आइसिसीको बरियतामा पारस र सोमपालको सुधार, वसन्त यथावत

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ बरियतामा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का र सोमपाल कामीको सुधार आएको छ । बलर वसन्त रेग्मी भने बरियताको यथावत स्थानमा छन्।

आइसिसीले शनिबार सार्वजनिक गरेको नयाँ बरियताको ब्याटिङतर्फ शीर्ष सयभित्र परेका कप्तान पारस बरियतामा ९६ औँ स्थानमा रहेका छन् । अघिल्लो महिना पारस ९७ औँ स्थानमा रहेका थिए । उनले एक स्थान सुधार गरेका हुन्।

यसैगरी बलिङतर्फ नेपालका वसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र पर्न सफल भएका छन् । वसन्त ३९७ अङ्क प्राप्त गर्दै ७४औँ र ३३८ अङ्क जोडेका सोमपाल ९३ औँ स्थानमा पुगेका छन् ।

वसन्त अघिल्लो महिना पनि ७४औँ स्थानमै थिए भने, सोमपाल ९४औँ स्थानमा थिए । सोमपालले एक स्थान सुधार गर्न सफल भएका हुन्।
कप्तान पारस अलराउन्डरतर्फ भने यथावत स्थानमा रहेका छन् । शीर्ष ५० भित्र अटाएका पारसले ६८ अङ्कसहित ४२ औँ स्थानमा छन् । अलराउन्डरतर्फ नेपालकै सोमपाल कामी पनि शीर्ष १०० भित्र परेका छन् । सोमपाल ४२ अङ्कसहित ६४ औँ स्थानमा छन्।

आइसिसीको टी–२० ब्याटिङ बरियताको शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम, दोस्रो स्थानमा न्युजिल्याण्डका कोलिन मुन्द्रो, अष्ट्रेलियाका आरोन फिन्च तेस्रो, वेष्ट इण्डिजका इभान लेविस चौथो र पाकिस्तानका फकर जमान पाँचौ स्थानमा छन् ।

बलिङतर्फ अफगानिस्तानका राशिद खान पहिलो स्थानमा रहँदा पाकिस्तानका शदाब खान दोस्रो, भारतका कुलदीप यादव तेस्रो, न्युजिल्यान्डका इश सोधी चौथो र इंग्ल्यान्डका आदील राशिद पाँचौ स्थानमा छन् ।

अलराउन्डरतर्फ अष्ट्रेलिया ग्लेन म्याक्सवेल शीर्ष स्थानमा रहँदा बंगलादेशका शाकिब अल हसन दोस्रो, अफगानिस्तानका मोहमद नाबी तेस्रो, बंगलादेशका मोहमद महुदुल्लाह चौथो र श्रीलंकाका थिसरा परेरा पाँचौ स्थानमा छन् ।

अघिल्लो वर्ष नेपालले एक दिवसीय मान्यता पाएसँगै गत साउनमा पहिलो अन्नर्राष्ट्रिय एक दिवसीय खेल खेलेपछि नेपाली खेलाडी बरियतामा समावेश भएका हुन्।

 

 

पुस २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्