माघी महोत्सव थलो विवाद: थारुलाई होइन मगरलाई दिइयो ‘टुँडिखेल’

काठमाडौं- ‘राष्ट्रिय पर्व माघी महोत्सव’का मनाउनका लागि नेपाली सेनाले टुँडिखेल मगर समुदायलाई दिएपछि त्यसका लागि झण्डै नौ महिनाअघि विधिवत् आवेदन दर्ता गरेको थारु समुदाय आक्रोसित बनेको छ।
अन्तिम समयमा आएर उक्त थलो मगर समुदायलाई दिइएको थाहा पाएपछि आक्रोशित थारु समुदायले चाबहिलस्थित सानो चुच्चेपाटी मैदानमा यस पटकको थारु राष्ट्रिय माघी महोत्सव मनाउने भएको छ। उच्च संवैधानिक तथा राजनैतिक तहमा रहेका मगर नेताहरुको हस्तक्षेपपछि यसपल्ट टुँडिखेल नेपाली सेनाले मगर समुदायलाई दिने निर्णय गरेको छ।
‘२०७३ साल र २०७४ साल दुवै वर्ष थारु समुदायलाई टुँडिखेल दिइएको र यसपपल्ट मगर समुदायले हामी आलोपालो गर्छौ भनेपछि उनीहरुलाई दिइएको छ। ‘सेनाका रथी एवं प्रवक्ता याम प्रसाद ढकालले भने। तर थारु कल्याणकारिणि सभाका उप-महामन्त्री मिनराज चौधरीले माथिको आदेशमा थारु समुदायलाई टुँडिखेल दिनबाट रोकिएको दाबी गरे।
उनले देश सञ्चारसँग कुरा गर्दै भने, ‘नेपाली सेना यस पटक राजनीतिक दबाबमा पर्यो। त्यसकारण थारु कल्याणकारिणी सभालाई माघी मनाउन टुँडिखेल नदिएको हो। सैनिक प्रशासनले माथिको आदेश भन्दै विधि र विगतको नजिरलाई लत्यायो र मगर समुदायलाइ टुडीखेल उपलब्ध गराएर थप जटिलता उत्पन्न गरेको छ।’
उनले माघी महोत्सव गर्नका लागि थारु कल्याणकारिणी सभाले गत वैशाख १० गते नै नेपाली सेनाको मुख्यालयमा निवेदन दर्ता गराएको तर टुँडीखेल प्रयोगका लागि नेपाल मगर संघले साउन १ गते निवेदन दिएकोमा सेनाले राजनीतिक पहुँचको आधारमा मगर संघलाई उपलब्ध गराएको गुनासो गरे।
उनले भने, ‘हामीले पहिला निवेदन दिएका थियौँ। माघी महोत्सव गर्न हामीलाई टुँडिखेल नदिएर नेपाली सेनाले थारु समुदाय माथि ठूलो अन्याय गरेको छ’, उनले भने, ‘सेनाको यो कार्यले थारु समुदायको चित्त दुखेको छ। यसले राज्य,सरकार र सेनालाई दीर्घकालीन असर गर्नेछ। ’
नेपाली सेनाले जातीय, सामाजिक र सांकृतिक पहिचान झल्कने कार्यक्रम गर्नका लागि टुँडीखेलको मैदानलाई निःशुल्क प्रयोग गर्न दिँदा पहिला आउनेलाई पहिलो प्राथमिकता दिने नियम छ। तर यसपटक पहुँच र पावरको आधारमा दवावमा सेनाले टुँडिखेल थारु कल्याणकारिणी सभालाई दिनुको साटो मगर समुदायहरूलाई दिएको आक्रोश पोखे।
यस्तै थारु समाजसेवी एवम् थारु अगुवा नेता शिव चौधरीले नेपाली सेना दबाबमा परेर पछाडि निवेदन दिएको मगर संघलाई टुँडीखेलमा महोत्सव गर्न दिनुको भित्रि रहस्य राजनीतिक आडम्बर भएको आरोप लगाए। उनले भने, ‘ सेना संवैधानिक उपराष्ट्रपति पुन:देखि राजनैतिक गृहमन्त्रीसम्मको दबाबमा पर्यो र थारु समुदायलाई पहुँच बिनाको भनेर पन्छाउने काम गरियो। यो जातीयतामाथिको थिचोमिचो र सेनामा राजनीतिक अहंकारले काम गरेको हामीले पाएको अनुभव गर्यौ।