नवलपरासीका रामबहादुर लामाको हत्या गरेपछि युएईमा जेल परेका झापाका विष्णु उप्रेतीका बुबा,आमा र श्रीमती। तस्बिरः उजिर कार्की/देश सञ्चार।
विष्णुलाई ५ वर्ष जेल र ६१ लाख ब्लडमनीको फैसला

धर्मनन्द भन्छन्– युएईको जेलबाट छोरो फर्काउन ६३ लाख कसरी जुटाउनु?

झापाको कन्काई नगरपालिका ७ को घैलाडुब्बाका धर्मनन्द उप्रेतीलाई रोगले गलाउँदै लगेको छ। मुटुको रोगले थलापार्दै लगेपछि घर छाड्न नसकेको चार वर्ष भयो। तर यतिबेला उनलाई आफ्नो ज्यानको चिन्ता छैन । युएईको जेलमा मृत्युका दिन गनेर बसेको छोरालाई घर फर्काउनु छ।

धर्मनन्दका छोरा विष्णु नवलपरासीका रामबहादुर लामाको हत्या गरेपछि युएईको जेलमा छन्। उनलाई हत्यारा पुष्टि गर्दै युएईको उच्च अदालतले ५ वर्ष जेल सजाय र २ लाख दिर्हाम (करिव ६१ लाख रुपैयाँ) ब्लडमनिको फैसला गरेको छ। यतिबेला धर्मनन्द ब्लडमनि वापत तिर्नु पर्ने त्यही रकम जुटाउने चटारोमा छन्।

त्यो रकम युएईको अदालतमा जम्मा नगरेसम्म धर्मनन्दका छोरा विष्णु छुट्दैनन्। शनिबार धर्मनन्दले फोनमा भने, ‘हरिमायालाई ब्लडमनि तिर्न भएको घर जग्गा बेच्दा पुग्ने भए बेचिदिन्थें, छेउ पनि हुँदैन त्यत्रो रकम कहाँबाट ल्याउनु? माग्नुको विकल्प हामीसँग छैन।’ हरिमाया रामबहादुरकी श्रीमती हुन्। उनैका श्रीमानलाई विष्णुले मारेका हुन्।

उच्च अदालतले गत साउन अन्तिममा फैसला गरेको थियो। पहिले नै यो फैसला गरेपनि धर्मनन्दका परिवारले केही कम सजाय हुन्छ कि भनेर फैसला पुर्नरविचार गर्न आवेदन गरे । तर उनको आग्रह अदालतले सुनेन र पहिलेकै फैसलालाई सदर गर्‍यो।

विष्णुले जेल सजाय त पुरा गर्न लागे, तर परिवारले ब्लडमनि वापत तिर्नु पर्ने रकम जुटाउन थालेका छैनन्। किन त? धर्मनन्द भन्छन्, ‘म बाहिरफेर हिड्न सक्दिनँ, आइमाई केटाकेटीले के गर्ने मेसो पाउँदैनन्, कहिल्यै नपरेको आपत आइलाग्यो हामीलाई।’

विष्णु उप्रेतीका बुबा,आमा र श्रीमती।

विष्णु नवलपरासीका रामबहादुर लामाको हत्या गरेपछि जेलमा छन्। २०७२ साउन २२ गते राती विष्णुले रामबहादुरको हत्या गरेका थिए । विष्णु रामबहादुरका साथी हुन्। दुवईको एक कम्पनीमा दुवै जना गाडी चलाउँथे । दुई वर्षदेखि एउटै कोठामा बस्ने, सँगै खानपिन गर्थे।

हत्या भएको रात पनि विष्णु र रामबहादुर सँगै खानपिन गर्दै थिए। रामबहादुर झण्डै १७ वर्षदेखि परदेशमै काम गर्थे। तर भोलिपल्ट बिहानै हरिमायाले श्रीमान रामबहादुर मारिएको खबर सुन्नुपर्‍यो।

