अखिलेश–मायावती गठबन्धनबारे राहुल गान्धीले के भने ?

लोकसभा चुनाव नजिकिँदै जाँदा भारतीय राजनीतिमा चुनाव केन्द्रित गठबन्धन बनाउने होड छ । यहि क्रममा उत्तर प्रदेशमा बहुजन समाज पार्टी र समाजवादी पार्टीले लोकसभा चुनावका लागि गठबन्धन गरेका छन् ।

एक–अर्काका कडा आलोचक रहेक बसपा र सपा चुनावका लागि नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) विरुद्ध गठबन्धन बनाउन सफल भएका हुन् । बसपाकी मायावती र सपाका अखिलेश यादवले गठबन्धन गर्दा कांग्रेसलाई साथमा लिएनन् । कांग्रेस सकेसम्म सबै क्षेत्रमा भाजपाविरुद्धको एकीकृत गठबन्ध बनाउने प्रयासमा थियो ।

बसपा र सपाको गठबन्धनबारे प्रतिक्रिया दिँदै कांग्रेस अध्यक्ष राहुल गान्धीले उत्तर प्रदेशमा आफ्नो पार्टी पूरै शक्ति लगाएर लोकसभाको तयारीमा जुट्ने बताए । आफूहरुसँग उत्तर प्रदेशका जनतालाई दिन धेरै रहेको राहुल गान्धीको भनाई छ ।

अखिलेश र मायावतीका बारेमा टिप्पणी गर्दै राहुल गान्धीले भने, ‘सपा र बसपाका नेताप्रति मेरो मनमा सम्मान छ र उहाँहरु जे गर्न चाहनु हुन्छ त्यसको स्वतन्त्रता पनि छ ।’

शनिबार अखिलेश र मायावतीले संयुक्त पत्रकार सम्मेलन गरी गठबन्धनको घोषणा गरेका थिए । उनीहरुले कांग्रेसप्रति कडा रुपमा प्रस्तुत हुँदै भनेका थिए, ‘कांग्रेसले केन्द्र र राज्यमा धेरैपटक सत्ता चलायो तर पछि परेका तथा शोषितको हितमा काम गरेन ।’

पुस २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्