सिड्नीमा मगर संघले मनायो माघे संक्रान्ति

मगर समाज अस्ट्रेलियाको आयोजनामा यही जनवरी १२ तारिखका दिन सिड्नीको अर्लउडस्थित गफ ह्विटलम पार्कमा माघे संक्रान्ति मेला सम्पन्‍न भएको छ।

प्रवासमा रहेका नेपालीहरू माझ नेपाली संस्कृतिलाई जगेर्ना गर्दै दोश्रो पुस्ताका नेपालीहरूलाई समेत हाम्रा चाडपर्वका महत्वका बारे जानकारी दिने उद्देश्यका साथ आयोजना गरिएको माघे संक्रान्तिमा सिड्नीवासी नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

सो मेलामा मगर संस्कृति झल्कने विभिन्न भेषभूषाका साथ सहभागीहरूले सांस्कृतिक प्रस्तुती पेश गरेका थिए जस्मा मगर संस्कृति, तामाङ संस्कृतिका साथै अन्य जनजातिका सांस्कृतिक प्रस्तुती पनि समावेश गरिएको थियो।

कार्यक्रममा दिल तामाङ, राज गोस्वामी लगायतका स्थानीय कलाकारहरूले आआफ्नो सांगीतिक प्रस्तुतीहरू पेश गरेर उपस्थित दर्शकलाई मनोरञ्जन दिलाएका थिए भने कार्यक्रमको अर्को आकर्षण लिगलिग दौड प्रतियोगिता बनेको थियो जस्मा ३५ वर्षभन्दा माथिको प्रतिष्पर्धामा तीर्थजार कार्कीले बाजी मारेका थिए भने ३५ वर्ष मुनिको प्रतियोगितामा ललित थापा मगरले जित हासिल गरेका थिए।

मेलामा राखिएको स्टलले माघेसंक्रान्ति पर्वको महत्व र विविध पक्षका बारेमा जानकारी दिनुका साथै माघी पूजा पनि गरिएको थियो।माघे संक्रान्तिमा तरुल, घ्यू चाकु लगायतका खानेकुराका परिकारहरूका खानेकुरा खाने प्रचलन रहिआएको छ।

कार्यक्रमको सभापतित्व संस्थाका उपाध्यक्ष गोऊ पुर्जाले गरेका थिए भने संचालन सुदर्शन थापामगरले गरेका थिए। कार्यक्रमका सांस्कृतिक संयोजक दीपेश पुन रहेका थिए।

कार्यक्रममा निन्फाका अध्यक्ष अरुण तामा, एनआरएनएका उपाध्यक्ष नन्द गुरुङ लगायतका सिड्नीवासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।

पुस २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्