विष्णुले हत्या गरेका रामबहादुरका पनि श्रीमती र दुई छोरी छन्। हरिमायाले युएईको कानुन अनुसार आफ्ना श्रीमानको हत्यारालाई कारबाही गर्न माग गरेपछि युएईको अदालतले त्यही अनुसार फैसला गरेको हो। अदालतले पटक–पटक सोध्दा पनि हरिमायाले आफ्ना श्रीमानको हत्यारालाई कानुन अनुसार कारबाही गर्न माग गरिन्।

उनीसँग तीन वटा विकल्प थिए। खुनको बदला खुन (विष्णुलाई पनि मार्ने), ब्लडमनी (हत्या गरेवापत कानुन अनुसार रकम लिने) र माफी दिने । हरिमायाले विष्णुलाई मृत्युदण्ड होस् भन्ने माग गरिनन्। उनले बिचको बाटो ब्लडमनी लिने भन्दै त्यही अनुसारको सजाय माग गरेपछि दुई लाख दिर्हाम ब्लडमनी र ५ वर्ष जेल सजायको फैसला गरेको हो। विष्णुका परिवारले तिर्ने दुई लाख दिर्हाम ब्लडमनी रामबहादुरका परिवारले पाउने छन्।

युएईमा हत्या गरिएका नवलपरासीका रामबहादुर लामाका श्रीमती र दुई छोरीहरु।

अदालतबाट फैसला भएको ६ महिना पुग्न लाग्दा पनि परिवारले त्यो रकम जुटाउन सकेका छैनन् । यो रकम जुटाएपछि नेपाली दूतावास मार्फत् त्यहाँको अदालतमा बुझाउनु पर्छ । अदालतले फेरि दूतावास परराष्ट्र मन्त्रालय हुँदै नवलपरासीमा रहेका रामबहादुरका परिवारलाई दिने छ ।

हरिमायालाई आफ्ना श्रीमानको हत्यारालाई रकम दिएर छाड्न त मन थिएन । ‘दुई छोरीको पालन पोषण गर्नु नै छ, जे हुनु भइगयो अब पैसा भएपनि लिइदिन्छु उनीहरुकै भविष्यका लागि भनेर यो निर्णय गरें’, हरिमायाले भनिन् ।

विष्णुका बुबा धर्मनन्द ७६ वर्षका भए । उनी रोगी छन् । विष्णुकी आमा पनि मुटुको बिरामी छन् । त्यषे भन्दा ठूलो पीडा उनीहरुलाई विष्णुको छ । बुढेसकाल सहारा बन्ला भनेको छोरो जेलमा मृत्युका दिन गन्दै बस्दा कसकापो बा–आमाको मन मान्ला र ! हो यस्तै पीडा खेपिरहेका छन् विष्णुका परिवार झण्डै चार वर्षदेखि ।

यसअघि त उनीहरुले चाहँदैमा विष्णुलाई पर्काउन सक्दैनथे । भएको विकल्प अपनाएका पनि हुन् । धर्मनन्द हरिमायालाई भेट्न उनको घर देवचुली ७ मा पुगेर माफी दिन अनुरोध गरे। तर श्रीमानका हत्यारालाई माफी दिन हरिमायाको मन मानेन । मानोस् पनि कसरी !

२०५१ सालमा हरिमाया र रामबहादुरको विवाह भएको थियो। त्यसअघि पाँच वर्षको अवधिका सासु, ससुरा र साईंलो देवर गुमाएका थिए हरिमायाका परिवारले । २०६८ सालमा सासु बितेपछि हरिमायाको परिवारमा पीडादायक दिन सुरु भएको थियो।

२०७० सालमा साईंलो देवर बिते । साईंलो देवर र हरिमायाका श्रीमान रामबहादुर जुम्ल्याहा हुन् । साईंलो देवर बितेको एक वर्ष नपुग्दै ससुरा पनि बिते । अब त मृत्युको श्रृङ्खला रोकिएला भन्ने आश थियो हरिमायालाई, तर श्रीमान् नै गुमाउनु पर्‍यो।

