प्रस्तुत भए गायक दीपक खरेल, अनि भने

‘तिम्रा हर प्रश्नको जवाफ, मेरा चिट्ठीहरुमा खोज्नु’

सांगीतिक प्रस्तुतिको क्रममा गायक दीपक खरेल ।

भक्तपुर – जवाफको खोजीमा प्रश्नहरु धेरै छन्, र प्रश्नहरु गर्नेको लाइन पनि अनन्तः छ । जवाफको प्रतिक्षा गर्नेलाई जस्तै उत्तर दिनेलाई पनि सजिलो त्यति छैन । तर सजिलो बनाई दिए, गायक दीपक खरेलले अनि भने ‘तिम्रा हर प्रश्नको जवाफ, मेरा चिट्ठीहरुमा खोज्नु’ ।

नेपाली सुगम संगीतका प्रिय गायक दीपक खरेल शनिबार बेलुका भक्तपुरमा प्रस्तुत भए । उनी आफ्ना चुनिँदा गीतहरुको एकल प्रस्तुतिमा मञ्चमा उभिएका हुन्, र प्रश्नहरुको जवाफ खोज्नेहरुलाई उनको सदाबहार उत्तर, तिम्रा हर प्रश्नको जवाफ, मेरा चिट्ठीहरुमा खोज्नुसहितका सुर लहर प्रस्तुत गरे ।

दीपक खरेललाई प्रस्तुत हुने र उनका शुभचिन्ताकहरुलाई प्रत्यक्ष रुपमा सुन्ने अवसर जुराएको हो, भक्तपुर सांगीतिक समाजले । दीपकको एक साँझको साक्षी बन्नका लागि गीत–संगीत र कला–साहित्य तथा अरु विभिन्न क्षेत्रमा प्रतिनिधि पुगेका थिए ।

भक्तपुरको सल्लाघारीमा साँझ ढल्केर रातमा परिणत हुँदै गर्दा दीपकका गीतको न्यानोपन सुरु भयो। संगीतमा द लिजेन्ड ब्याण्डको प्रत्यक्ष सहभागितामा प्रस्तुत भएका दीपक खरेलले आफ्ना छानिएका गीतहरु प्रस्तुत गरे । बादल बनाइदेउ, मेरा यी हातहरुमा तरबार र छुरा नहोस्, गरुँकी मिठो भूल, ती आँखाहरुको उज्यालो, पूर्णमाको रात पनि औँशीको झैँ लाग्न थाल्यो, प्रतिक्षा गर मेरी मायालु, तिम्रा हर प्रश्नको जवाफसहितका आफ्ना एक दर्जन भन्दा बढी सर्वकालीन प्रिय गीतहरुसहित दीपक मञ्चमा प्रस्तुत हुँदा मञ्चाविमुख रहेका दर्शकहरुमा उत्साह थियो ।

वरिष्ठ संगीतकर्मी तथा चलचित्रकर्मी चेतन कार्की, वरिष्ठ अभिनेता–निर्देशक तथा गीतकार नीर शाह

दर्शकदीर्घामा वरिष्ठ संगीतकर्मी तथा चलचित्रकर्मी चेतन कार्की, वरिष्ठ अभिनेता–निर्देशक तथा गीतकार नीर शाह, संगीतकार दीपक जंगम, गीतकार राजेन्द्र थापा, गीतकार सुवासचन्द्र ढुंगेल, गीतकार भूषण खरेलसहित सात सयको हाराहारीमा संगीतप्रेमी थिए ।

दीपकका लागि गीत लेखेका अभिनेता नीर शाहले कला र मानवीयताको सही अर्थको संयोजनको रुप दीपक खरेल रहेको बताए । उनका लागि गीत लेख्न पाउनु आफ्नो सिर्जनाले प्राण पाएको जस्तो रहेको शाहले बताए । दीपक खरेलको नाम बिना नेपाली संगीतको इतिहास अपूरो हुने बताए।

यस्तै संस्कृतिकर्मी चेतन कार्कीले दीपक खरेलको स्वरले नेपाली संगीतलाई लालित्य भरेको बताए । दीपकका गीतहरुमा जीवनका सबै पक्षहरुले स्थान पाउन सकेको कार्कीले बताए । भक्तपुर नेपाली वाङ्मयका लागि जहिले महत्वपूर्ण रहेको र यो कार्यक्रमले त्यसलाई उजागर गरेको उनले बताए । यस्तै गीतकार राजेन्द्र थापाले भक्तपुरमा भव्य कार्यक्रम भएको र यसले नयाँ उत्साह तथा उर्जा थपेको बताए ।

दीपक खरेलले नेपाली चलचित्र के घर के डेराका लागि नीर शाहको रचनामा रहेको कति अनौठो छ यो जीवन गाउँमा भावुक बनेका दर्शकहरु तिम्रा हर प्रश्नको जवाफसँगै कार्यक्रम समापन हुँदा मनभरी प्रेमिल भाव लिएर घर फर्किए ।

गायक खरेलले आफू प्रिय दर्शकमाझ प्रस्तुत हुन पाएकोमा पुलकित रहेको बताए । अनि भने, ‘आज मेरो सांगीतिक यात्राका केही प्रतिनिधिहरुसहित प्रस्तुत हुन पाएँ र एक साँझ भव्य सांगीतिक जीवन बाँच्न पाएँ, खुशी छु । यो सम्झना मनभरि रहनेछ ।’

कला, साहित्य, संगीत र चलचित्र क्षेत्रमा ज्ञाता प्रकाश सायमीले सञ्चानल अर्थात सहजीकरण गरेको दीपक खरेल एक साँझमा पुगेका हरेक दर्शक दीपकको प्रस्तुतमा रमेका थिए । दीपक खरेल भक्तपुरकै बासिन्दा रहेको र नेपाली संगीतमा अतुलनीय योगदान रहेकाले त्यसको कदरका लागि आफूहरुले एकल साँझ गरेको भक्तपुर सांगीतिक समाजका अध्यक्ष प्रवीण शाहीले बताए ।

कार्यक्रमबाट आफूहरु उत्साहित भएको कार्यक्रमको संयोजक रहेका समाजका सचिव अल्बर्ट बज्राचार्यले बताए । आफूले सहभागी सबै क्षेत्रमा वरिष्ठ व्यक्तित्वसँग प्रतिक्रिया लिएको र सबैले राम्रो प्रयास रहेको भन्दै आउँदा दिनमा यस्तै कार्यक्रम गर्न हौसला दिएकाले उत्साहित रहेको उनको भनाई छ ।

तस्बिर सौजन्य : विकल बनेपाली

पुस २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्