फेसन डिजाइनर अमिका श्रेष्ठको संघर्ष र सफलताको कथा

लगातारको लगनले दिएको स्वादिलो प्रतिफल

तस्बिरहरु: बर्षा शाह

काठमाडौँ– सफलता प्राप्त गर्न सुरुवातमै ठुलै काम गर्नुपर्छ या धेरै लगानीसहित व्यवसाय सुरु गर्नुपर्छ भन्ने मान्यताले जरा गाडेको छ नेपाली समाजमा।

तर, सानै काम वा थोरै लगानीमा पनि सफलता चुम्नेहरु पनि छन् यही समाजमा। त्यसकै एउटा उदाहरण हो, अमिका श्रेष्ठको जीवन र उनको सफल व्यवसाय।

त्यसो त काम गर्ने चाहना बोक्नेहरु या आफ्नो लक्ष्यप्रति दृढ रहनेहरुलाई कुनै पनि बहानाले छेक्दैन भन्ने मान्यता पनि उत्तिकै बलियो छ। यही मान्यतालाई आफ्नो जीवन र व्यवसायमा अनुसरण गरेकी छन् फेसन डिजाइनर श्रेष्ठले।

उच्च शिक्षा हासिल गर्ने सपना बीचमै तुहियो। आमाबुवाको सामिप्यको खाँचो सकिएका बेला विवाह बन्धनमा बाँधिनुपर्‍यो। पतिको साथले केही गर्ने धोको पनि पुरा भएन, परिवारलाई सम्हाल्ने दायित्व उनकै काँधमा थपियो। जीवनका सामु उभिन पुगेका चुनौतीका पहाडले उनको जीवनलाई निराशातर्फ डोर्‍याउन नखोजेको पनि होइन। तर उनीभित्र रहेको लक्ष्य प्राप्त गर्ने दृढताले उनीमा भएका अभावलाई शक्तिमा परिणत गर्ने आँट दियो। अनि त्यही शक्तिले उनी छोटो समयमै आफूलाई एउटा उत्कृष्ट फेसन डिजाइनरको रुपमा चिनाउन सफल भएकी छन्।

काठमाडौँको असनस्थित साँघुरो मासन गल्ली। त्यहीँको रैथाने नेवार परिवारकी सातौँ सन्तान। देशका अन्य ग्रामीण भेगमा जस्तो छोरी भएकै कारण विद्यालय जानबाट उनलाई बन्चित भने हुनु परेन। उनको परिवार शिक्षित भएपनि सांस्कृति र धार्मिक मान्यतामा कट्टर थियो। तर उनलाई आफूखुशी नाच्न, गाउन, चित्रहरु बनाउन कुनै रोकतोक भएन। छोरीको छिटै विवाह गनुपर्छ भन्ने समाजमा व्याप्त संकुचित सोचलाई शिक्षित भएपनि उनको परिवारले उल्लघंन गर्न सकेन। उनी त्यही सोचको शिकार बन्न बाध्य भइन्।

एसएलसी पढ्दै गर्दा उनको बिहे भयो। बिहे गरेको चार महिनापछि उनका श्रीमान लागूऔषधको नशामा लठ्ठ हुन थाले। यो १३ वर्षसम्म निरन्तर चल्यो। उनलाई श्रीमानको चिन्तासँगै परिवारको जिम्मेवारी कसरी सम्हाल्ने भन्ने चिन्ताले पिरोल्न थाल्यो। उनले सुनाइन् ‘समय बित्दै गयो दुई सन्तान पनि भए तर श्रीमानको कुलत छुटेन।’

विवाह भएको नौ वर्ष बितिसकेको थियो। यत्तिकैमा उनमा आफूले केही गर्नुपर्छ भन्ने सोच जागृत भयो। उनका सामु धेरै विकल्प थिएनन्। किनकि उनीसँग शैक्षिक योग्यता थिएन। तर, सानैदेखिको कलाप्रतिको रुचिले कला क्षेत्रमा केही गर्न सक्छु भन्ने विश्वास भने थियो। त्यही विश्वासका साथ उनी फेसन डिजाइनको तालिम लिने निर्णयमा पुगिन्। तर, त्यो तालिम लिनका लागि पनि न्यूनतम योग्यता १२ पास थियो। खाने मुखलाई जुँगाले छेक्दैन भनेझैँ उनले सोही ठाउँमा फेसन डिजाइनको साटो गुडिया बनाउने तालिम लिइन्। ‘मेरो काम र मेहनत देखेर फेसन डिजाइनको तालिमका लागि अनुमति दिइयो।

