पुछारको हडर्ल्सफिल्डका प्रशिक्षक डेविड वाग्नरले क्लब छोडे

इंग्लिस प्रिमियर लिग फुटबलको अंक तालिकामा पुछारमा रहेको क्लब हडर्ल्सफिल्ड टाउनका प्रशिक्षक डेविड वाग्नरले क्लब छोडेका छन् । उनी क्लबसँगको सहमतिमै प्रशिक्षकको जिम्मेवारीबाट हटेका हुन् ।

४७ वर्षका जर्मन प्रशिक्षक वाग्नरले सन् २०१५ को नोभेम्बरमा क्लबको जिम्मेवारी लिएका थिए । उनले हडर्ल्सफिल्ड टाउनलाई च्याम्पियनसिपबाट प्रिमियर लिगमा प्रमोसन गराउन सफल भएको थिए ।

सन् २०१६–१७ को सिजनमा च्याम्पियनसिप प्ले–अफ मार्फत हडर्ल्सफिल्ड प्रिमियर लिगमा बढुवा भएको थियो । गएको सिजन हडर्ल्सफिल्ड प्रिमियर लिगबाट रेलिगेशनमा पर्ने अवस्थामा थियो, तर वाग्नरले टिमलाई १६ औँ स्थानमा कायम गर्न सफल भए ।

यो सिजन पनि क्लब समस्यामा छ । २२ खेल सकिँदा उसको मात्रै ११ अंक भएको छ । क्लब रेलिगेशन जोनबाट माथि पुग्न अर्थात सुरक्षित स्थानमा रहेको क्लब भन्दा ८ अंकले पछि छ ।

क्लबका अध्यक्ष डिन होइलीले वाग्नरको बहिर्गमन दुःखद रहेको बताएका छन् । साढे तीन वर्षको बसाईमा वाग्नरले क्लबलाई धेरै दिएको र उनी क्लबका सम्मानित व्यक्तिमध्येमा रहेको उनले उल्लेख गरेका छन् ।

माघ १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्