प्रिमियर लिगमा १५ वर्ष बिताएपछि गोलरक्षक पेट्र चेकले गरे सन्यासको घोषणा

आर्सनलका गोलरक्षक पेट्र चेकले यो सिजनको अन्त्यसँगै सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षका पेट्र सन् २०१५ को जुनमा चेल्सीबाट आर्सनल आएका हुन् । त्यसअघि उनले चेल्सीमा ११ वर्ष बिताए ।

उनी पछिल्लो १५ वर्षदेखि प्रिमियर लिग क्लबमा छन् । उनले भनेका छन्, ‘१५ वर्षको प्रिमियर लिग यात्रा र सम्भव भएका ट्रफी जितेपति मलाई सबै पाएँ जस्तो लागेको छ, जे चाहेको थिएँ । आफ्नो मेहनतलाई जारी राख्नेछु र आर्सनललाई अर्को एक ट्रफी जिताउने प्रयास हुनेछ यो सिजन ।’

चेक गणतन्त्रमा पूर्व खेलाडी पेट्रको करिअर सन् २००६ मा धरापमा परेको थियो । त्यो बेला रिडिङ्गका स्टिफन हन्टसँग ठोक्किँदा उनको टाउकोमा गम्भीर चोट लागेको थियो र शल्यक्रिया गर्नु परेको थियो । उनी तीन महिना मैदान बाहिर रहे र खेलको क्रममा प्रोटेक्टिभ हेड गार्ड लगाउन थाले ।

उनी व्यवसायिक खेलाडीका रुपमा २० औँ सिजन खेलिरहेका छन् । उनी सन् २००४ को जुलाईमा फ्रेन्च क्लब रेनबाट चेल्सी आएका थिए । चेल्सीबाट उनले एकपटक च्याम्पियन्स लिग, चारपटक प्रिमियर लिगसहित १३ वटा ट्रफी जिते ।

यस्तै उनले चेल्सीबाट खेलेका २२८ खेलमा गोल खाएनन् र कीर्तिमान बनाए । चेल्सीमा बेल्जियमका थिबाउट आएपछि पेट्रले ठाउँ पाएनन् र उनी आर्सनल गए ।

आर्सनललाई सन् २०१७ मा एफए कपको उपाधि दिलाउनमा उनको महत्वपूर्ण भूमिका रह्यो । प्रिमियर लिगमा उनले चेल्सीबाट ३३३ र आर्सनलबाट अहिलेसम्म ११० खेल खेलेका छन् ।

माघ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्