‘डिजाइनप्रतिको रुचि र मेहनतले तीन वर्षको कोर्ष २ वर्षमा सकाए र सँगै आफ्नो काम पनि सुरु गरे। अहिले डिजाइनरका सबै काम गर्न आउँछ’, उनले भनिन्।

‘अधिकांश महिला घरको कामकाजमै व्यस्त हुन्छन् तर आफ्नो लागि थोरै समय निकालेर आफूले इच्छा लागेको कामगर्दा सफलता मिल्छ। महिलाले जसरी घरभित्रको काम गर्छन् बाहिरको काम पनि गर्न सक्छन्।’

अमिका २०५२ सालदेखि फेसन डिजाइनिङ्ग क्षेत्रमा आबद्ध छिन्। व्यवसाय सुरु गर्दा उनले यति लामो यात्रा होला भन्ने नसोचेको बताइन्। विगत आठ वर्षदेखि आफ्नो व्यवसायसँगै अन्य फेशन डिजाइनरका लागि पनि काम गर्दै आएकी छन् अमिका।

नक्सालस्थित एउटा घरको दोस्रो तल्लाको एउटा सानो कोठामा चारवटा मेसिनबाट सुरु भएको उनको बुटिकको व्यवसायले २३ वर्ष पार गरिसकेको छ।

उनको मेहनत र लगनशीलताले बुटिक व्यवसाय फराकिलो बन्दै जाँदा मेसिनहरु पनि बढ्दै ४ बाट २७ पुगिसकेका छन्। ‘जीवन संघर्ष मात्र होइन अवसर पनि हो’ भन्ने उनको सोचले सधैँ उनको कामलाई उर्जा थप्ने गरेको छ।

व्यवसाय सुरु गर्दा नै ‘दमाईले गर्ने काम गर्न थाली’ भनेर व्यग्यंवाण उनले सुन्नुपर्‍यो। तर परिवारको जिम्मेवारीसँगै मनपर्ने काम भएकाले अरुका टिकाटिप्पणीप्रति चासो राखिनन्। र, विस्तारै उनको व्यापार उकालो चढ्दै गयो। ग्राहकहरुको संख्या दिनप्रतिदिन बढ्दै गयो। त्योपनि स्वदेशी भन्दा विदेशी। ‘केही वर्षयता विदेशीको तुलनामा स्वदेशी ग्राहकहरु पनि डिजाइनरद्वारा तयार पारिएका लुगाप्रति आर्कषित हुँदै गएका छन्’, हाँस्दै उनले भनिन्, ‘सबैले मलाई सारी लाउने दिदी भन्छन्।’

ढोकाको छेवैनिर राखिएको राउन्ड टेबल, ठूलो हल र हलमा राखेका मेसिनहरु चलाउँदै कामदारहरुलाई काम अह्राउँदै अमिकाले भनिन्, ‘अहिले यो व्यवसायबाट मासिक ८ लाख रुपैयाँसम्म हुन्छ, तर २०७२ साल बैशाख १२ गतेको भूकम्पले व्यापार ओरालो लाग्यो। कामदारलाई ऋण निकालेर तलब दिनुपर्ने अवस्था आयो।’

श्रीमान ठीक भएपछि उनले श्रीमानलाई सुधारगृह खोल्ने सल्लाह दिइन्।

कपनमा खोलिएको सुधार गृहलाई भूकम्पले ध्वस्त बनायो। तर उनी विचलित भइनन्। भूकम्पपछि उनको पसलमा २० मेसिनमात्र भए, कामदार नि थोरै। तर अहिले उनको व्यवसाय पुनः पहिलेकै अवस्थामा आइसक्यो।

उनी भन्छिन्, ‘अधिकांश महिला घरको कामकाजमै व्यस्त हुन्छन् तर आफ्नो लागि थोरै समय निकालेर आफूले इच्छा लागेको कामगर्दा सफलता मिल्छ। महिलाले जसरी घरभित्रको काम गर्छन् बाहिरको काम पनि गर्न सक्छन्।’

पुस २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्