजिए पनि जान मानेनन्।

डा. आचार्यले भने, ‘आजदेखि निकै कमजोर हुनुभएको छ। दिनभर ओछ्यानमा सुत्नुभयो।’

नेकपाका नेता एवं सांसदल योगेश भट्टराईले गोविन्द केसीका माध्यमबाट द्वन्द्वकालका घटना उचाल्ने प्रयत्न सुरु भएको दाबी गरेका छन्। चिकित्सा शिक्षा विधेयकको आवरणमा डा. केसी नेपाललाई शान्ति प्रक्रिया, संविधान र बहुमतप्राप्त सरकार विरुद्धको षड्यन्त्रमा प्रयोग गर्न थालिएको भट्टराईले दाबी गरेका हुन्।

चिकित्सा शिक्षा विधेयकमा केसीले उठाएका सबै माग सम्बोधन भएको दाबी गर्दै भट्टराई अब केसी त्यही बहानामा द्वन्द्वकालका घटना ब्युँत्याउन लागि परेको दाबी गरेका हुन्।

प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ प्रधानसेनापतिको उपाधि प्रदान गरिएको छ।

प्रधानसेनापतिको जिम्मेवारी लिएपछि पहिलोपटक भारत भ्रमणमा रहेका थापालाई राष्ट्रपति रामनाथ कोविन्दले शनिबार मानार्थ प्रधानसेनापतिको उपाधि प्रदान गरेका हुन्।

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले वाइडबडी विमान खरिद प्रक्रियाको विषयमा सभापति शेरबहादुर देउवालाई जोड्नु गलत हुने बताएका छन्।

शनिबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै गच्छदारले भने, ‘सभापति देउवाजीलाई वाइडबडी विमान विवादमा जोड्नु गलत हो। यस्ता कुनैपनि योजना प्रधानमन्त्री समक्ष पुग्दैनन्।’

विवेकशिल साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुट्नुमा आफ्नो कमजोरी रहेको स्वीकार गरेका छन् ।

पार्टी विभाजनबारे धारणा सार्वजनिक गर्न पार्टी कार्यालय बखुण्डोलमा आयोजित पत्रकार सम्मेलनमा संयोजक मिश्रले विभाजनमा आफू पक्षीय नेताहरुको मानवीय कमजोरी रहेको स्वीकार गरेका हुन् ।

बाँकेको कोहलपुरमा एकजनाको हत्या भएको छ । सुर्खेत सिम्ताका दीपकसिंह ठकुरीको कोहलपुरमा हत्या भएको हो । प्रहरी हुन बाँकेमा आएका ठकुरीको शुक्रबार राति कोहलपुर बसपार्क नजिक खुल्लाचौरमा हत्या भएको हो । बसपार्कको पूर्वपट्टी रहेको खालीचौरमा ठकुरीको शव फेला परेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मानवसेवा आश्रमको लागि एउटा भवन बनाउन सहयोग गर्ने घोषणा गरेका छन्।

शनिबार आश्रमले आफ्ना गतिविधि तथा भावी योजनाहरु सार्वजनिक गर्न रिपोर्टर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर शाक्यले यस्तो प्रतिबद्धता जनाएका हुन्।

 

 

पुस २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू