सिरियाबाट सैनिक फिर्ता बोलाउने अमेरिकी तयारी

अमेरिकी विदेशमन्त्री पोम्पेओ मध्य पूर्व दौडाहामा, कुर्दिसबारे टर्कीसँग सहमतिको प्रयास

अमेरिकाले सिरियामा रहेका आफ्ना सैनिक फिर्ता बोलाउने तयारी गरिरहेको छ । अमेरिकाको यस्तो तयारीले सिरियामा आइएसविरुद्धको लडाईँमा साथ दिएका कुर्दिस लडाकुको सुरक्षाको विषयलाई लिएर चिन्ता बढेको छ ।

यस्तै आइएस पूर्णरुपमा परास्त नभएकाले फेरि बिद्रोह हुन सक्ने आशंका पनि छ । तर अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले कुर्दिसको संरक्षणका लागि टर्कीसँग सम्झौता हुनेमा आशावादी रहेको बताएका छन् ।

टर्कीसँग कुर्दिसको सुरक्षा र संरक्षणका बारेमा ठोस सहमति गरी सिरिया छोड्ने तयारीमा अमेरिका रहेको विदेमन्त्री पोम्पेओले जनाएका छन् । अमेरिकी विदेशमन्त्री पोम्पेओले टर्कीका विदेशमन्त्रीसँग टेलिफोनमा कुराकानी गरेका हुन् ।

पोम्पेओले संयुक्त अरब इमिरेट्समा यसबारे जानकारी दिएका हुन् । सिरियाको उत्तरी क्षेत्रमा अमेरिकी सेनाले कुर्दिस लडाकुको साथमा आइएसविरुद्ध अभियान चलाएको थियो ।

आइएसविरुद्धको लडाईमा कुर्दिसहरुको संस्था पिपुल्स प्रोटेक्सन युनिट (वाइपिजी) ले अमेरिकी तथा सिरियाली सेनालाई साथ दिएको थियो । तर टर्कीले भने वाइपिजीलाई आतंकवादी समूहको रुपमा लिने गरेको छ ।

सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाउने तयारी भइरहेका बेला आफ्ना सहयात्रीहरुको साथ खोज्नका लागि अमेरिकी विदेशमन्त्री पोम्पेओ अहिले मध्य पूर्वको भ्रमणमा छन् ।

यहि क्रममा युएई पुगेका बेला पोम्पेओले टर्कीका समकक्षीसँग टेलिफोनवार्ता गरेका हुन् । सिरियामा अहिले दुई हजारको हाराहारीमा अमेरिकी सैनिक छन् ।

पुस २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्