मकर या तिलुवा संक्रान्ति वा माघीका अनेक विशेषता

माघ १ : दिन एक, पर्व अनेक

आज माघ १ गते । मितिले माघ १ भए पनि यो दिनलाई धेरै नामबाट चिनिन्छ ।

माघे संक्रान्ति –धनु राशिबाट मकर राशिमा सूर्य प्रवेश गर्ने दिन, यसलाई मकर संक्रान्ति पनि भनिन्छ ।

तिलुवा संक्रान्ति–पूजा विशेषमा प्रयोग हुने तिल माघ १ मा विशेष परिकार बन्छ, तिलमा सख्खर मिसाएर लड्डु बनाइन्छ।

माघी–थारु समुदायको लागि नयाँ आर्थिक वर्ष, आजदेखि उनीहरुको नयाँ बहिखाता सुरु हुने दिन। हरुवा–चरुवा कमलरीहरुको जागिर परिवर्तन हुने दिनका रुपमा मनाइन्छ। (हरुवा–चरुवा र कमलरी पर्था मानवअधिकारको विरुद्धका परम्परा रहेकाले सरकारले यसलाई उन्मुलनको घोषणा गरेको छ । थारु समुदायमा अहिले समुदायको नाइके छानेर तथा आर्थिक गतिविधिको नयाँ खाता सुरु गरी अनि नयाँ अन्नहरुका मिठा परिकार खाएर मनाउने गरिएको छ ।)

नयाँ वर्ष–मगरले नयाँ वर्षको रुपमा माघ १ लाई लिन्छन् भने राई लिम्बुले आजको दिन एल वर्ष सुरु हुने विश्वास गर्छन्।

परिकारको पर्व–माघ १ घ्यू चाकू, तरुल, तिलको लड्डू खाने दिन हो। अझै धेरैको घरमा सखरखण्डा, पिँडालु, मासको बारा, सेलरोटी पाक्ने गर्छ। यो दिन खाइने खाना र धार्मिक कर्महरुले पनि यो पर्वलाई विशेष बनाउँछ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङका अनुसार यो परम्परा कहिलेदेखि सुरु भयो भन्न सकिँदैन। तर जाडो मौसममा मानिसको स्वास्थ्यको लागि आश्यक खानेकुरालाई पहिचान गराउन यो पर्व सुरु भएको उनको भनाई छ।

‘माघ १ मा खाइने सबैजसो खानेकुरा शरीरलाई न्यायो गराउने छन्’, उनी भन्छन्, ‘माघ १ मध्य जाडोको समय भएकोले आज सांकेतिक रुपमा यी खानेकुरा प्रयोग हुन्छ।’

तरुलमा पाइने पौष्टिक तत्व बाहेक यो रेसा भएको खानेकुरा हो, रेसेदार खानेकुराले पेट सफा गर्न मद्दत गर्छ।

तिल लेसिलो खानेकुरा हो, तिलको लड्डुले पनि पेट सफा गर्न मद्दत गर्छ।

शरीर तातो बनाउन सहयोगी खानेकुरा हो घ्यू, चिल्लोले शरीरलाई न्यायो बनाउँछ। तर धेरै घ्यू खाँदा रक्तचाप घट्ने सम्भावना भएकोले घ्यूसँगै चाकू खाने परम्परा आएको हो।

गुरुङ भन्छन्, ‘अहिले हामीलाई रक्तचाप कम भएको बेलामा चिनी, चकलेट खान दिइन्छ, हाम्रो पुर्खाले यही समस्या समाधान गर्न चाकु खाने गर्थे।’ जाडोमा शरीर न्यानो बनाउने खाना अदुवा पनि हो।

आजको दिन स्नानको पनि धेरै महत्व छ। मकर गंगाको प्रतिक मानिन्छ। त्यसैले गंंगामा स्ना गर्न माघ १ महत्वपूर्ण मानिन्छ। आफ्नो पायक पर्ने पँधेरा, खोला पनि स्नान गर्ने चलन छ।

नेपालमा माघे संक्रान्तिका प्रसिद्ध मेला लाग्ने गर्छन्, रुरु क्षेत्रमा हुने ‘रिडि मेला’ अनि देवघाट नुहाउने मेला। यो बाहेक, उपत्यकामा बाग्मति र मनमति अर्थात मनहराको संगम स्थल संखमुलमा पनि मेला लाग्छ।

स्नानपछि परिवारका सदस्यलाई मासको पिठोमा चामल मिसेर टिका लगाइदिने चलन छ। उपकुलपछि गुरुङ भन्छन्, ‘अहिले रातो अक्षताको चलन आयो।’

गुरुङ भन्छन्, ‘मनाउने परम्परामा परिवर्तन आयो। हामीले धेरै कुरा छोड्दै छौँ। नयाँ पुस्तामा सीप हस्तानतरण नहुँदा सँस्कृति मासिने जोखिम छ।’

उनका अनुसार आजका युव वैज्ञानिक कुरामा विश्वास गर्छन्। नयाँ पुस्तालाई वैज्ञानिक तर्कसहित सँस्कृति नबुझाउँदा देखावटीमा जोड भइरहेको छ।