राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी र चिकित्सक आन्दोलित

दाङ-राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारी तथा चिकित्सकहरुले आन्दोलनमा उत्रिएका छन्।

कर्मचारी संघर्ष समितिले प्रेस बिज्ञप्ति जारी गरेर आन्दोलन सुरु गर्ने जनाएको हो।अस्पताल विकास समितिले राखेका कर्मचारी तथा चिकित्सक समायोजनको माग गर्दै आन्दोलन सुरु गरेका हुन।

संघर्ष समितिका संयोजक हिमराज गौतमद्वारा हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा चरणबद्ध आन्दोलन गर्ने उल्लेख गरिएको छ। कर्मचारीहरुले भोली प्रतिष्ठानमा तालाबन्दी गर्ने जनाएका छन्। माघ ३ गते आकस्मिक र प्रसुती सेवाबाहेक सबैमा काम बन्द गर्ने जनाइएको छ।

यति गर्दा पनि माग पुरा नभएमा माघ ४ गतेदेखि देशब्यापी आन्दोलन गर्ने गौतमद्वारा जारी गरिएको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ।चिकित्सक डा. जीतनारायण यादव, डा. ओम अर्याल, डा. माधव गोहित, डा. प्रताप पोख्रेल, डा. कृष्णहरि सुवेदी, डा. सुरेन्द्र कुँवरले प्रतिष्ठानको नेतृत्व व्यक्तिगत स्वार्थमा लागेर जनतामाथि कुठाराघात गरेको भन्दै साविक राप्ती उपक्षेत्रीय अस्पताल र प्रतिष्ठानलाई फरक–फरक पाटोबाट अगाडि बढाउनु माग गरे।

राप्ती अञ्चलका जनताहरुको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको राप्ती उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा सञ्चालन गरेर सीमित व्यक्तिहरु मोटाउने खेल सुरु भएको भन्दै चिकित्सकहरुले आन्दोलनमा उत्रिएका हुन।

माघ १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्