पीडित सचिव विद्यानाथ झाको आक्रोश

‘म पनि मन्त्रीलाई हिर्काउन सक्थेँ तर मैले मर्यादा राखेँ’

जनकपुर- प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिवलाई झापड हानेपछि सचिव विद्यानाथ झा मन्त्रीविरुद्ध कानुनी कारबाहीमा जाने भएका छन्।

मन्त्री यादवले आफ्‍नै कार्यकक्षमा बोलाएर कुटपिट गरेपछि उनी कानुनी न्‍यायको उपचार खोज्‍न लागि परेका हुन्। उनले भने, ‘मन्त्रीज्‍यूको एन्जिओ नपारेपछि उहाँले मलाई मेरो संस्था किन नपारेको भन्दै तुरुन्त रिजल्ट चेन्ज गर्न दबाब दिनुभयो।’

उनले आफूले मन्त्री यादवको कुरा नमानेपछि कार्यकक्षमा दुवै हातले झापड हिर्काएर चस्मा र फाइल झारिदिएको गुनासो गरे। उनले भने, ‘मन्त्रीज्‍यूको कुरा मैले मानिन। यस्तो हुन सक्‍दैन मन्त्री ज्‍यू भनेपछि उहाँले फटाफट दुई झापड मलाई हिर्काउनुभयो। म चुपचाप सहिरहेँ।’

घटना कसरी भयो ?


पहिला अर्थमन्त्रीले खरदार रोशन शाहलाई मकहाँ पठाए। खरदारले मलाई अर्थमन्त्रीले कुरिरहेको सूचना दिए। उक्त सूचना पाएपछि मैले वन मन्त्रीलाई फोन गरेँ। उनलाई मैले भने, ‘मन्‍त्रीज्‍यू, मलाई अर्थमन्त्रीले बोलाउनु भएको छ। म के गरौं? जाऊँ कि नजाऊँ?’

जवाफमा वन मन्त्रीले भने, ‘तपाई जानुस्। तर, अर्थमन्त्री जीलाई सम्झाउनुस् की नतिजा चेन्ज हुँदैन।’ म त्यसपछि अर्थमन्त्री कहाँ गए।

सोफामा एउटा कोट लगाएको भद्र मान्छे बसिरहनु भएको थियो। छेऊमै रहेको अर्को मान्छेले भन्‍नुभयो, ‘सभामुखज्‍यू, चिया लिनुस्।’

सभामुख चिया लिन थालेपछि मैले आफूलाई त्‍यसको बराबरको हैसियतको ठानिन र उठेर वेटिङ रुमतिर लागेँ। त्‍यहाँ गएर बसेँ। त्‍यहाँ मधेश आन्दोलनको घाइते एकजनासँग भेटे। मैले उहाँको एक्सरेहरु हेर्न थाले। उहाँ सिरहातिरको हुनुहुन्थ्‍यो। मलाई उहाँको नाम थाहा भएन। केही क्षणपछि अर्थमन्त्रीले भित्र बोलाउनुभयो। म आन्दोलनको घाइतेलाई त्‍यसपछि मलाई भेट्‍नु होला भन्‍दै भित्र मन्त्रीकहाँ गए।

सभामुख बसिरहनु भएको थियो। म उहाँको छेउमा नभई सामुन्‍नेको कुर्सीमा बसेँ। मलाई अर्थमन्त्रीले हिजोको बारेमा सोध्‍नुभयो र फोनको रेकर्ड छ भने सुनाउन भन्‍नुभयो। मैले भने, ‘मैले केही अनियमितता गरेको छैन। तपाईहरुले गर्ने सानो सानो कामको बार्गेनिङमा हात हाल्‍नु हुँदैनथ्‍यो।’

उहाँले त्‍यो एनजिओको पैसा मलाई तिर्नु पर्ने बताउँदै भन्‍नुभयो, ‘मैले एनजिओको पैसा लिएको छु। त्‍यो पैसा तपाईले तिर्नुपर्छ। म केही जान्दिन त्‍यो रिजल्ट चेन्ज गर्नुस्।’ मैले मन्त्रीको अगाडि भनिदिएँ, ‘त्‍यो रिजल्ट चेन्ज हुँदैन।’

त्‍यसपछि उहाँले ममाथि हात उठाउनुभयो, ‘हात उठाए झड्‍याम्प हानिहाल्‍नुभयो। एक क्षण त म पनि सोचेँ के गरुँ, कसो गरुँ?’

सोचिसककेपछि मैले मनमनै निलो कोट लगाउने मान्छे यसरी जाइलाग्‍नु हुँदैन भनेर चुप लागेँ। मलाई सभामुख र एक जनाले बचाउन खोज्‍नुभयो।

मन्त्री यादवले त फेरि ममाथि फेरि लातले हान्‍नुभयो र मलाई बाहिर निकालिदिनुभयो। मेरो चश्‍मा र फाइल मन्त्रीको कोठामा छुट्‍यो। मैले कत्ति माग्दा पनि मेरो चश्‍मा र फाइल दिनु भएन।

म त्‍यसपछि बाहिर निस्किएर मन्त्री यादवमाथिको सबै कर्तुत बाहिर ल्‍याउने तयारीमा जुटेँ। किनकी म गल्ती र दोषी भएको भए सबै कानुनी कार्बाही भोग्‍न तयार रहेको जानकारी गराउँदछु। मन्त्री यादवलाई मेरो एउटै प्रश्‍न छ, ‘के तपाईलाई मधेशी जनताले यही काम गर्न भोट दिएर जिताएका हुन्? एउटा एनजिओको पैसा खाएर कर्मचारी कुट्‍नलाई?’

पुस २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्