ब्रेक्सिट

बेलायती राजनीतिमा खलबली, ब्रेक्सिट खारेज गरेको संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव

युरोयिन युनियनबाट बेलायत बाहिरिने सम्बन्धी प्रधानमन्त्री टेरिजा मे को प्रस्ताव अर्थात ‘ब्रेक्सिट डिल’ संसदमा अस्वीकृत भएको छ ।

प्रधानमन्त्री मे को प्रस्ताव संसदमा ठूलो बहुमतसहित अस्वीकृत भएको हो अर्थात संसदले उनको प्रस्ताव खारेज गरेको छ ।

ब्रेक्सिट सम्बन्धी प्रधानमन्त्री मे को योजनाको विपक्षमा ४३२ सांसदले मत दिए । उनको योजनाको पक्षमा २०२ सांसदले मत दिएको बिबिसीले उल्लेख गरेको छ ।

प्रधानमन्त्री मे कै कन्जरभेटिभ पार्टीका ११८ सांसदले विपक्षमा मत दिएका हुन् । विपक्षी लेबर पार्टीका तीन सांसदले यसको समर्थन गरेका थिए ।

बेलायतमा कुनै पनि सरकारले संसदमा पेश गरेका विधेयक वा योजनामा यो अहिलेसम्मकै ठूलो झड्का हो प्रधानमन्त्री मे को बेक्सिट सम्बन्धी प्रस्तावमा आउँदो मार्च २९ मा इयुबाट बेलायतको औपचारिक अलग हुने प्रक्रियाका आधारहरु तय थिए ।

प्रधानमन्त्री मे को योजना ऐतिहासिक रुपमा विफल भएपछि विपक्षी लेबर पार्टीले संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । लेबर पार्टीका नेता जेरेमी कोर्बिनले संसदमा अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।

अश्विासको प्रस्तावमाथि संसदमा बुधबार (नेपाली समय अनुसार बुधबार राति पौने १ बजे) मतदान हुने तयारी छ । प्रधानमन्त्री मे ले विश्वासको मत लिन नसकेमा बेलायतमा आम चुनाव गर्नु पर्ने हुन सक्छ ।

लेबर पार्टीका नेता कोर्बिनले प्रधानमन्त्री मे को प्रस्ताव भारी बहुमतले खारेज हुनेको अर्थ सरकारले संसदमा विश्वास गुमाएको रहेको बताएका छन् ।

दुई वर्षभन्दा बढी समय लगाएर तयार पारेको ब्रेक्सिट डिल अस्वीकृत हुनु प्रधानमन्त्री मे का लागि निकै ठूलो धक्का हो । उनले यो योजनामा मार्च २९ देखि २१ महिनाको अवधिमा बेलायत इयुबाट अलग हुने आधार तय गरेकी थिइन् । यो अवधिमा स्वतन्त्र व्यापार सम्झौताका सम्बन्धमा छलफल हुने तयारी थियो ।

यो योजनामा गएको डिसेम्बरमै संसदमा मतदान हुने तय थियो । तर प्रधानमन्त्री मे ले सांसदको समर्थन जुटाउने उद्देश्यसहित पछि सारेकी थिइन् ।

बेलायत मार्च २९ देखि इयुबाट बाहिरिँदै छ । तर ब्रेक्सिट डिल विफल भएपछि त्यसका आधारहरु के हुने भन्ने अन्यौल छ । ब्रेक्सिटले बेलायती राजनीतिमा खलबली ल्याएको छ ।

माघ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्