मन्त्री-सचिव झापड प्रकरण, मुख्यमन्त्री भन्छन् ‘कुरा मिलिसक्यो’

मुख्यमन्त्री लालबाबु राउत

काठमाडौँ – प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो सरकारका मन्त्री र सचिवबिचको झापड प्रकरणमा कुरा मिलिसकेको बताएका छन् । घटनाको छानबिन गर्न प्रदेश सरकारले मन्त्रीको संयोजकत्वमा समिति गठन गरेका बेला मुख्यमन्त्री राउतले दुवैजनाबिचको असमझदारी मिलिसकेको बताए ।

आइतबार बसेको मन्त्रीपरिषद बैठकले मन्त्रीले सचिवमाथि कुटपिट गरेको विषयमा छानबिन समिति बनाएको छ । आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको हो । जसमा आन्तरिक मामिला तथा योजना मन्त्रालयका प्रमुख सचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सदस्य छन् ।

तर मुख्यमन्त्री राउतले भने कुरा मिलिसकेको बताए । ‘मैले दुवैजनालाई बोलाएर कुरा गरेँ, केही असमझदारी भएको रहेछ, अहिले कुरा मिलिसक्यो, सबै ठीकठाक छ’, उनले भने ।

त्यसो भए छानबिन समितिले अब काम गर्दैन त भन्ने प्रश्नमा राउतले भने, ‘छानबिन समितिले आफ्नो काम गर्ला तर दुवैजनाको विवाद भने मिलिसकेको छ, अहिले यत्ति लेखिदिनुस् ।’

आफूले भनेका एनजिओलाई योजना नपारेको भन्दै प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले मन्त्रालयका सचिवलाई झापड हानेका थिए । आइतबार दिउँसो मन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका थिए । उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कार्यकक्षमै बोलाएर कुटपिट गरेको सचिव झाको भनाई छ ।

मन्त्रीको झापड खाएपछि पत्रकार सम्मेलन गर्दै उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झा।

तर मन्त्री यादवले आफूले सचिवलाई नकुटेको दाबी गरे । कार्यकक्षमा दुर्व्यवहार गरेपछि प्रहरीलाई खबर गरेको उनको भनाई छ ।

प्रदेशका सभामुख र अर्का एकजना मन्त्रीको अगाडि ’म लोकल हुँ’ भन्दै सचिव झाले आफ्नो पदीय मर्यादा बिर्सिएर चर्को आवाजमा बोल्न थालेपछि केही विवाद भएको तर आफूले झापड नहानेको मन्त्री यादवको दाबी छ ।

प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव

मन्त्री यावदले सामान्य विवाद मात्रै भने पनि सचिव झा, आफूमाथि मन्त्रीले कुटपिट गरेको भन्दै पत्रकार सम्मेलनमै रोएका थिए । मन्त्रीको झापड खाएपछि पत्रकार सम्मेलल गरेका सचिव झालाई प्रहरीले उल्टै नियन्त्रणमा लिएको थियो । कुटपिटपछि मन्त्रीकै निर्देशनमा पत्रकारसँग रोइरहेकै बेला पक्राउ गरिएका उनलाई अबेर साँझ छोडिएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले मन्त्रीसँग भएको विवादबारे सोधपुछ गरेलगत्तै सचिव झालाई छोडिएको जानकारी दिए ।

पुस ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्