बाँकेमा चरेशसहित दुईजना पक्राउ

सांकेतिक तस्बिर

नेपालगञ्ज – बाँकेको कोहलपुरमा पाँच किलो चरेशसहित दुईजना पक्राउ परेका छन् । कोहलपुरको रमाइलो मेला लाग्ने मैदान नजिकबाट जाजरकोटका दुई जनालाई चरेशसहित पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख डिएसपी रमेशबहादुर सिंहले सोमबार बिहान कोहलपुरबाट जाजरकोटको भेरी नगरपालिका वडा नंं. का २६ वर्षका नरेन्द्रराज घर्ति र त्यही ठाउँका २९ वर्षका धनबहादुर बुढालाई चरेशसहित पक्राउ गरेको जानकारी दिए ।

कोहलपुरबाट नै २४ गते ३० किलो ५ सय ५० ग्राम चरेशसहित तीन जना पक्राउ परेका थिए । पहाडी जिल्लामा उत्पादन हुने चरेशको कारोबार स्थल नेपालगञ्ज भएकाले कोहलपुर पनि त्यसको ट्रान्जिट प्वाइन्ट रहने गर्दछ । कोहलपुर हुँदै चरेश नेपालगञ्ज ल्याउने र नेपालगञ्जबाट भारततिर सप्लाई गर्ने गरिन्छ ।

कोहलपुर प्रहरीका प्रवक्ता मानबहादुर विसीले पक्राउ परेका चरेश कारोबारीलाई आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बढाएको बताए । छिटो र सजिलै पैसा कमाउने भन्दै गलत धन्दामा लागेकाहरु चरेश बोकेर बाँकेमा झर्ने गर्दछन् । पक्राउ परेका अधिकांश चरेशका भरिया हुने गरेका छन् । प्रहरीले ठूल्ठूला परिमाणका चरेश पक्राउ गरेपनि ‘मालिक’सम्म पुग्न नसकेको सम्बद्धहरु नै बताउँछन् ।

केही पैसाका लोभमा ‘भनेको ठाउँमा पु¥याइदिन’ व्यापारीले भरियालाई प्रयोग गर्ने गर्दछन् । पक्राउ परेका अधिकांश यस्तै भरिया हुन् । यद्यपि, डिएसपी सिंहले जसको साथबाट चरेश बरामद हुन्छ, ऊ नै मालिक भएको बताए ।

पुस ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्