पर्यटक बढेसँगै होटलमा लगानी, धमाधम खुल्दैछन् पाँचतारे होटल

टाईगर प्यालेस रिर्सोट

बुटवल – बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई लक्षित गरेर होटल व्यवसाय क्षेत्रमा लगानी बढेको छ । पर्यटन व्यवसायीहरुका अनुसार रुपन्देहीमा पछिल्लो १० वर्षमा होटल व्यवसायमा अर्बौंको लगानी थपिएको छ ।

लुम्बिनी, भैरहवा, बुटवल, तिलोत्तमा, बेलहियालगायतका क्षेत्रमा सुविधासम्पन्न नयाँ नयाँ होटल खुल्न थालेका छन् । ‘लुम्बिनीमा आउने पर्यटकलाई लक्षित गरेर होटल व्यवसायमा लगानी थपिएको छ,–सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ (सीपी) भन्छन्–विमानस्थल निर्माण सकिँदासम्म अरु धेरै होटल सञ्चालनमा आउने तयारीमा छन् ।’

तिलोत्तमामा एक वर्षदेखि विदेशी लगानीको सिल्भर हेरिटेज ग्रुपको पाँचतारे टाईगर प्यालेस रिर्सोट सञ्चालनमा आएको छ । ५ अर्ब भन्दा बढी लगानीमा क्यासिनोसमेत रहेको यो रिर्सोट पश्चिम क्षेत्रकै पहिलो पाँचतारे रिर्सोट हो । यो रिर्सोटमा १ सय ५० कोठा छन् भने अरु ३ सय कोठा थप गर्ने तयारी छ । रिर्सोटका ६ वटा कोठाबाट सिधै स्वीमिङ पुलमा जान सकिन्छ । रिर्सोटमा आधुनिक क्यासिनो, रेष्टुरेन्ट, कन्फ्रेन्स हल, हेल्थ क्लबलगायतका सुविधा छन् ।

टाइगरसँगै अर्को पाँच तारे स्तरको होटल पर्यटन व्यवसायी पवन हलवाईले लुम्बिनीमा पवन प्यालेस इन्टरनेशनल सञ्चालनमा ल्याउँदै छन् । अघिल्लो साता बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्टका क्रममा ३ दिन परीक्षणस्वरुप सञ्चालन गरेको होटल छिटै नै पूर्ण रुपमा सञ्चालनमा आउने तयारीमा रहेको होटलका प्रबन्ध निर्देशक पवन हलवाईले बताए ।

यसमा १ सय ५० कोठा, ३ रेष्टुरेन्ट, कफीसप, २ वटा कन्फ्रेन्स हल, स्वीमिङ पुल, हेल्थ क्लब, स्पा, मेडिटेशन हलको व्यवस्था गरिएको छ । भैरहवाको होटल बोधी रेडसनले पनि स्तरवृद्धि गरेर पाँचतारे स्तरमा पुर्याएको छ । १ सय ६ वटा कोठा रहेको रेडसनले पर्यटक तान्न कोठामा तापमान अत्याधिक भएमा पानी फाल्ने प्रविधि (फायर फाईटिङ) जडान गरेको छ । एकैसाथ २ सय भन्दा बढीले बास बस्न सक्ने रेडसनले सबै सुविधा पाँचतारे स्तरमा पु¥याएको महाप्रबन्धक अमृत खनालले जानकारी दिए ।

भैरहवाकै बुद्धचोकमा घिमिरे समूहको लगानीमा पाँचतारे होटल खुल्दै छ । लुम्बिनीमा जापानी नागरिक नोर्बु कासाईको लगानीमा रहेको लुम्बिनी होटल कासाईले स्तरवृद्धि गरेको महाप्रबन्धक विनेश मानन्धरले बताए । लुम्बिनीकै होटल होक्के, भैरहवाको निर्भाणा होटलले स्तरवृद्धि गर्दैछन् । सिद्धार्थ होटल एशोसिएसन लुम्बिनीका अध्यक्ष मिथुनमान श्रेष्ठले लुम्बिनीमा मात्रै एकै दिन ३ हजारभन्दा बढीले बास बस्न पुग्नेगरी होटल तयार भइसकेको बताए ।

लुम्बिनी र भैरहवामा मात्रै हैन, बुटवलमा होटल डार्सिज, क्लब डेनेभो, सिद्धार्थ रिर्सोट, आम्रपाली रिर्सोट, मणिग्राममा ड्रिमल्याण्ड रिर्सोटले स्तरवृद्धि गरिरहेका छन् ।बुटवलमा पछिल्लो समयमा आरम्भ रिर्सोट, दरबार होटल, होटल एभेन्यु, नयाँमिलमा लक्ष्मी होटल सञ्चालनमा आएका छन् ।

भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान शुरु हुँदा दैनिक ५ हजार कोठा आवश्यक पर्ने व्यवसायीको अनुमान छ । सरकारले सन् २०१९ भित्रै भैरहवाबाट अन्तरराष्ट्रिय उडान शुरु गर्ने तयारी गरेको छ ।

माघ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू