बाटोमै ज्यान धरापमा !

ओरालो बाटोमा ‘पासो’ थापे जस्तो खाल्डो

काठमाडौँ – बल्खुबाट दक्षिणकाली जाने बाटोको छेउमा रहेको ढलको खाल्डोमा परेर गएको कात्तिक १० गते एक युवाको ज्यान गयो । साइकलमा यात्रा गरेका डल्लुका श्याम श्रेष्ठको खुल्लै रहेको ढलको खाल्डोमा परेर ज्यान गयो ।

महिनौँदेखि सडकमा पासो बनेर रहेको खाल्डोमा परेर श्यामको ज्यान गएपछि सरकारले त्यसलाई कात्तिक १० गते शनिबार नै पुर्‍यो । पहिल्यै पुरेको भए श्यामको ज्यान जाने थिएन ।

काठमाडौँका विभिन्न क्षेत्रमा अझै पनि यस्ता खाल्डा छन्, जो यात्रुको ज्यान लिनका लागि ‘पासो’ थापे जस्तो भएका छन् । यस्तै एक खाल्डो हो, ललितपुरको जावलाखेलबाट टेकु निस्कने भित्री बाटो अन्तर्गत सानेपा खरिबोट नजिकै ओरालोमा रहेको खाल्डो ।

सानेपा खरिबोटबाट टेकु तर्फ जाने ओलारो बाटोको बिचमा विगत एक हप्तादेखि पासो बनेको छ । बाटोको बिचमा नेपाल टेलिकमको अप्टिकल फाइबर बिछ्याउनका लागि बनाइएको नालीमाथिको फलामे ढकन आधा भाँच्चिएको छ ।

स्थानीय बासिन्दाले भने ‘टेलिकमले सफा गर्ने भन्दै यो ढकन खोलेको थियो । ढकन नै भाँच्चियो । त्यसपछि यस्तै छोडिएको छ । साँघुरो बाटो छ, गाडीको चाप हुन्छ । बिच बाटोमा यसरी खाल्डो खुल्ला छोडिँदा खतरा बढेको छ ।’

बाटो मुश्किलले ८ मिटर चौडाइको छ, फुटपाथ कहिँ छ कहिँ छैन । बाटोको बिचमा फलामे ढकनले आधा ढाकेको र आधा खुल्ला रहेको खाल्डो छ ।

ओरालोको मध्य भागमा खाल्डो रहेकाले ओर्लने र उक्लने सवारी साधान दुर्घटनामा पर्ने खतरा छ । अझ रातिको समयमा जोखिम थप उच्च हुन्छ । खाल्डोकै कारण गम्भीर दुर्घटना हुने खतरा छ ।

विशेष गरी मोटरसाइकल तथा साइकल यात्री र ट्याक्सी तथा साना गाडी बढी जोखिममा छन् । ललिपुर महानगरपालिका–२ सानेपामा पर्ने सडक भएकाले महानगरपालिकाको चासो हुनु पर्ने स्थानीय बासिन्दाले बताएका छन् ।

पुस ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्