दुबईमा गाडी कुदाउने रामबहादुरको परिवारमा ब्रेक लाग्यो। रामबहादुरको हत्या अभियोगमा विष्णु दुवईमा जेल परे। एउटै त्यो घटना जसले दुई परिवारलाई नै पीडा दिएको छ।

रामबहादुर पहिलो पल्ट २०५५ सालमा विदेश गएका थिए। यस अघि साउदी र कतारमा काम गरेर फर्किएका रामबहादुर र हरिमायाले दुई महिनापछि युएईबाट फर्किएर अब परदेश नजाने सल्लाह गरेका थिए। तर त्यो सल्लाह सल्लाहमै सीमित भयो, पूरा हुन नपाउँदै टुंगियो रामबहादुरको जीवन।

त्यसपछि विष्णुका परिवारको पनि जीबन जीबन जसरी चलेन। धेरै पटक विष्णु मारिएको खबर सुने । कतिले मारिहालेको छैन तर अब मार्छ भने, अनि, कसैले होइन मार्दैन पैसा तिर्नु पर्छ बचाउन सकिन्छ भनेर सुनाउँथे ।

आफ्ना सन्तानको मृत्युको खबर कानमा पर्दा कस्तो हुँदो हो बा–आमाको मन !हरिमायाले जस्तै विष्णुकी श्रीमती उमा उप्रेतीले पनि खेप्दैछिन्। विष्णु परदेशमा जेल परेपछि छुट्टिएर बसेका उनका परिवार पनि बाआमासँगै मिसिए । कमाएर पठाउँदै गरेका विष्णु जेल परे । गरी खानलाई जग्गा छैन् । भएको १५ कठ्ठा जग्गामा खोला पसेर बगर बनेको छ । घुर्यानमा पाँच कट्ठा मात्रै जग्गा छ ।

विष्णुका १६ वर्षका छोरा र सात वर्षकी छोरी छन् । बुबा धर्मानन्द भन्छन्, ‘यो बेचेर विष्णुलार्ई उतार्न सकिन्थ्यो भने बेचिदिन्थें।’

पहिले साउदी बसेर फर्किएका विष्णु २०७० सालमा दुवई पुगेका थिए। दुवई पुगेपछि विष्णुले महिनाको एक लाख रुपैयाँसम्म पठाउँथे । घरको ऋण सकिएको थियो । रोगी बाआमाको उपचार गर्दैथिए।

ऋण तिरिसकेकाले अब घडेरी किनेर घर बनाउने सल्लाह थियो । यो परिवारको पनि सल्लाह त पूरा हुन पाएन नै भेट गर्न समेत सकस पर्दैछ।

हरिमायाको माग अनुसार सन् २०१६ अप्रिल १८ मा पहिलो पटक ब्लडमनि स्वीकार्ने पत्र युएईस्थित नेपाली दूतावासले त्यहाँको अदालतमा पठायो । सन् २०१६ को मे ३ मा अदालतले फेरि सोध्यो, के कारबाही चाहनु हुन्छ ? दूतावासले फेरि पनि ‘ब्लड मनी’ लिने पीडितको माग सहित कागजात पठायो । युएईको तल्लो अदालतले पीडितको माग अनुसार पाँच वर्ष जेल र २ लाख दिर्हाम ब्लड मनी पीडितका परिवारले पाउनु पर्ने फैसला गर्‍यो।

त्यो फैसलामा पुनर्विचार गर्न माग गर्दै विष्णुका परिवारले निवेदन दिए। यो मुद्दा युएईको उच्च अदालतमा पुग्यो । उच्च अदालतले पनि तल्लो अदालतकै फैसला सदर गर्‍यो। अब विष्णुलाई घर फर्काउन उनका परिवारले झण्डै ६१ लाख रुपैयाँ जुटाउनु पर्नेछ । यही आपतमा परेका छन्, विष्णुका परिवार।