विदेशबाट फर्किएका १७ हजारले सहुलियत कर्जाका लागि आवेदन दिए

काठमाडौं–सरकारले सहुलियत ब्याजदरमा कर्जा दिने भएपछि वैदेशिक रोजगारीबाट फर्किएका १७ हजार जनाले आवेदन दिएका छन्। सरकारले सोमबार अन्तिम म्याद तोक्दै आवेदन मागेको थियो।

यो अवधिमा करिव १७ हजार आवेदन परेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिए । छानबिन गरेर बोर्डले प्रक्रिया पूरा भएर आएका आवेदन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयमा बुझाउने छ।

मन्त्रालयको सिफारिसमा वाणिज्य बैंकहरुले उनीहरुको व्यवसायको योजना हेरेर बढिमा १० लाख रुपैयाँसम्म ऋण दिने छन्। सहुलियत कर्जा दिनको लागि सरकारले उच्च स्तरीय कार्यदल समेत बनाइसकेको छ। यस्तै राष्ट्रिय वाणिज्य बैंकले भने गत साताबाट नै सरकारको घोषणा अनुसारको कर्जा दिन थालिसकेको छ।

वैदेशिक रोजगारीबाट फर्की स्वदेशमै केही गर्न चाहनेहरुलाई सरकारले सहुलियत दरमा कर्जा दिने चालु आर्थिक वर्षको बजेटमार्फत सार्वजनिक गरेको थियो।

कर्जाका लागि आवेदन दिनेहरु कुनै पनि देशमा रोजगारी गरेको कम्तिमा ६ महिना र वैदेशिक रोजगारीबाट फर्किएको तीन वर्ष ननाघेको हुनुपर्ने प्रावधान राखिएको छ । यस्तो कर्जा विदेशको आवासीय अनुमति पत्र लिएकाहरुले भने पाउँने छैनन् ।

कर्जा लिन आवेदनसँगै आफूले गर्ने व्यवसायका लागि आवश्यक बजेट र आफूले गर्ने व्यवसायको बारेमा प्रष्ट उल्लेख गरेको पर्नेछ । यस्तो कर्जाको ब्याज तीन प्रतिशत हुनेछ ।

यो कर्जा पाँच वर्षभित्रमा फिर्ता गर्नु पर्ने बताइएको छ। बैंकहरुले व्यवसायको योजना अनुसार किस्ता किस्तामा कर्जा दिनेछन्। पहिलो किस्ता दिइसकेपछि योजना अनुसारको काम भए नभएको अनुगमन गरेर मात्रै दोश्रो किस्ता दिने छन्।

 

पुस ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्