राहफ मुहमुद अल–क्वुनुन

इस्लाम त्यागेकी साउदी युवती राहफ क्यानडा पुगिन्

चाहेको जस्तो स्वतन्त्र जीवन बाँच्ने रहरमा इस्लाम त्यागेर देश छोडेकी साउदी अरेबियाकी युवती राहफ मुहमुद अल–क्वुनुन क्यानडा पुगेकी छन् । १८ वर्षकी राहफको परिवार कुबेतमा बस्दै आएको छन् ।

उनी बन्धनहरुबाट मुक्तिको खोजीमा बैंकक हुँदै अस्ट्रेलिया जाने तयारीमा थिइन् । तर बैंककमा उनलाई विमानस्थलमै रोकियो र कुबेत फर्काउने प्रयास भयो ।

उनले विमानस्थलको होटलकै कोठामा आन्दोलन गरिन् । विश्वको ध्यान खिचियो । त्यसपछि संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (युएनएचसिआर) ले उनलाई शरणार्थीको पहिचान दियो ।

क्यानडाले युएनएचसिआरको आग्रहमा राहफलाई आफ्नो देशमा शरण अर्थात आश्रय दिने बतायो । त्यसपछि राहफ क्यानडा पुगेकी हुन् ।

क्यानडाकी विदेश मन्त्री क्रिष्टिया फ्रिल्याण्डले राहफलाई सहासी नयाँ क्यानडेलीका रुपमा चिनाइन् । उनले भनिन्, ‘राहफ सहासिली युवा महिला हुन् र धेरै भोगेकी छन्… उनी अब आफ्नो नयाँ घर जाँदै छिन् ।’

यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देश जहिले पनि बिना कुनै आनाकानी मानवअधिकारको पक्षमा उभिने गरेको र राहफका बारेमा संयुक्त राष्ट्रसंघले आग्रह गरेपछि आफूहरुले शरण दिने निर्णय गरेको उल्लेख गरेका थिए । राहफलाई पुनस्र्थापित गर्नका लागि पहल गरेकोमा युएनएचसिआरले क्यानडाको स्वागत गरेको छ ।

पुस २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्